७ वैशाख २०८१ शुक्रबार
कला

‘कबड्डी’जस्तै मिस्टर झोले’

काठमाडौं– गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘मिस्टर झोले’लाई ‘कबड्डी’ र यसको सिरिज जस्तै भएको टिप्पणी भइरहँदा निर्देशक रामबाबु गुरुङले समीक्षक तथा केही दर्शकको टिप्पणीमा आफू सहमत भएको बताएका छन् ।

बिहीबार पत्रकारसँगको एक जमघटमा उनले फिल्म थाहै नपाई फिल्म ‘कबड्डी’ जस्तै हुन गएको स्वीकार गरेका हुन् ।‘कबड्डी’ जस्तै बनाउँछु भनेर बनाएको त होइन, तर अलि अलि त्यस्तै हुन गएछ । म दुरुस्तै मिलेको भन्ने चाहीँ मान्न तयार छैन,’ गुरुङले भने । गुरुङले त्यसका बावजुद फिल्म भने दर्शकले रुचाइरहेको प्रतिक्रिया पाएको बताए ।

‘फिल्ममा ओजिलो कथा पनि नभएको प्रतिक्रिया पाएको छु । हो, फिल्ममा कथा छैन । तर, फिल्म हेर्ने दर्शक सन्तुष्ट नै भएर निस्कनु भएको छ, यसलाई सुखद संकेतका रूपमा लिएको छु,’ गुरुङले भने । निर्माता टेकेन खड्काले फिल्मले ६ दिनमा २ करोड ४८ लाख ग्रस गरेको बताए । उनले भने, ‘६ दिनमा राजधानीबाट १ करोड ४५ लाख र राजधानी बाहिरबाट १ करोड ३ लाख ग्रस भएको छ । डिजिटल राइट्स हामीसँगै सुरक्षित छ । डायस्पोरामा फिल्म बेच्ने क्रम जारी छ । हामी लगानी सुरक्षित हुने अवस्थाको एकदमै नजिक छौं ।’ फिल्म १ करोड ५३ लाखको लगानीमा निर्माण भएको हो । फिल्मका लागि निर्देशक रामबाबु गुरुङले मात्रै २५ लाख रुपैयाँ लिएका थिए । निर्माता मणिराम पोखरेलले विदेशबाट अहिलेसम्म फिल्मले ६५ लाख कमाइ गरेको बताए ।

दयाहाङ राईका यो साल मात्र आधा दर्जनभन्दा बढी फिल्म रिलिज हुँदैछन् । तर, ‘मिस्टर झोले’बाहेक अरु फिल्मले दर्शक तान्न सकेनन् । दयाहाङलाई यही कारण दोस्रो राजेश हमाल भएको आरोप लागिरहँदा उनले व्यक्तिगत कारणले यो साल आएजति फिल्म खेल्ने रणनीति लिएको बताए । ‘तर, के बाध्यता थियो भन्ने पछि भन्नेछु,’ राईले भने । राईका यसअघि ‘लाल्टिन’, ‘तान्द्रो’ प्रदर्शनमा आइसकेका छन् भने ‘कान्छी’, ‘ह्याप्पी डेज’ र ‘नेप्टे’ यही वर्ष प्रदर्शन हुँदैछन् ।

शुक्रबारबाट दोस्रो हप्तामा प्रवेश गरेको फिल्ममा दयाहाङसँगै प्रवीण खतिवडा, बुद्धि तामाङ, विजय बराल, वर्षा राउत, दिया पुन आदि कलाकारको अभिनय छ । रौनक विक्रम कँडेल कार्यकारी निर्माता रहेको फिल्ममा मणिराम पोखरेल, ओमचन्द्र रौनियार, अर्जुन कार्की सह निर्माता रहेका छन् ।
 

प्रकाशित: ५ माघ २०७४ ०३:२७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App