७ वैशाख २०८१ शुक्रबार
अन्य

‘विदेशीको सिको गर्न खोज्दा मौलिकता मेटियाे’

रामचन्द्र काफ्ले, गायक

तपाईंलाई मन पर्ने सहर कुन हो ?
मलाई पोखरा ज्यादै मनपर्छ । यहाँको मौसम र प्राकृतिक सौन्दर्यले मन लोभ्याउँछ । पोखरा अन्तका सहरभन्दा धेरै भिन्न छ । पहाडको नजिक पर्ने यति सुन्दर सहर विश्वमा सायदै होलान्।

तपार्इंको सपनाको सहर कस्तो होस् भन्ने लाग्छ ?
सबैतिर सफा र हरियाली होस् । सडक र यातायात व्यवस्थित होस् । सहरमा सबैखाले सुविधा सहजै लिन सकियोस् । सफा हावा लिन पाइयोस् । सहरका न्युनतम आवश्यकता पनि यिनै हुन् जस्तो लाग्छ मलाई । हाम्रो सहरको बिछट्टै मौलिकता छ । यहाँको मौलिकता अन्त भेटिन्न, तर हामीले नबुझी विदेशीको सिको गर्न खोज्दा मौलिकता मेटिँदै गएको छ । यो एकदमै नकारात्मक पक्ष हो । नेपालमा हरेक थोक पाइन्छ । खोला–नाला, छहरा, हरियो वन त झन् यहाँको सम्पत्ति नै हो । यसको सबैले संरक्षण गर्न आवश्यक छ।

सहर विकासका लागि के गर्नुपर्ला ?
सरकार र आम नागरिक तात्ने हो भने सहरको विकास हुनसक्छ । हाम्रोमा त नागरिक र सरकार नै सहरको विकासबारे वास्ता राख्दैनन् । सबैले आफ्नो मात्रै हेर्छन् । कम्तिमा सहरमा बस्नु छ भने यति त ख्याल राख्न सक्नुपर्याे नि।

उपत्यका कस्तो लाग्छ ?
मैले आफ्नो सांगीतिक करिअर पनि यहीबाटै सुरु गरेको हुँ । काठमाडौं मेरो कर्मथलो हो । यो सहर सबैको जीवनसँग जोडिएको सहर हो । यहाँ सबै क्षेत्रका मानिसहरू बस्छन् । यहाँको संस्कृति र रहनसहन पनि भिन्न–भिन्न छ । यही सहरमा आएर परिवार पाल्नेहरू पनि छन् । यही सहरमा आएर भ्रष्टाचार गरेर रातारात करोडपति हुनेहरू पनि छन् । गाउँबाट झोली बोकेर सहरमा महल बनाउनेहरू पनि छन् । मानिसको चापले पछिल्लो समय काठमाडौं फोहोर र भद्रगोल भयो । अरु देशका सहर हेरिकन हामी धेरै नै अस्तव्यस्त छौँ।

यहाँको भद्रगोल देख्दा दिक्क लाग्दैन ?
लाग्छ, तर यहाँ ऊर्जा दिने ठाउँहरू छन् । ऐतिहासिक मठ–मन्दिर, सबैखाले सेवा–सुविधा र मौसम पनि राम्रो भएकाले उपत्यका राम्रो लाग्छ । मानिसको भीडभाडले पछिल्लो समय सहर फोहोर बनेको छ । काम र सेवा–सुविधा खोज्दै देशैभरका मानिस यहाँ आएका छन्, तर सरकारले सेवा–सुविधालाई व्यवस्थित बनाउनेतर्फ ध्यान दिएन । यदि भएका सेवा–सुविधा विकेन्द्रीकरण गर्ने हो भने काठमाडौं खुकुलो हुन्थ्यो।

