६ वैशाख २०८१ बिहीबार
अन्य

‘ठेकेदारले विकास निर्माणमा आलटाल गरिरहेका छन्’

रमादेवी राई, उपमेयर, बूढानीलकण्ठ नगरपालिका

जनप्रतिनिधि भएपछि जनताले महसुस गर्ने काम के गर्नुभयो ?
जनप्रतिनिधि भएपछि करिब तीन महिनासम्म बधाई, शुभकामना र माला लगाउँदै ठिक्क भयो । वर्षात्का बेला जनप्रतिनिधिको जिम्मेवारी सम्हालेका कारण विकास निर्माणलाई अघि बढाउन सकेनौँ । यद्यपि नगरपरिषद्बाट नीति तथा कार्यक्रम र बजेट विनियोजन गर्न सफल भयौँ । लामो समय स्थानीय तह जनप्रतिनिधिविहीन रह्यो । जसकारण स्थानीय तहको थिति बिग्रिसकेको रहेछ । हामी आएसँगै कार्यालयको सेवा प्रवाहलाई व्यवस्थित र जनमैत्री बनाउँदै आएका छौँ । जनतालाई विनाझन्झट सौहार्दपूर्ण वातावरणमा सेवा दिइरहेका छौँ ।

जनप्रतिनिधिसँग जनताको ठूलो भरोसा थियो, तर तपाईंहरूले काम गर्नै सक्नुभएन नि ?
जनप्रतिनिधिसँग जनताको धेरै नै आशा र आकांक्षा रहेका छन् । नगर क्षेत्रमा अत्यधिक समस्या रहेका छन् । जसकारण जनप्रतिनिधिले ‘जादुको छडी’ जस्तै तत्कालै सबै समस्या समाधान होस् भन्ने चाहना राख्छन्, जुन अस्वाभिक होइन । हामीसँग पर्याप्त बजेट नभएपछि विकास निर्माणलाई अघि बढाउन नसकिने रहेछ । अहिले स्थानीय तहलाई हातखुट्टा बाँधेर काम गर्न दिइएको छैन । स्थानीय तह सञ्चालनसम्बन्धी पर्याप्त ऐन तथा नियमावली छैन । हरेक काममा लगाम लगाउने मात्रै प्रयास भइरहेको छ । त्यसैले जनताको अपेक्षाकृत काम गर्न सकेका छैनौँ । नगरक्षेत्रमा अहिले समस्याका चाङ छन् । तिनीहरूलाई व्यवस्थित योजना बनाएर अघि बढ्नुपर्नेछ।

तपाईंको क्षेत्रमा कस्ता समस्या रहेछन् ?
नगर क्षेत्रमा कच्ची सडक, धुलो–धुवाँ, प्रदूषण, ढल, खानेपानी, सार्वजनिक जग्गा अतिक्रमण, धोबिखोलामा बढ्दो प्रदूषण लगायत समस्या छन् । नगरपालिकाले समस्यालाई प्राथमिकताका आधारमा बिस्तारै समाधान गर्दै लैजाने योजना अघि सारेको छ।

तपाईं न्यायिक समिति संयोजक हुनुहुन्छ, कति मुद्दा आएका छन् ?
न्यायिक समितिको गठन गरेर काम थालिसकेका छौँ । अहिलेसम्म १५ मुद्दा आइसकेका छन् । नगरपरिषद्मा आएका मुद्दाको अहिलेसम्म फैसला गर्न सकेकी छैन । मुद्दाको विषयमा मिलापत्र गरेरै टुंग्याउने प्रयास गरिराखेका छौँ । न्यायिक समिति सञ्चालनमा पनि धेरै समस्या देखिएको छ । हामी जनप्रतिनिधि कानुन पढेर आएका छैनौँ । त्यसैले न्यायिक समितिका लागि एक कानुनअधिकृतको दरबन्दी आवश्यक हुन्छ । तर, कानुनअधिकृत नियुक्ति गर्न समेत पाइएको छैन । त्यसैले न्यायिक समितिमा काम गर्न अप्ठेरो भइराखेको छ ।

कस्ता मुद्दा आउँछन् ?
संविधानले तोकेअनुसार नगरपालिकामा देवयानी खालका मुद्दा आउने गर्छ । विशेषगरी चारकिल्ला सिमाना विवाद, जग्गा मिचेको, अशंबण्डा, बहुविवाह, सम्बन्धविच्छेद, झै–झगडाको मुद्दा आइराखेका छन् । नगरपालिकामा आएका मुद्दा सकभर मेलमिलापबाटै टुंग्याउने प्रयास गरेकी छु । हाम्रो क्षेत्राधिकार बाहिरका मुद्दा समेत आउने गरेका छन् । जिल्ला र पुनरावेदन अदालतमा पुगेका मुद्दा समेत नगरपालिकामा आउने गरेका छन् । नमिलेका मुद्दा जिल्ला अदालतमा पठाउनेछौँ ।

