८ वैशाख २०८१ शनिबार
समाज

भूकम्पपछि विद्यालय सञ्चालन नहुँदा पढाई प्रभावित

रसुवा – भूकम्पको कारण विस्थापित भएको विद्यालय सञ्चालनमा नआउँदा बालबालिका पढाइबाट बञ्चित भएका छन्। जिल्लाको तीन ओटा स्थानीय तहबाट विस्थापित भएको ७ ओटा विद्यालय सञ्चालनमा नआउँदा गाउँमा रहेका करिब डेढ सय बालबालिका पढाइबाट बञ्चित भएका छन्।

भूकम्पका कारण विस्थापित भएको विद्यालयमध्ये डाँडागाउँको करुम¥याङ निमावि, लाङटाङको नेपाल राष्ट्रिय प्रावि, राम्चेको अनन्त स्मृती प्रावि, उत्तरगयाको भूमेदेवी प्रावि, हाकुको कालिका प्रावि, तिरु प्रावि तिरु र बाल उदय प्रावि सञ्चालनमा नआएका हुन्।

२०७२ बैशाख १२ गते र २९ गते गएको भूकम्पले गाउँ नै विस्थापित भएपछि एक दर्जनभन्दा बढी विद्यालय विस्थापित हुन पुगेका थिए। भूकम्पको त्रास कम हँुँदै गएपछि गाउँले केही महिनापछि नै गाउँ फर्किएका थिए।

तत्कालिन समयमा गाउँले गाउँ फर्किएसँगै आधा दर्जन विद्यालय गाउँमा स्थापित गरिएको थियो। विद्यालय स्थापना भएको ठाउँमा गत वर्षदेखि नै पठनपाठन सुरु भएको भएपनि विद्यालय स्थापना हुन नसकेको गाउँमा भने विद्यार्थी पढाइ छाडेर बस्न बाध्य भएका छन्।
पढाई छाड्नेमा हाकु, डाँडागाउँ र लाङटाङका बालबालिका बढी छन्। गाउँमा विद्यालय स्थापना गर्नका लागि सरोकारवाला निकायले चासो नदिँदा बालबालिकाको भविष्य अन्योलमा परेको छ।
लाङटाङका स्थानीयबासी सुप्पा लामाका अनुसार गाउँमा विद्यालय नभएका कारण १२ जना बालबालिकाले पढ्न पाएका छैनन्। उनले भने, ‘गाउँमा नजिकै विद्यालयले छैन्, भूकम्पपछि गाउँमा रहेको विद्यालय सञ्चालनमा आउन सकेको छैन्, विद्यालय स्थापनाका लागि जिल्ला शिक्षा कार्यालयसँग समन्वय गरिरहेका छौं।’

जिल्लाको हाकु, डाडाँगाउँ, ठूलोगाउँ लगायतका स्थानबाट विस्थापित भएर बोगटीटार तथा खाल्डेमा बसिरहेका विस्थापितले क्याम्पमा नै विद्यालय स्थापनाको माग गरेका छन्।

तिरुबाट विस्थापित भएको कालिका प्रावि गाउँमा स्थापना गर्न लागिएको भन्दै विस्थापितले खाल्डेमा विद्यालय सञ्चालन गर्न माग गरेका हुन्। गाउँमा विद्यालय स्थापना गरेर क्याम्पमा बस्नेको भविष्य अन्धकार बनाउन नहुने उनीहरुको भनाई छ।

हाकुबाट विस्थापित भएर बोगटीटारमा बसिरहेका छेकु लामाले भने, ‘तिरुमा अहिले बालबालिका फर्किएका छैनन्। बालबालिका क्याम्पमा नै छाडेर अभिभावक मात्र गाउँ फर्किएका छन्।’ जोखिमयुक्त बस्तीमा विद्यालय स्थापना किन गर्नुप¥यो भनी उनले प्रश्न गरे।
गाउँ नफर्किएका विद्यार्थी भने क्याम्मबाट नजिक पर्ने विद्यालयमा अध्ययन गरिहेका छन् भने शिक्षकलाई पनि नजिकैको विद्यालयमा राखिएको छ। धुन्चेमा रहेको तीन क्याम्पका बालबालिका रसुवा मावि तथा बोगटीटार, खाल्डे लगायतको क्षेत्रमा बसिरहेकाहरु निलकण्ठ माविमा अध्ययन गरिरहेका छन्।

जिल्लामा रहेका अधिकांश कार्यालय चैत्र २८ गतेभित्रै खारेज हुने भएपछि जिल्ला शिक्षा कार्यालयले स्थानीय तहका पदाधिकारीसँग छलफल अघि बढाएको छ। यसअघि कार्यालयले प्रयोग गर्दै आएको अधिकार स्थानीय तहमा गएपछि कार्यालयले विद्यालय स्थापनाका लागि पहल गरेको हो। ‘गाउँपालिकामा आवश्यकता अनुसार विद्यालय पुर्नस्थापित हुन्छ, जिल्ला शिक्षा अधिकारी होमनाथ न्यौपानेले भने, यसको सहजीकरणका लागि हामी छलफल गरिरहेका छौं।’

जिल्लाको विकट क्षेत्रमा बसोबास गर्ने बालबालिकालाई पढ्नका लागि अन्य विद्यालय जान सहज नहुने भएपछि विस्थापित विद्यालय पुनर्स्थापना गर्नैपर्ने उनको भनाई थियो।

जिल्लामा ७ ओटा विद्यालय विस्थापित भएको र दुई ओटा विद्यालय मर्ज भएपछि जिल्लामा अहिले ८९ ओटा सामदायिक विद्यालय सञ्चालनमा रहेका छन्।

प्रकाशित: ४ माघ २०७४ १२:३१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App