४ वैशाख २०८१ मंगलबार
खेल

ग्रान्डहोमको आक्रामक ब्याटिङ

ह्यामिल्टन, – कोलिन डी ग्रान्डहोमको आक्रामक ब्याटिङप्रेरित न्युजिल्यान्डले  मंगलबार चौथो एकदिवसीय खेलमा पाकिस्तानलाई ५ विकेटले पराजित गरेको छ ।पाकिस्तानले दिएको २ सय ६३ रनको लक्ष्य न्युजिल्यान्डले ४५.५ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्यो।

न्युजिल्यान्डको सहज जितमा ग्रान्डहोमले अविजित ७४  र हेनरी निकोल्सले अविजित ५२ रन जोडे । ग्रान्डहोम र निकोल्सले छैटौं विकेटका लागि अविजित १ सय ९ रन जोडेका थिए । ४० बल खेलेका ग्रान्डहोमले ७ चौका र ५ छक्का प्रहार गर्दा ७० बलको सामना गरेका निकोल्सले ३ चौका प्रहार गरे ।
त्यस्तै ओपनर कोलिन मुनरोले ५६ र कप्तान केन विलियम्सनले ३२ रनको योगदान दिए । ४२ बल खेलेका मुनरोले ८ चौका र २ छक्का प्रहार गरे ।

पाकिस्तानका साडाब खानले ३ र हसन अलीले १ विकेट लिए ।यस जितसँगै यसअघि नै ५ एकदिवसीय खेलको शृंखला ३–० ले जितिसकेको न्युजिल्यान्डले ४–० अग्रता लिएको छ । न्युजिल्यान्डले जितेको यो लगातार ११औं खेल हो ।यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको पाकिस्तानले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ६२ रनको योगफल खडा गरेको थियो ।

पाकिस्तानका मोहम्मद हाफिजले सर्वाधिक ८१ रन जोडे । ८० बल खेलेका हाफिजले ५ चौका र ४ छक्का प्रहार गरे । हाफिजले छैटोैं विकेटका लागि कप्तान सरफराज अहमदसँग ९८ रनको साझेदारी गर्दै इनिङ उकासेका थिए । ४६ बलको सामना गरेका अहमदले ३ चौका र ३ छक्काको मद्दतमा ५१ रन जोडे ।

यसअघि ७ रन जोड्दा ओपनर फाहिम असरफ (१) लाई गुमाएको पाकिस्तान थप ४ रन जोडेका बाबर आजम (३) लाई गुमाएपछि ११–२ को कठिन स्थितिमा आएको थियो । तेस्रो विकेटका लागि अर्का ओपनर फखर जमान र ह्यारिस सोहिलले ८६ रनको साझेदारी गर्दै इनिङ उकास्ने प्रयास गरेका थिए । ७५ बल खेलेका जमानले ७ चौका र १ छक्काको मद्दतमा ५४ रन जोड्दा ७४ बलको सामना गरेका सोहिलले ४ चौका र १ छक्काका साथ ५० रन जोडे  । न्युजिल्यान्डका टिम साउथीले ३ तथा विलियम्सनले २ विकेट लिए । त्यस्तै मिचेल सान्टनर र ट्रेन्ट बोल्टले समान १-१ विकेट लिए ।शृंखलाको पाँचाै तथा अन्तिम खेल शुक्रबार वेलिङ्टनमा हुनेछ ।

 

 

प्रकाशित: ३ माघ २०७४ ०२:३८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App