coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

सदरमुकाममै अड्कियो सिंहदरबार

तस्बिर -जनक केसी

जाजरकोट– हामीले चुनाव जिते गाउँमै सिंहदरबार ल्याइदिन्छौं भनेर स्थानीय तहमा उत्साहका साथ मतदान गरेका जनता यतिबेला सानो कामका लागि पनि सदरमुकाम धाउनु परेपछि हैरानी खेप्न बाध्य छन् ।

 गाउँगाउँमा सिंहदरबार सुनेका जनता यतिबेला सानो कामका लागि पनि  सदरमुकाम खलंगामा आउनु पर्दा स्थानीय सरकारको कुनै अनुभूति गर्न नपाएको गुनासो गर्न थालेका छन् । सदरमुकाम खलंगा बाहेक कुनै पनि स्थानीय तहमा बैंकिङ सेवा नहुँदा जनताले पुरानै सास्ती खेप्नु परेको सरोकारवालाको भनाइ छ ।
स्थानीय सरकार स्वायत्त र अधिकार सम्पन्न हुने र जनताका सबै काम गाउँबाटै  हुने भनिए पनि मुख्य रूपमा   बैंकिङ सेवा, नागरिकता, मालपोतको नापी र अन्य महत्वपूर्ण कामका लागि  स्थानीयलाई  सदरमुकाममा आउनैपर्ने बाध्यता छ ।

 सदरमुकाम खलंगामा  सरकारी तथा निजी क्षेत्रका आधा दर्जन बैंक भए पनि  अन्य स्थानीय तहमा भने सुरक्षा र अन्य व्यवस्थापनका कारण बैंक  स्थापना हुन सकेका छैनन् । यसले स्थानीयलाई सदरमुकाम खलंगामा नआइ सुखै छैन । ‘नारामा मात्र सिंहदरबार गाउँ पुग्यो । हामीलाइ भने सिंहदरबार खोज्न  सदरमुकाममै आउनुपर्ने भयो,’ जुनीचाँदे गाउँपालिका वडा नम्वर २ का धनबहादुर खड्काले भने । मुख्य काम गर्न खलंगा नआई नहुने भएपछि परिवर्तन आयो भन्ने झूट भएको भएको बताए ।

‘हिजो  गाउँमा सिंहदरबार  अर्थात् जनताका सबै काम हुने कार्यालय ल्याउछौं भन्थे तर आज सानातिना काम मात्र गाउँमा हुन्छन्, मुख्य कामका लागि  खलंगा नगई  हूदैन,’ छेडागाड नगरपालिका ६ का  स्थानीय रत्नबहादुर शाहीले भने ।

मालपोतको कामले  सदरमुकाम खलंगा आएका उनले  नारामा मात्रै सिंहदरबार गाउँमा पुगे पनि जनताको अनुभूतिमा  सिंहदरबार गाउँमा  नपुगेको  बताए । गाउँमा  बैंकिङ सेवा सञ्चालनका लागि आवश्यक पूर्वाधार र सुरक्षा नभएको तथा नागरिकता, मालपोत र नापीको काम पनि  सदरमुकामबाटै हुने भएकाले जनताका सबै काम गाउँबाट गर्न नसिकएको बारेकोट गाउँपालिकाका अध्यक्ष महेन्दबवहादुर शाहले बताए ।
‘संविधानले जनताको अधिकार गाउँमै पुग्यो तर प्रयोग गर्न सदरमुकाममै आउनुपर्ने  भो,’ उनले भने ‘हामी आफैल महत्वपूर्ण सेवा गाउँमै दिनसक्ने अवस्था नभएका कारण गाउँमै सिंहदरबार पुर्याउने कुरा पूरा गर्न सकिएन,’ उनले भने  ।

यस्तै  जुनीचाँदे गाउँपालिकाकी उपाध्यक्ष शिवा आचार्यले पनि कर्मचारीको अभाव र आर्थिक कारोबार बैंकको अभावमा गाउँमा काम गर्न नसकेका कारण जनताले नयाँ अनुभूति गर्न नसकेको बताइन् । ‘पहिले जनतालाई  सबै काम गाउँमै हुन्छ । कुनै पनि कामका लागि सदरमुकाम जान पर्दैन भन्यौं तर आज  ढाँटेको जस्तै भएको छ,’ उनले भनिन् । सबै काम  गाउँमै गर्न नसकिने भएकाले सदरमुकाममा  सम्पर्क कार्यालय राखेर जनतालाइ सेवा दिइरहेको उपाध्यक्ष आचार्यले बताइन् ।

माथिल्लो सरकारले नाममा मात्र स्थानीय तहलाई स्वायत्त मान्यो तर आज काम केही गर्न पाइएन । पारा पूरानै भयो,’ उनले भनिन् । आपूहरूको कार्यालय नगरपालिकाको केन्द्रमै भए पनि  बैंकिङ, मालपोत, नागरिकता, नापीको कामका लागि  कर्मचारीले  खलंगामा केही समयका लागि जाने र काम गरिदिने गरेको छेडागाड नगरपालिकाका प्रमुख लालबहादुर महताराले बताए ।

 झोलामा कार्यालय राखेर यताउता गर्दा जनताले दुःख पाउने गरेको र पूर्णरूपमा सिंहदरबार गाउँमा आउन नसकेको उनले बताए । जनताका सबै काम जबसम्म आफ्नै गाउँपालिका र नगरपालिकाबाट सम्पादन हुँदैनन् तबसम्म उनीहरूले परिवर्तनको अनुभूति गर्ने र सिंहदरबार गाउँमै पुगेको नारा पुष्टि गर्ने काम नहुने स्थानीय असल शासनकर्मी  बालकुमार शर्माले बताए ।

‘अहिले पनि जनता सरकारी सेवा लिन सदरमुकाम खलंगामा आउनुपर्छ । अनि   सिंहदरबार गाउँमा कसरी पुग्यो भन्ने ? तीन नगरपालिका र चार गाउँपालिका रहेको जाजरकोटमा सदरमुकाम रहेको भेरी नगरपालिका बाहेक  अन्य  स्थानीय तहका सेवा सदरमुकाम खलंगा नआए नहुने  भएपछि स्थानीयले परिवर्तनको अनुभूति गर्न नपाएको पत्रकार राजेन्द्र कार्कीको भनाइ छ ।

उनले  जनतप्रतिनिधिले निर्वाचित भएको ८ महिनासम्म पनि पाएको बजेट खर्च गर्न नसकेको र यसले  जनतामा नकरात्मक असर परेको बताए । जनप्रतिनिधिहरू अलमलमा पर्दा विकास निर्माणका काम सुस्त भएको र परिवर्तनको  कुनै गतिलो अनुभूति जनताले गर्न नपाएको सरोकारवालाहरूको गुनासो छ ।  
 

प्रकाशित: ३ माघ २०७४ ००:२४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App