coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

एमालेलाई २९, माओवादीलाई १४ र अन्यलाई १३

काठमाडौं–नेकपा एमाले र माओवादी केन्द्र आबद्ध वाम गठबन्धनले राष्ट्रियसभाका लागि १३ सिट अन्य दलका लागि राखेर ४३ सिटमा उम्मेदवारी दिने भएको छ ।सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा बसेको एमाले–माओवादी सम्मिलित कार्यदलको बैठकले एमालेलाई २९ र माओवादीलाई १४ गरी ४३ सिट वाम गठबन्धनका पक्षमा राख्ने गरी भागबन्डा टुंग्याएको हो ।

वाम गठबन्धनले प्रदेश ६ बाहेक अन्य सबै प्रदेशमा अन्य दलका लागि उम्मेदवारको सिट छुट्याएको छ भने सबैभन्दा बढी २ नम्बर प्रदेशमा ६ सिट अन्य दलका लागि छुट्याएको छ । ‘एमालेले २९ र माओवादीले १४ गरी ४३ स्थानको भागबन्डा टुंग्याएका छौं,’ कार्यदल बैठकपछि कार्यदलका सदस्य सुवासचन्द्र नेम्वाङले भने, ‘१३ सिट भने अन्य दलसँग छलफल गरेर टुंग्याउनेछौं ।’ कार्यदलमा एमालेबाट नेम्वाङसहित सुरेन्द्र पाण्डे र शंकर पोखरेल तथा माओवादीबाट रामबहादुर थापा, वर्षमान पुन र मातृका यादव सदस्य छन् ।

कार्यदलले उक्त बाँडफाँट गर्दा गत प्रतिनिधिसभा र प्रदेशसभामा पाएको समानुपातिकतर्फको मतभारलाई आधार बनाएको हो । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा ६० र ४० को भागबन्डा गरेका एमाले र माओवादीले राष्ट्रियसभाको निर्वाचनमा भने प्राप्त मत परिणामलाई मुख्य आधार मानेका छन् । राष्ट्रियसभाको निर्वाचन माघ २४ गते हुँदैछ ।वाम गठबन्धनले उक्त कार्यदललाई राष्ट्रियसभा, प्रदेश मुख्यमन्त्री र प्रदेश सभामुखलगायतको विषय टुंग्याउने जिम्मेवारी दिएको थियो ।

‘तत्कालका लागि जहाँजहाँ वाम गठवन्धनले जित सुनिश्चित गर्ने ग्यारेन्टी देखिएको छ, त्यो सिटमात्रै टुंग्याएका छौं’, कार्यदलका अर्का सदस्य यादवले नागरिकसँग भने, ‘बाँकी १३ सिट अन्य दलसँग छलफल गरी गठबन्धन गरेर अघि बढ्ने भएकाले तत्काल नछुटाएका हौं ।’ उनका अनुसार वाम गठबन्धनले राष्ट्रियसभामा कम्तीमा ४३ सिट जित्ने विश्वास गरेको छ ।

कार्यदलका अनुसार राष्ट्रियसभा उम्मेदवारको हकमा प्रदेशअनुसार नै भागबन्डा टुंग्याइएको छ । प्रत्येक प्रदेशबाट ३ जना महिलासहित ८ जना निर्वाचित भएर आउने भए पनि प्रदेश ६ बाहेक अन्य सबै प्रदेशमा भने अन्य दलका लागि सिट संख्या छुट्याइएको छ । वाम गठबन्धनले प्रदेश २ मा बहुमत प्राप्त संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपाललाई लक्षित गरी सबैभन्दा कम अर्थात् १–१ सिटमात्रै भागबन्डा गरेको छ ।

कार्यदलका सदस्यहरुका अनुसार प्रदेश १ मा एमाले ५ सिट र माओवादीले १ सिटसहित ६ सिट बाँडफाँट गरेका छन् भने सो प्रदेशमा अन्य दलका लागि भन्दै २ सिट खाली राखिएको छ । त्यसैगरी, सबैभन्दा बढी अर्थात् ६ सिट अन्य दलका लागि राखेर कार्यदलले एमाले र माओवादीले १–१ सिटमात्रै बाँडफाँट गरेका छन्।

त्यसैगरी, प्रदेश नम्बर ३ मा एमालेलाई ५ र माओवादीलाई १ सिट छुट्याइएको छ भने २ सिट अन्य दलका लागि खाली राखिएको छ । प्रदेश ४ मा एमालेलाई ४ र माओवादीलाई २ सिट छुट्याइएको छ भने ५ मा पनि अन्य दललाई २ सिट छुट्याइएको छ । प्रदेशमा ५ मा पनि एमालेलाई ४ र माओवादीलाई २ सिट भागबन्डा लगाइएको छ । कार्यदलले प्रदेश ६ मा माओवादीले सबैभन्दा बढी ३ सिट छुट्याएको छ भने एमाले सो क्षेत्रमा ५ सिट लिएको छ । प्रदेश ६ को हकमा भने अन्य कुनै दलका लागि सिट राखिएको छैन । प्रदेश ७ मा एमालेलाई ४ र माओवादीलाई २ गरी ६ सिट बाँडफाँट गरी २ सिट अन्यलाई  छाडिएको छ । कार्यदलले टुंगो लगाएको सिट बाँडफाँट दुवै पार्टीका अध्यक्षसहितको एकता संयोजन समितिको आगामी बैठकमा पेस गरिनेछ ।

 

प्रकाशित: ४ माघ २०७४ ०३:५४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App