नगरपरिषद्बाट कस्ता योजना अघि सार्नुभएको छ ?
नगरपरिषद्बाट ७१ करोड बजेट विनियोजन गरेका छौँ । नगरपरिषद्बाट सडक, खानेपानी, ढल निर्माण, महिला सशक्तीकरण र महिलाको स्वास्थ्यलगायत योजनालाई मुख्य प्राथमिकतामा राखेर बजेट विनियोजन गरेका छौँ ।

नगरक्षेत्रमा भइरहेका विकास निर्माण योजनाका अनुगमनकर्ता समेत हुनुहुन्छ, के–के समस्या रहेछन् ?
गत आर्थिक वर्षमा नगरपरिषद्बाट पारित भएर अघि बढेका विकास निर्माणका योजनाको अनुगमन गरिराखेकी छु । नगरस्तरीय र वडास्तरीय योजना समयमै निर्माण भइराखेको देखिन्छ । तर, ती योजना सम्झौताअनुसार निर्माण नभएर भुक्तानीमा समस्या देखिएको छ । त्यस्ता योजनाबारे छलफल गरिरहेका छौँ । केन्द्रीय सरकारमातहत काम भइरहेका योजना समयमै निर्माण भएको देखिन्न । ठेकेदारले अनेक बहानाबाजी गरेर विकास निर्माणमा आलटाल गरिरहेका छन् । त्यस्ता ठेकेदारलाई सरकार र उपभोक्ता समिति दुवैले घचघचाउनुपर्ने देखिन्छ ।

सार्वजनिक जग्गा अतिक्रमण भइरहेका छन्, रोक्ने योजना के छ ?
लामो समय स्थानीय तह जनप्रतिनिधिविहीन रह्यो । जसको फाइदा उठाउँदै केही भू–माफियाले सार्वजनिक जग्गा अतिक्रमण गरेको पाइएको छ । अहिले जनप्रतिनिधि आएपछि जग्गा अतिक्रमण रोकिएको छ । अतिक्रमणमा परेका जग्गाको लागत तयार पार्न सम्बन्धित वडा कार्यालयलाई निर्देशन दिइसकेका छौँ । त्यस्तै, मेयर सापले पनि त्यसका लागि अध्ययन गर्न टिम खटाउनुभएको छ । अब नगरपालिकाले छानबिन समिति नै बनाएर मिचिएका जग्गालाई नगरपालिकाको स्वामित्वभित्र ल्याउनेछन्।

तपाईंको नगर क्षेत्रमा खानेपानीको हाहाकार छ, व्यवस्थापन कसरी गर्दै हुनुुहुन्छ ?
नगर क्षेत्रमा लामो समयदेखि खानेपानीको समस्या छ । नगरकार्यपालिकाको पहिलो बैठकले ‘एक घर, एक धारासहितको पानी’ अभियान अघि सारेको छ । नगरपालिकाले ड्रिप बोरिङ खन्न आर्थिक सहायता उपलब्ध गराउँदै आइरहेको छ । त्यसका साथसाथै पानीको मुहान तथा स्रोत पहिचानका लागि अध्ययन भइरहेको छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयसँग समन्वय गरेर मेलम्चीको पानी टोखा एरियामा व्यवस्थापन गर्न बारम्बार अनुरोध गरिसक्यौँ ।

विष्णुमती तथा धोबिखोला प्रदूषित भइरहेको छ, रोक्ने योजना के छ ?
काठमाडौं उपत्यकामा बर्सेनि जनसंख्या बढिरहेको छ । जसकारण अव्यवस्थित बसोबासले नदी तथा किनाराका क्षेत्र दिनानुदिन प्रदूषित हुँदै गइरहेको छ । त्यसैले नगरपालिकाले नदीमा जथाभावी फोहोर मैला नफ्याँक्नका लागि बारम्बार अनुरोध गरिसकेको छ । नगरपालिकाको बजेटले मात्रै नदीलाई सफा–सुग्घर बनाउन सकिने अवस्था छैन, त्यसैले सबैसँग समन्वय गरेर अघि बढ्नेछौँ।

तपाईंको नगर क्षेत्रमा वर्षाैंदेखि सडक अस्तव्यस्त र असरल्ल छ, कहिले व्यवस्थित गर्नुहुन्छ ?
नगरक्षेत्रमा अधिकांश सडक ठेक्का अघि बढिसकेका छन् । समयमै सडक विस्तार नहुँदा वर्षात्मा हिलाम्मे र हिउँदमा धुलाम्मे हुने समस्या छ । केन्द्रीय सरकार मातहत भएका निर्माण कार्यले गति लिन नसक्दा अपजसको भारी जनप्रतिनिधिको काँधमा आइराखेको छ । हामीले सडक विभाग, काठमाडौं उपत्यका विकास प्राधिकरणलगायत निकायलाई बारम्बार झकझकाइसक्यौँ । तर, उनीहरूले अटेरी गरिरहेका छन् ।
प्रस्तुति : हिमाल लम्साल

प्रकाशित: ५ माघ २०७४ ०७:३२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App