५ वैशाख २०८१ बुधबार
खेल

सम्बन्ध जोड्दै क्रिकेट

काठमाडौं – मदन भण्डारी र सुशील कोइराला नेपाली राजनीतिका दुई विपरीत ध्रुवलाई नेतृत्व गर्ने नाम हुन् । पछिल्लो तीन दशकदेखि नेपाली राजनीतिमा सबभन्दा ठूला प्रतिद्वन्द्वीका रूपमा लड–भिड गर्दै आएका नेकपा एमाले र नेपाली कांग्रेस कमै मात्र एकअर्काप्रति सहिष्णु हुन्छन्। 

यी दुईलाई विगतमा व्यवस्था नै परिवर्तन गर्ने उद्देश्यबाहेक सत्ताले मात्र एक ठाउँमा उभ्याउन सकेको छ । यस्तै दुई चिर प्रतिद्वन्द्वी दललाई प्रमुखका रूपमा नेतृत्व गर्नेहरूको नाम हो मदन भण्डारी र सुशील कोइराला । भण्डारी सवारी दुर्घटनामा ज्यान गुमाउने बेलासम्म पनि महासचिवका रूपमा एमालेको नेतृत्व गरिरहेका थिए । पूर्वप्रधानमन्त्री कोइरालाले पनि कांग्रेस सभापति भइरहेकै बेला देहत्याग गरेका थिए । 

‘दुवै संस्था खेलकुदमा दलीय राजनीति हुनु हुँदैन भन्नेमा प्रस्ट छौं । खेलकुद एकताको माध्यम हुन सक्छ भन्ने प्रमाणित गर्न पनि हाम्रो सहकार्यले योगदान गर्नेछ।’

सत्ता र आपसी फाइदाबाहेकका कुनै पनि मुद्दामा कहिल्यै नमिलेका दुई दलको राजनीतिक रणनीतिले एमाले र कांग्रेसलाई अहिले भण्डारी वा कोइराला जीवित हुँदाभन्दा पनि टाढा पु¥याएको छ । डेढ महिनाअघि सम्पन्न प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा एमालेले नेकपा माओवादी केन्द्रसँग मिलेर बाम गठबन्धनका नाममा साझा उम्मेदवार उठायो । कांग्रेस भने राप्रपालगायतका साना दलसँग मिलेर लोकतान्त्रिक गठबन्धनको नाममा चुनाव लड्यो । अपेक्षाअनुसार बाम गठबन्धनले स्पष्ट बहुमत ल्याउँदा कांग्रेस सोचेभन्दा सानो आकारमा सीमित भयो । जसले काग्रेस र एमालेबीचको सम्बन्ध थप चिस्यायो, कम्तीमा तत्काल केही वर्षसम्म कार्यगत एकता पनि हुन नसक्ने गरी। 

तर यही समयमा यसअघि सत्ताबाहेकको स्वार्थमा कहिल्यै नमिलेका दुई दलको भावना खेलकुदले एकठाउँमा ल्याएको छ । शुक्रबार र शनिबार कीर्तिपुरमा मदन भण्डारी स्पोटर््स एकेडेमीले गर्न लागेको ग्रान्ड क्रिकेट कार्निभलमा सुशील कोइराला स्मृति फाउन्डेसन सहयोगीका रूपमा आएको छ। 

‘राजनीतिले खेलकुदबाट सिक्नुपर्छ । खेलकुदको नियम राजनीतिले मान्ने हो भने देशका धेरै समस्या आफैं हल भएर जान्छन् । बक्सिङको रिङमा दुई खेलाडी १० मिनेटसम्म एकअर्कालाई मुक्का बर्साइरहन्छन् । तर खेल सकिएपछि हार्नेले जित्नेलाई बधाई दिन्छ र अर्को खेलको तयारीमा लाग्छ । यो खेलकुदको सुन्दर पक्ष हो,’ मदन भण्डारी स्पोर्ट्स एकेडेमीका अध्यक्ष विनोद श्रेष्ठले भने, ‘हाम्रो सहकार्य पनि त्यस्तै हो । हामी दुवै संस्था खेलकुदमा दलीय राजनीति हुनु हुँदैन भन्नेमा प्रस्ट छौं । खेलकुद एकताको माध्यम हुन सक्छ भन्ने प्रमाणित गर्न पनि हाम्रो सहकार्यले योगदान गर्नेछ।’

