८ वैशाख २०८१ शनिबार
कला

मिथिला कलामा महिला समानताका आह्वान

काठमाडौं – मिथिला कलामार्फत् महिला समानताका आवाज उठाउँदै आएकी कलाकार सुनैना ठाकुरको दोस्रो एकल चित्रकला प्रदर्शनी ‘समानता’ सोमबारदेखि नेपाल आर्ट काउन्सिलमा सुरु भएको छ ।प्रदर्शनीको उद्घाटन गर्दै नेकपाका नेता नारायणकाजी श्रेष्ठले कलाकार सुनैनाले चित्रकलामार्फत् नेपाली महिला सशक्तीकरणका क्षेत्रमा गर्विलो आवाज उठाएको बताए ।

यस्तै, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, लोककला विभाग प्रमुख एससी सुमनले मिथिला क्षेत्रको जिवन्त कलाको रूपमा रहेको मिथिला कलाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा स्थान पाएको बताए ।
कार्यक्रममा कलाकार सुनैना ठाकुरले महिलामाथि हुने गरेको हिंसालाई कलाको माध्यमबाट आवाज उठाउँदै आएको बताइन् ।

मिथिला चित्रकलामा पृथक पहिचानका साथ सक्रिय कलाकार सुनैनाले विशेषतः महिला अधिकार, सशक्तीकरण, समानता, महिलामाथि हुने हिंसाका विषयमा मिथिला कलाकृति कोर्दैै आउनुभएको छ । प्रदर्शनीमा बुद्ध, माछा रास, लाइफ अफ ट्री, माया प्रेम, महिला नेतृत्व, धर्मनिरपेक्ष नेपाल, बौद्धिक सत्य, आमा, गोदना रास, नारीको समस्त रूप, होलिका दहन लगायतका शीर्षकका २८ चित्रकला प्रदर्शित छन् ।

कलाकार ठाकुरको पहिलो एकल चित्रकला प्रदर्शनी अमेरिकामा भएको थियो । महोत्तरी जिल्ला जलेश्वर–४ की सुनैनाले पोखरा, काठमाडौं, भारतलगायत स्थानमा कला प्रदर्शनी तथा कला कार्यशालामा सहभागी भइसकेकी छिन् । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानबाट ललितकला विशेष पुरस्कार, अमेरिकाबाट कमन ग्राउन्ड अवार्डलगायत सम्मान तथा पुरस्कार प्राप्त सुनैनाको प्रदर्शनी माघ ६ गतेसम्म सञ्चालन हुनेछ ।
 

प्रकाशित: ३ माघ २०७४ ०३:३१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App