८ वैशाख २०८१ शनिबार
समाज

नेपाली भूमि मिचेर सीमा स्तम्भ

वर्षौदेखि नेपाली पक्षले भोगचलन गर्दै आएको जग्गामा गाडिएको पिलर। तस्बिर: नागरिक

बारा- वीरगन्ज–१ छपकैयामा नेपाली पक्षको कमी कमजोरीले गर्दा नेपालको भू–भाग मिचेर सीमा स्तम्भ नेपाली भूमिमा गाड्न लागिएको स्थानीयले गुनासो गरेका छन्।

वर्षौदेखि खनजोत गर्दै आएको निजी जग्गामा नेपाल–भारत संयुक्त सीमा सर्वेक्षण टोलीले स्तम्भ गाडेर नेपाली भूमिलाई भारतमा मिसाउने काम गरेको छपकैयाका स्थानीय रविन्द्र महतोले आरोप लगाएका छन्।

सुरुमै सीमा संरक्षण टोलीले नाप नक्शा गर्दा चित्त नबुझेपछि जिल्ला प्रशासन कार्यालय पर्सालाई जानकारी गराउँदा समेत त्यसबारेमा कुनै सोधपुछ र कारबाही नगरिएको महतोले बताए।

नेपाली पक्षको लापरबाहीले गर्दा कित्ता नम्बर ३ को नदी २ नम्बर कित्ताका बगर गरी ६० बिघा भन्दा बढी जग्गा भारतमा नै गाभिने अवस्था आएको महतोले बताए। 

स्थानीयले खनजोत गर्दै आएको ४० बिघा भन्दा बढी नम्बरी जग्गा पनि नेपाली पक्षको कमी कमजोरीले गुम्ने अवस्था आएको र जग्गाधनीहरूले जति कराउँदा पनि सम्बन्धित अधिकारीले नसुने जस्तै गरेको महतोको गुनासो छ।

मूल पिलर ३९२ अन्तर्गत पर्ने कित्ता नम्बर ४८ र १४ को चार कठ्ठा जग्गाको लालपुर्जा मेरो नाममा रहेको र म खनजोतसमेत गर्दै आए पनि अहिले गाड्न लागिएको नयाँ पिलरले उक्त जग्गा भारतको अधिनमा जाने अवस्था रहेको महतोले बताए।

मलगायत धेरै जनाको नम्बरी जग्गा भारततिर जान लागेको र त्यसको जानकारी वडा कार्यालय, जिल्ला प्रशासन कार्यालय र नेपाल–भारत सीमा नापी टोली कार्यालय सिरसियालाई जानकारी गराउँदा समेत ध्यान नदिएको महतोले बताए।

नयाँ पिलर गाड्नका लागि गरिएको नक्शामा चित्त नबुझेपछि पुस २३ गते वीरगन्ज महानगरपालिकाको १ नम्बर वडा कार्यालयमा त्यसबारेमा लिखित जानकारी गराएपछि वडा कार्यालयले जिल्ला प्रशासन कार्यालयलाई त्यसबारेमा ढिलो गरी पुस ३० गते जानकारी गराएको महतोले बताए।

जिल्ला प्रशासनले पनि लिखित उजुरी परेपछि सर्वेक्षणमा खटेका टोलीका पदाधिकारीहरूलाई बोलाएर त्यस सम्बन्धि बुझ्ने कार्यसमेत नगर्दा अहिले नेपाली भूमिमै धमाधम पिलर गाड्ने काम भएको उनले बताए।

मूल पिलर ३९१ को ३९ वटा सहायक पिलरअन्तर्गत सिमावर्ती सुन्दर टोल नेपालमा नै पर्ने भए पनि हालै गाड्न लागिएको नयाँ पिलरले सुन्दर टोल भारतमा नै गाभिने अवस्था आएको अर्का स्थानीय असर्फी साह कानुले बताए ।

नेपाल र भारतको सिमाना छुट्टयाएको सिरसिया खोलाको बहाव नेपाली भूमि छपकैयातिर आएकाले समेत टोलीले पुरानो पिलर भएको स्थानमा नयाँ पिलर नराखेर नेपाली भूमिमा ल्याएर राखेको साहले बताए।

पर्साका प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहले छपकैयाका स्थानीयबाट हालै गाड्न लागिएको नेपाल–भारतलाई छुट्ट्याउने सीमास्तम्भ नेपाली भू–भागमा पर्न गएको जानकारी आएपछि हाल त्यसलाई रोकिएको बताएका छन् ।

प्रजिअ सिहले सन १८४० मा सीमा सर्वेक्षण भएको नक्शाअनुसार नै अहिले पिलर गाडने कार्य गरिएको सर्वेक्षण टोलीका सदस्यबाट जानकारी हुन आएको बताए।

नेपाली नागरिकले वर्षौदेखि खनजोत गर्दै आएका जग्गा अहिले गाड्न लागिएको पिलरले गुम्ने अवस्था कसरी आयो त्यसको बारेमा आफैं पनि चिन्तित रहेको उनको भनाइ छ।

नेपाल भारत सीमानापीमा  नेपाली टोलीका प्रमुख रहेका रमेश ज्ञवालीले अहिले गाड्न लागिएका स्तम्भ पुरानै नक्शाअनुसार नै रहेको तर्क गरेका छन।

नेपाली पक्षले खनजोत गर्दै आएको जग्गा यदि भारततिर पर्न गएको सार्वजनिक भएकोमा टोलीका सदस्यको कुनै दोष नरहेको उनले बताए।

 

 

प्रकाशित: ४ माघ २०७४ १०:०२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App