सुशील कोइराला स्मृति फाउन्डेसनका सदस्यसचिव अतुल कोइरालाले दुई प्रतिस्पर्धी राजनीतिक दलका दिवंगत नेताहरूको नाम भए पनि राजनीतिक उद्देश्यले फाउन्डेसन नखोलेको बताए । ‘हामी सुशील कोइरालाको नाम भए पनि फाउन्डेसनबाट राजनीति गर्न चाहन्नौं । विसुद्ध रूपमा एउटा वैचारिक मञ्चका रूपमा फाउन्डेसन स्थापना गरिएको हो । यसका साथै खेलकुदलगायतका अन्य सामाजिक काममा योगदान गर्ने हाम्रो उद्देश्य हो,’ कोइरालाले भने, ‘मदन भण्डारी स्पोटर््स एकेडेमीसँगको सहकार्य यसैको प्रमाण हो । हामीले कार्निभलका लागि तत्काललाई सामान्य आर्थिक सहयोग गरेका छौं । तर आवश्यक परे अन्य खालका सहयोगका लागि पनि तत्पर रहेको उहाँहरूलाई जानकारी गराइसकेका छौं । हामी दुवै संस्था मिलेर केही सकारात्मक काम गर्न चाहिरहेका छौं ।’

राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने कार्निभलअन्तर्गत पहिलो दिन शुक्रबारलाई राखिएको प्रदर्शनी खेलमा राजनीतिज्ञको टोली पनि विभिन्न दलका नेताहरूबाट बनेको छ । राष्ट्रिय खेलाडी, राजनीतिज्ञ, कलाकार, पत्रकार र व्यापारीहरूबीच हुने प्रदर्शनी खेलमा एमालेका ईश्वर पोखरेल, योगेश भट्टराई, कृष्णगोपाल श्रेष्ठ, लालबाबु पण्डित, महेश बस्नेत, नवीना लामा र किरण पौडेल छन् भने कांग्रेसबाट शशांक कोइराला, युवा तथा खेलकुदमन्त्री राजन केसी र नैनसिं महर छन् । यसै गरी माओवादी केन्द्रका अमनलाल मोदी, जनार्दन शर्मा, हिमाल शर्मा, र रञ्जित तामाङ छन्।

कलाकारबाट भुवन केसी, आसिफ शाह, निश्चल वस्नेत, स्वस्तिमा खड्का, माल्भिका सुब्बा, स्वरूपपुरुष ढकाल, निर्मल शर्मा, सनुप पौडेल, कमलकान्त मैनाली, दीपकराज गिरी, दीपाश्री निरौला, कालीप्रसाद बास्कोटा, सन्ध्या जोशी, विद्या तिवारी, एन्जिला रेग्मी र दिनेश डिसी छन् । यसैगरी राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, सन्दीप लामिछाने, दीपेन्द्र ऐरी, शक्ति गौचन, वसन्त रेग्मी, सोमपाल कामी तथा प्रशिक्षक जगत टमाटा र विनोद दासलगायतका क्रिकेटकर्मीहरु प्रदर्शनी खेलमा मैदान उत्रिने आयोजकले बुधबार जानकारी गराएको छ। 

कार्निभलको दुवै दिन दिनभर प्रतिभा खोज कार्यक्रम सञ्चालन हुनेछ । जहाँबाट छानिएका उत्कृष्ट १० प्रतिभालाई निशुल्क प्रशिक्षणका साथै क्रिकेट सामग्री प्रदान गरिने बताइएको छ । यसबीचमा क्रिकेट सम्भावना र चुनौती विषयमा सेमिनार, क्रिकेटमा योगदान गर्ने एक जनालाई मदन भण्डारी क्रिकेट सम्मान, क्रिकेट फोटो प्रदर्शनी, क्रिकेट वृत्तचित्र प्रदर्शनी र अन्य रमाइला खेलहरू गरिने आयोजक संस्थाका सुदीप शर्माले जानकारी गराए। 

 

प्रकाशित: ४ माघ २०७४ ०३:५५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App