७ वैशाख २०८१ शुक्रबार
समाज

प्रेयसीको उपचारका लागि विद्यार्थीको सहयोग

इलाम- इलाम नगरपालिका–५, बरबोटेकी मुटुरोगी १८ वर्षीया प्रेयसी राईको उपचारका लागि जिल्लाका विद्यार्थीले आर्थिक सहयोग गरेका छन्। विद्यार्थीले उनको उपचारका लागि १२ हजार ५ सय रुपैयाँ बुधबार हस्तान्तरण गरे।

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू)का विद्यार्थीले प्रेयसीका बुबा बुद्धिबललाई सहयोग रकम हस्तान्तरण गरेका हुन्। प्रेयसी मुटुको सफल शल्यक्रिया गराएर अस्पतालले डिस्चार्ज गरेपनि तिर्ने खर्च अभावले ४ दिनसम्म अस्पतालमै रहनुपरेको समाचार पुस २१ मा नागरिकन्युजमा सार्वजनिक भएको थियो । समाचार प्रकाशित भएपछि अनेरास्ववियू जिल्ला कमिटीको अगुवाईमा विद्यार्थी र युवाले गोजीबाटै उनको उपचारका लागि सहयोग गरेका हुन् । प्राप्त सहयोग रकम बुधबार अनेरास्ववियुका विद्यार्थी इन्चार्ज नवराज शंकर, अनेरास्ववियू इलाम अध्यक्ष ईश्वरी तामाङ र इलाम नपा–५ का वडाध्यक्ष ठाकुरनारायण श्रेष्ठलगायतले बुद्धिबललाई हस्तान्तरण गरे।

                ‘प्रेयसीको जटिल बिराम र उनको घरको आर्थिक अवस्था पनि दयनीय पाएर हामी आफैंले विद्यार्थी साथी प्रेयसीको जीवन बचाउन सानो सहायता गरेका हौं,’ अध्यक्ष तामाङले भने, ‘एक विद्यार्थीलाई गम्भीर संकट पर्दा अर्काले सहयोग गर्नुपर्छ भन्ने भावना विद्यार्थीमा विकास गर्न खोजेका हौं।’

                काठमाडौंको गंगालाल हृदय केन्द्रमा प्रेयसीको मुटुको भल्व फेरिएको छ। उनको उपचार अस्पतालले निःशुल्क गरेपनि वरिपरिका मेडिकलमा औषधिको करिब ४० हजार रुपैयाँ तिर्न नसक्दा उनले अस्पताल छाड्न सकेकी थिइनन्। ‘तर, काठमाडौंमा अरूबाट रकम मागजुग गरेर भएपनि डिस्चार्जको करिब सात दिनपछि छोरीलाई अस्पतालबाट निकालेको छु,’ बुद्धिबलले भने, ‘लिएको ऋण तिर्न यो रकमले सहयोग पुग्छ ।’ बुद्धिबलले छोरीको उपचारमा अहिलेसम्म करिब ५ लाख रुपैयाँ खर्च भइसकेको बताए। परिवारले गाउँतिरबाट चन्दा संकलन गरी प्रेयसीको उपचारमा रकम खर्चेको हो।

                करिब ४ वर्षअघि १० कक्षामा पढ्दै गरेकी प्रेयसीलाई एक्कासि जे खायो त्यही बान्ता हुने लक्षण देखियो । बुबा बुद्धिबलले उनलाई झापाको बिर्तासिटी हस्पिटलमा पुर्‍याए । बिर्तासिटीले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान रेफर गर्‍यो। ‘धरानले भारतको भेल्लोर लैजान भनेपनि पैसा नभएर घरै फर्काएको थिएँ, पछि फेरि उही बिरामले सिकिस्त भएपछि गाउँलेकै सहयोगमा छोरीलाई काठमाडौं पुर्‍याएँ,’ बुद्धिबलले भने, ‘सम्पत्तिका नाममा दुर्गम गाउँको १२ रोपनी जमिन भएको मलाई ५ लाख रुपैयाँ ऋणले थिचेको छ । धन्न छिमेकी र इष्टमित्रको सहयोगले बाँचेको छु ।’

                प्रेयसी पढ्नमा तेज छिन् । तर, बिरामी भएकै कारण उनको पढाइ कक्षा १२ मा पुगेर अड्किएको छ । ‘छोरीले म पढेर जागिर खाएर भएपनि मेरो उपचारको ऋण तिर्छु बाबा भन्दा आँखामा आँसु अडिएन मेरो,’ बुद्धिबलले सुनाए, ‘उपचार भएर अहिले उनी घर आउँदा ज्यादै हर्ष लागेको छ । अब उनको सपना पूरा होस् भन्ने आशीर्वाद दिन्छु।’

 

प्रकाशित: ३ माघ २०७४ ०९:३७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App