८ वैशाख २०८१ शनिबार
राजनीति

धरानमा अनसन स्थगित, शान्तिपूर्ण आन्दोलनको घोषणा

धरान – प्रदेश राजधानीको मागले अन्यत्र हिंसापूर्ण आन्दोलन चर्किर्दै गर्दा प्रदेश नम्बर १ को धरानमा भने महिना दिन लामो रिले अनसन स्थगित गरिएको छ। धरान प्रदेश नं १ को राजधानी बनाउ अभियान स्वतन्त्र समितिले बिहिबार रिले अनसन स्थगित गर्दै रचनात्मक एवं शान्तिपूर्ण आन्दोलनको कार्यक्रम घोषणा गरेको हो।

 सरकारले बुधबार ७ प्रदेशको अस्थायी राजधानी तोकेलगत्तै प्रदेश नं १ को धनकुटालगायत अन्य प्रदेशको विभिन्न स्थानमा बन्द हडताल, तोडफोड र आगजनीसमेत शुरु भइसकेको छ। अन्यत्रको आन्दोलन हिंसात्मक भएपनि धरानबासीहरुले भने संयमता अपनाउँदै शान्तिपूर्ण र रचनात्मकरुपमा प्रदेश राजधानीको माग गर्ने उद्घोष गरेका हुन्। सरकारले प्रदेश १ को अस्थायी राजधानी विराटनगर तोकिसकेको छ। ‘हामीले ठाउँ विशेषको विरोध गरेका होइनौं, धरान राजधानीको लागि किन उपयुक्त छ भन्ने पर्याप्त आधार र तर्कको आधारमा प्रदेश राजधानी हुनुपर्छ भनेका छौं,’ अभियानका संयोजक अइन्द्रबिक्रम बेघाले भने, ‘अरुतिर जस्तो जनतालाई दुःख दिने गरि बन्द हडताल गर्दैनौं, तर धरान स्थायी प्रदेश राजधानी नभएसम्म रचनात्मकरुपमा संघर्षका कार्यक्रमहरु जारी रहन्छ।’

भानुचोकमा रिले अनसनमा बसेकाहरुलाई प्रदेश सभा सदस्य प्रदीप भण्डारीले पानी पिलाएर अनसन स्थगित गराएका थिए। पुर्वाधार, वातावरण, भुगोल, साँस्कृतिलगायत सबै हिसाबले धरान प्रदेश राजधानीको लागि उपयुक्त ठाउँ भएपनि सरकारले नतोकेकोमा उनले आपत्ति जनाए। ‘अब धरानलाई स्थायी राजधानी बनाउनको लागि प्रदेशसभामा म निरन्तर पहल गर्नेछु,’ उनले प्रतिवद्धता जनाए। अनसन स्थगित गरेलगत्तै धरानबासीहरुले मन्त्रिपरिषदको निर्णयलाई विरोध स्वरुप भानुचोकमा जलाएका थिए। समितिको आयोजनामा धरानमा पुष ७ गतेदेखि निरन्तर रिले अनसन भएको थियो भने धरानलाई प्रादेशिक राजधानी बनाउन हस्ताक्षर संकलन पनि गरिएको थियो।

समितिले संकलित हस्ताक्षरलाई कालो कपडामा बेरेर शुक्रबार क्षेत्रीय प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई पठाउने जनाएको छ। यस्तै, रचनात्मक कार्यक्रमअन्र्तगत राजनीतिक दलहरुसँग अन्तक्रिया गर्ने, धरान प्रदेश नं १ को राजधानी किन उपयुक्त छ भनेर १ मिनेटको भिडियो तयार गर्ने र सबै सांसदहरुलाई, शिर्ष नेताहरुलाई पत्रसहित पठाउने, लविङ गर्ने र आवश्यकता अनुसार अन्य कडा दबाबमुलक कार्यक्रम पनि गर्ने समितिका सचिव श्याम पोख्रेलले बताए।

प्रकाशित: ४ माघ २०७४ १२:५७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App