८ वैशाख २०८१ शनिबार
अर्थ

प्रहरीसँगको सेटिङमा तस्करी

गोलबजारको प्रहरी कार्यालय छेवैबाट भन्सार कर्मचारी तस्करीको सामान भण्डारण गरिएको गोदाममा छापा मारेर बरामद गरेको सामान भन्सार लैजाँदै । तस्बिर -मिथिलेश/ नागरिक

सिरहा-‘प्रहरी मिलेपछि जे पनि सम्भव छ,’ सिरहाको दक्षिणवर्ती गाउँमा अचेल यो भनाइ चर्चित छ । भारतीय सीमा नाकाबाट बेरोकटोक तस्करले बिनाभन्सार सामान भित्र्याइरहँदा प्रहरी चुपचाप बसको पाइएपछि सर्वसाधारणले यस्तो धारणा व्यक्त गरेका हुन् ।

पछिल्लो समय सिरहाको विभिन्न नाकाबाट उज्यालोमै तस्करले भारतबाट नेपालमा बिनाभन्सार भारी मात्रामा सामान भित्र्याइरहेका छन् । तस्करको यो कार्यलाई सघाउँदै छ– चोरी पैठारी नियन्त्रणका लागि सीमामा तैनाथ सशस्त्र प्रहरी बलले । यहाँसम्म कि सादा पोसाकका सशस्त्र प्रहरीले तस्करको सामान सुरक्षित स्थान (व्यापारीको गोदाम) सम्म ल्याउन स्कर्टिङसमेत गरिदिन्छन् ।

सुरक्षाकर्मी र प्रशासनको मिलेमतोमा सिरहामा फस्टाएको तस्करी धन्दा सोमबार गोलबजारमा छताछुल्ल भयो । भन्सारका कर्मचारीले इलाका प्रहरी कार्यालय गोलबजार र सशस्त्र प्रहरी बेस क्याम्पको छेवैबाट भारी परिमाणमा तस्करीको सामान बरामद गरेको छ । प्रहरी कार्यालयबाट दुई सय मिटर उत्तरमा घर भाडामा लिएर तस्करले भन्सार नतिरेको सामान भण्डारण गरेर नजिकको व्यापारिक सहर (लहान, मिर्चैया, गोलबजार) सम्म सप्लाई गरिरहेको सूचना पछ्याउँदै सोमबार भन्सारको गस्ती टोलीले लाखौंको सामान जफत गरेको छ । ‘हामीले गोलबजारमा भण्डारण गरी सप्लाईको तयारीमा रहेको ३३ पोका कपडा जफत गरेका छौं,’ भन्सार प्रमुख राजेन्द्रप्रसाद हमालले नागरिकसँग भने, ‘मूल्यांकन गर्न बाँकी छ, बरामद सामान लाखौं मूल्यको छ ।’

पछिल्लो समय सुरक्षाकर्मीसँग सेटिङ मिलाएर तस्करी गर्ने व्यापारीले सुरक्षाकर्मीका घुमुवा (सादा पोसाकका प्रहरी)ले देखाएको बाटोबाट बिनाभन्सार सामान ल्याउने क्रम बढेको छ । तस्करले खाद्य सामग्री मात्र होइन बढी मूल्यका कपडा, मोटर पार्ट्स, र कस्मेटिक सामग्री प्रहरी र सशस्त्र प्रहरीलाई लाइन मिलाएर (मासिक रकम दिएर) ल्याइरहेका छन् । ‘सुर्ती, गुट्खाजस्ता धेरै बिक्री हुने सामान पनि भन्सार नतिरी आइरहेको छ,’ तस्करी बढेसँगै राज्यले पाउने करोडौं राजस्व गुमिरहेको बताउँदै भन्सार प्रमुख हमालले भने ।
सिराहामा वरियारपट्टी माडरको बाइपास सडक (माडर स्कुल), नरगी, इँटाटारबाट तस्करले सामान भित्र्याइरहेको स्थानीय व्यापारी बताउँछन् । यी सबै नाकामा सशस्त्र प्रहरी र नेपाल प्रहरीको उपस्थिति छ।
स्थानीयका अनुसार बरियारपट्टी, नरगी माडरको बाइपास सडकबाट पछिल्लो समय तस्करी बढी भइरहेको छ । बरियारपट्टी र नरगी नाकामा सशस्त्र र प्रहरीको उपस्थिति छ । चोरी पैठारी नियन्त्रणमा सहयोगका लागि सीमा नाकामा  इन्सपेक्टरको कमान्डमा सशस्त्र प्रहरीको बोर्डर आउटपोस्ट छ ।

