coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

दैनिक १४ हजार मोबाइल सेट आयात

काठमाठौं -मुलुकमा मोबाइल सेटको व्यवसाय बढ्दै जाँदा आयातमा उलेख्य वृद्धि भएको छ । सरकारको पछिल्लो तथ्यांक अनुसार मुलुकमा दैनिक १४ हजार मोबाइल सेट भित्रिरहेका छन् ।नेपाल दूरसञ्चार प्राधिकरणको तथ्यांक अनुसार पछिल्लो २१ महिनामा झन्डै ८८ लाख ५९ हजार मोबाइल सेट आयात भएका छन् । उक्त तथ्यांकलाई प्रतिदिन हिसाब गर्दा दैनिक १४ हजार मोबाइल सेट भित्रिरहेको देखिन्छ ।

प्राधिकरणले २०७३ वैशाख १ मा मोबाइलको आइएमइआई नम्बर दर्ता गर्न सुरु गरेयता सोमबारसम्ममा एक करोड ७७ लाख १९ हजार सात सय ४८ आइएमइआई नम्बर दर्ता भएको प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले बताए । अधिकांश मोबाइल सेटमा दुईवटा आइएमइआई नम्बर हुने भएकाले अहिलेसम्म यसको आधा गर्दा झन्डै ८८ लाख ५९ हजार नौ सय ७४ वटा मोबाइल सेट आयात भएको देखिन्छ । ‘पछिल्लो तथ्यांक हेर्दा मासिक झन्डै चार लाख २० हजार मोबाइल सेट भित्रिरहेका छन्,’ अर्यालले भने ।

अर्यालका अनुसार व्यक्तिगत रुपमा दर्ता भएका आइएमइआई नम्बरको संख्या चार हजार तीन सय दुई छ । व्यावसायिक रुपमा भित्रिएका बाहेक मुलुकमा व्यक्तिगत रुपमा र अनधिकृत बाटोबाट पनि मोबाइल सेट आउने गरेका छन् ।

नेपालमा छिमेकी देश भारत र चीनसहित विश्वका विभिन्न मुलुकबाट मोबाइल सेट आयात हुने गरेको छ । सरकारी तथ्यांक अनुसार गत आर्थिक वर्ष नेपालमा २५ अर्ब रुपैयाँ बराबरको मोबाइल सेट आयात भएको थियो । यो रकम चालु आर्थिक वर्षमा ३० अर्ब नाघ्ने अनुमान गरिएको छ ।

यसैबीच, प्राधिकरणले आइएमइआई नम्बर दर्तालाई अनिवार्य गर्ने गृहकार्य अघि बढाएको छ । २०७३ वैशाखदेखि आयात हुने मोबाइलको आइएमइआई नम्बर भन्सारमै दर्ता गरेर ल्याउने व्यवस्था मिलाएको प्राधिकरणले अब मुलुकभित्र रहेका सबै मोबाइल सेटको आइएमइआई नम्बर पनि दर्ता गर्ने प्रक्रिया अघि बढाएको छ । अनलाइनमार्फत आइएमइआई, इएसएन, एमइआइडी जस्ता मोबाइल ‘आइडेन्टिफिकेसन’ नम्बर दर्ता गर्ने र दर्ता नभएकालाई नचल्ने व्यवस्था गर्ने प्राधिकरणले जनाएको छ ।

केही समयभित्रै अनलाइनमार्फत आइएमइआई नम्बर दर्ता सुरु गर्ने प्राधिकरणका अध्यक्ष दिगम्भर झाले बताए । ‘अनलाइनमार्फत आइएमइआई नम्बर दर्ता सुरु गर्न लागेका छौं,’ राजधानीमा मंगलबार मोबाइलको आइएमइआई नम्बर तथा ‘टाइप एप्रुभल’सम्बन्धी जानकारी दिन आयोजना गरिएको कार्यशालामा झाले भने, ‘अर्को आर्थिक वर्षदेखि पूर्णरुपमा लागू गर्ने तयारी छ ।’

देशमा हालसम्म मोबाइल सेटको गुणस्तर परीक्षण गर्ने ल्याबसमेत नभएकाले त्यसको लागि पनि काम सुरु गरिएको अर्यालले बताए । त्यसको लागि प्राधिकरणले केही समयभित्रै ब्याट्री परीक्षण गर्ने टेस्टर खरिद गर्न लागेको उनले जानकारी गराए । प्राधिकरणले कागजपत्र प्रमाणीकरणका आधारमा टाइप एप्रुभल गर्ने गरेको छ ।

एकैचोटि उच्चकोटीको ल्याब स्थापना गर्न गाह्रो भएकाले विस्तारै काम गर्दै जानुपर्ने प्राधिकरणका वरिष्ठ निर्देशक आनन्दराज खनालले बताए । ल्याब स्थापना गर्न सके मुलुकभित्रै मोबाइलको गुणस्तर परीक्षण गर्न सकिने छ ।  

बढ्दो मोबाइल सेटको प्रयोगलाई व्यवस्थित गर्न सेटमा प्रयोग हुने आइएमइआई, इएसएन, एमइआइएन नम्बर दर्ता गर्न लागिएको हो । मोबाइल सेटको पहिचान गर्न हरेक सेटमा प्रयोग हुने १५ डिजिटको नम्बर नै आइएमइआई (इन्टरनेसनल मोबाइल इक्विपमेन्ट आइडेन्टिफायर) नम्बर हो ।

मोबाइल सेट चोरी हुने, हराउने, राजस्व छली, नक्कली सेटको प्रयोग, आपराधिक क्रियाकलाप जस्ता गतिविधि हुन नदिन आइएमइआई नम्बर दर्ता गर्नुपरेको हो । आइएमइआई नम्बर दर्तापछि देशको राजस्व बढ्ने, सुरक्षामा सहयोग पुग्ने, अपराध घट्ने लगायत फाइदा हुने झाले बताए ।
अहिले बजारमा राजस्व छलेर भिœयाइएका र नक्कली मोबाइल पनि बिक्री–वितरण भइरहेको बताइन्छ । मुलुकमा भित्रिने मोबाइलमध्ये १० प्रतिशतभन्दा धेरै अनधिकृत बाटोबाट आयात हुने गरेको व्यवसायीले बताउँदै आएका छन् । ‘ग्रे मार्केट रोक्न पनि आइएमइआई दर्ता अनिवार्य गर्न लागिएको हो,’ अर्यालले भने।

बजारमा नक्कली आइएमआई नम्बर प्रयोग भएका सेट समेत प्रयोग हुने गरेको पाइएको छ । त्यो कति संख्यामा छ भन्ने अनुमान गर्न गाह्रो छ । आइएमइआई नम्बर मोबाइल कम्पनीले हाल्नुपर्छ । कम्पनीले शुल्क तिरेर आइएमइआई नम्बर किन्नुपर्ने भएकाले नक्कली नम्बर हालेर पनि बजारमा पठाउने गरेको पाइएको थियो ।

प्रकाशित: ३ माघ २०७४ ०४:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App