७ वैशाख २०८१ शुक्रबार
समाज

श्रीमतीलाई ८ बर्षपछि आँखाले देख्दा...

म्याग्दी – बेनी नगरपालिका–४ सिंगा डाँडाखेतका खिमनाथ शर्माको आँखा बन्द भएपछि रातदिन एकै लाग्थ्यो। शरीर र हात पाखुरामा साहस भएपनि आँखाले धोका दिएपछि शर्मा श्रीमती पार्वतीको सहयोगमा घरायसीदेखि गाउँघरका कार्यक्रममा पुग्थे। साढे दुई दशक बैदेशिक रोजगारीमा सिलसिलामा बहराइनमा बिताएका शर्माले ८ बर्ष अगाडि बन्द भएको आँखा बेनीमा आयोजित निःशुल्क आँखा शिविरमा मोतियाबिन्दुको शल्यक्रिया गर्दा लामो समयपछि श्रीमतीलाई प्रष्ट देख्न पाए।

यस्तै, बेनी नगरपालिका–५ पुलाचौरकका हर्कबहादुर विकले दुई बर्षपछि श्रीमती लालकुमारीको अनुहार देखे। दुवै आँखा बन्द भएर घरमै थलिएका विकलाई लालकुमारीले शिविरमा ल्याएकी थिइन्। तीनबर्ष अगाडि आफूले समेत दुईवटै आँखाको अप्रेसन गरेकी लालकुमारीले श्रीमानले देखेपछि खुसी  भइन। शर्मा र विकजस्तै शिविरमा श्रीमती र श्रीमानको सहयोगमा मोतियाविन्दुको अप्रेसनका लागि आएका विरामीले आँखा खुलेपछि शिविरस्थलमै खुसीयाली मनाएका थिए।

म्याग्दीको सदरमुकाम बेनीमा सक्रिय रहेका लायन्स क्लवले आयोजना गरेको शिविरमा लामो समयसम्म आँखा बन्द भएका विरामीको आँखा खुलेपछि खुसीयाली छाएको थियो। ‘मैले ८ बर्षपछि श्रीमतिलाई देखे। मेरो आँखा बन्द हुँदा उनले गरेका सबै दुःखहरू अब मैले गर्नेछु’, शर्माले भने। बैदेशिक रोजगारको सिलसिलामा आँखामा समस्या आएपछि घर फर्किएर नयाँ जीवनको सुरुवात भएको उनले बताए। ‘सबैभन्दा ठूलो आँखा हो, आँखा फर्किएपछि अब तन्नेरी जस्तै काम गर्न सक्छु’, शर्माले भने। उनले अप्रेशनमा संलग्न हिमालयन आँखा अस्पताल पोखराका डा. हरिविक्रम अधिकारीको नेतृत्वमा आएको टोलीलाई धन्यवाद दिए।

उराठ र पट्यारलाग्दो बुढ्यौली उमेरमा आँखा खुलेपछि बृद्धबृद्धामा छाएको खुसीयालीले उत्साहित भएको लायन्स क्लव बेनी महारानीकी अध्यक्ष प्रमिला श्रेष्ठले बताईन्। ‘आँखा बन्द भएपछि घरको चौघेराभित्र कैद भएर बस्नुभएकाहरूको खुसी नै हाम्रो सेवा हो। भविस्यमा पनि शिविरलाई निरन्तरता दिनेछौ’, श्रेष्ठले भनिन्। उनले विहान उठ्ने, खाना खाने, शौचालय जाने सबै काममा परिवारका सदस्यको सहयोग लिने गरेकाहरु शल्यक्रियापछि आफ्नै खुट्टाले घर फर्किएको बताईन्। शिविरमा ४६ जनाको मोतियाविन्दुको शल्यक्रिया, ४ जनाको माईनरसहित १५० भन्दा बढीले सेवा लिएका थिए। शिविरमा अधिकांशको दाहिने आँखामा समस्या भेटिएको डा. हरिविक्रम अधिकारीले बताए। 

प्रकाशित: ४ माघ २०७४ १३:२६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App