नेपालभन्दा बाहिर कुन–कुन देशका सहर घुम्नुभएको छ ?
म दुबई, चाइना, हङकङ, इन्डिया, सिंगापुर, थाइल्यान्ड, अमेरिका, जापानलगायत देशका धेरै सहर घुमेको छु । विदेशी मुलुकका सहर हाम्राभन्दा निकै सफा र व्यवस्थित छन्।

विदेशी सहर के–के कुरामा व्यवस्थित रहेछन् ?
विदेशी सहर सबै पक्षमा व्यवस्थित छन् । त्यहाँ नियमले सबैलाई बाँधेको हुन्छ । त्यहाँ कानुनमा जे छ त्यो कार्यान्वयन भएरै छाड्छ । हाम्रोमा त कानुनलाई व्यक्तिले चलाउँछन् । कसैले पनि नैतिकता र काननुको पालना गर्दैनन् । त्यसैले हो, हाम्रा सहर बिग्रिएको । मलाई दुबई र सिंगापुर असाध्यै मनप¥यो । त्यहाँ सपिङ गर्न रमाइलो छ । दुबईका सहर धेरै व्यवस्थित छन् । एउटै मलभित्र हामीले चाहेको सामान भेटिन्छ।

हाम्रा सहर त्यस्तै बन्न सक्दैनन् ?
सक्छन्, तर हामीमा जागरुकता हुनुपर्छ । सरकारको नीति र कार्यान्वयन पक्ष पनि कसिलो हुनुपर्छ । सहरको विकासमा सरकारलाई सहरवासीको पनि सहयोग चाहिन्छ । विकासमा हुने विनाशलाई सबैले सहन सक्नुपर्छ।

काठमाडौं कसरी सफा होला ?
सहरवासी सबै विषयमा सतर्क हुनुपर्छ । सबैले तोकिएको स्थानमा मात्रै फोहर फाल्ने बानी बसाल्नुपर्छ । अहिले नागरिकले जथाभावी फोहर फाल्ने गरेकोले पनि सहर बिग्रिएको हो । नागरिकले जथाभावी फोहोर फाल्ने बानी त्याग्नुपर्छ । पछिल्लो समय जनप्रतिनिधिले ल्याएका स्मार्ट सिटीका अवधारणा पनि आशलाग्दा थिए, तर अहिलेसम्म सिन्को भाँचिएको छैन । चुनावका बेला विकास गर्छु भनेर कसम खाएका नेता अहिले गुमनाम छन्।

हाम्रा सहर किन अव्यवस्थित भएका होलान् ?
हामीले प्रकृतिले दिएको चिजलाई चिन्न सकेनौं । सहरका सम्भावना खोज्न सकेनौं । भएका पुराना चिजहरू पनि सजाउन सकेनौँ । भौगोलिक र प्राकृतिक रूपमा हाम्रा सहर अरु देशभन्दा धेरै राम्रा छन् । सरकारले विकासतर्फ ध्यान नदिँदा यहाँका सहर पछि परेका हुन् ।

उपत्यकाको राम्रो पक्ष कुन हो ?
यहाँ सबैखाले सेवा सुविधा पाइन्छ, यो काठमाडौंको राम्रो पक्ष हो । यहाँको हावापानी, मठ–मन्दिर, वरपरका हरियाली डाँडाकाँडा अति नै सुन्दर लाग्छ । यसले नेपालीमात्रै नभएर विदेशीको मन पनि तानेको छ।

मन नपर्ने पक्ष ?
ट्राफिक जाम र प्रदूषण मन नपर्ने पक्ष हुन् । अहिले उपत्यकामा सबैतिर फोहरमात्रै छ।

उपत्यका नजिकै कतै घुम्न जानुपर्याे भने कुन ठाउँ रोज्नुहुन्छ ?
चितवनतिर जान्छु ।
मन भएर पनि पुग्न नपाएको सहर ?
मलाई फेरि एकपटक दुबई र थाइल्याण्ड घुम्ने मन छ ।
प्रस्तुतिः शिवहरि घिमिरे
 

प्रकाशित: ५ माघ २०७४ ०७:२४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App