८ वैशाख २०८१ शनिबार
राजनीति

राजधानी माग गर्दै दाङ बन्द

राजधानी माग गर्दै अान्दाेलित दाङवासीहरू । तस्बिर ः देवेन्द्र बस्नेत

दाङ – प्रदेश नम्बर पाँचको राजधानी माग गर्दै गरिएको आन्दोलनले दाङ ठप्प बनेको छ। सरकारले दाङ बाहेकको स्थानलाई प्रदेशको अस्थायी मुकाम तोक्ने तयारी गरिरहेको भन्ने सूचना मिलेको भन्दै दंगालीहरू त्यसको विरुद्ध सडकमा उत्रिएका हुन् । उनीहरूले बुधवार देखि अनिश्चितकालीन बन्दको आह्वान गरेका छन् । बन्दका कारण बिहानैदेखि दाङको यातायात, शिक्षण संस्था, बजार, उद्योग धन्दा सबै ठप्प छन् । बिहानैदेखि दाङबाट बाहिरिने र भित्रने कुनै पनि सवारी साधन चल्न पाएका छैनन्। 

राजधानी माग गर्दै गरिएको बन्दका  कारण पूर्व पश्चिम महेन्द्रराज मार्ग पूर्ण रुपमा ठप्प छ।देउखुरीको लमहीमा आन्दोलनकारीहरू बजारसँगै महेन्द्र राजमार्ग पूर्ण रुपमा अवरुद्ध पारेर बसेका छन् । लमहीको आन्दोलनका कारण पूर्व पश्चिम राजमार्गमा थुप्रै यात्रुहरू अलपत्र परेका छन्।

यसैगरी जिल्ला सदरमुकाम घोराही पनि पूर्ण रुपमा बन्द छ। आन्दोलनकारीहरूले बजार, शिक्षण संस्था पूर्ण रुपमा ठप्प पारेर बजारमा प्रदर्शन गरिरहेका छन् । 

त्यस्तै अर्को प्रमुख व्यापारिक केन्द्र तुलसीपुरमा गरिएको बन्दले राप्तीका पहाडी दुई जिल्लाको आवागमन ठप्प बनेको छ। तुलसीपुर हुँदै पुग्नु पर्ने रुकुम र सल्यानका लागि बिहानैदेखि यातायात सेवा ठप्प बनेको छ। यसैगरी त्यहाँको बजार पनि पूर्ण रुपमा बन्द छ। 

पाँच नम्बर प्रदेशका १२ वटै जिल्लाको पायक पर्ने दाङ नै राजधानीको एक मात्रै विकल्प रहेको भन्दै आन्दोलनकारीहरूले दाङलाई प्रादेशिक राजधानी घोषणा नगर्दा सम्म बन्दरुपी आन्दोलन जारी रहने चेतावनी दिएका छन् । बन्दमा उत्रिएका दाङबासीहरूले सडकमा आगो बालेर प्रदर्शन समेत गरिरहेका छन्। 

 

प्रकाशित: ३ माघ २०७४ ०४:१४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App