‘सुरक्षाकर्मीसँग सेटिङ नमिलाएको भए यतिका संयन्त्रलाई छलेर कसरी तस्करले यहाँका सहरमा सामान ल्याउँछन् ?,’ गोलबजारका एक व्यापारीले सुरक्षाको कारण देखाउँदै नाम नबताउने सर्तमा भने, ‘दर्जनौं सुरक्षा पोस्ट पार गर्दै सुरक्षाकर्मीको अड्डा छेवैमा गोदाम राखेर तस्करले सामान भण्डार गर्दै आएको कोहीबाट लुकेको छैन ।’
पछिल्लो समय तस्करीका लागि चम्केको नरगी र बरियारपट्टी नाका पारी भारतीय लदनीया र पिपराही हुँदै जयनगरबाट दैनिक उपभोग्य सामानसँगै मोटरपाटर््स समेत भित्रिने गरेको स्थानीय बताउँछन् । उनीहरुका अनुसार यो नाकाबाट तस्करी हुने सामान राजमार्गको गोलबजारमा भण्डारण हुने र यहाँबाट लहान, धनगढी, मिर्चैयासम्म पुग्ने गरेको छ । व्यापारीका अनुसार नरगी चल्तीको नाका बनेको छ ।

भारततर्फको बजार जयनगरबाट पिपराही हुँदै लत्ताकपडा र दैनिक उपभोग्य सामान नरगीमा भण्डारण गरिन्छ । यहाँबाट मोटरसाइकलको पछाडि बाँधेर सिरहाका विभिन्न व्यापारीको गोदामसम्म पुर्याइन्छ । बोर्डर वारिका व्यापारीको गोदामसम्म तस्करीका सामान बोकेको मोटरसाइकल आइपुग्न न्यूनतम चार र अधिकतम सातवटा सुरक्षा पोस्ट पार गर्नुपर्छ ।तस्करी बढेकै कारण भन्सार असुली लक्ष्यभन्दा आधा पनि असुली नभएको भन्सार कर्मचारी बताउँछन् । भन्सार छलेर सामान भित्रिने क्रम बढेकाले भन्सार राजस्व असुलीमा भारी कमी आएको भन्सार प्रमुख हमाल बताउँछन् ।

इलाका प्रहरी कार्यालय गोलबजारका इन्सपेक्टर राजेश सुवेदीका अनुसार सोमबार यहाँ (गोलबजार)बाट भन्सार कर्मचारीले बरामद गरेको बिनाभन्सारको सामान कसरी भित्रियो पत्तै भएन । ‘हामीले पत्तै पाएनौं, कहाँबाट कसरी यति धेरैसामान भित्रिएछ,’ उनी अनभिज्ञता प्रकट गरे ।पछिल्लो समय प्रहरी र सशस्त्र प्रहरीले सादा पोसाकमा घुमुवा परिचालन गरेको छ । सशस्त्र प्रहरीले जिल्ला, बेसदेखि क्षेत्रसम्मका सशस्त्र प्रहरी सादा पोसाकमा सिरहामा परिचालन गरेको छ ।


 

प्रकाशित: ५ माघ २०७४ ०१:१९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App