८ वैशाख २०८१ शनिबार
अन्य

‘चुनावका बेलाको वाचा भुलेको छैन’

काठमाडौं निर्वाचन क्षेत्र– ८ ‘क’ प्रदेशसभा सदस्य राजेश शाक्यसँग नागरिककर्मी हिमाल लम्सालले समसामयिक विषयमा गरेको कुराकानी :

प्रदेश सांसदमा विजयी भएपछि कस्तो महसुस गर्नुभएको छ ?

काठमाडौं निर्वाचन क्षेत्र– ८ ‘क’ का जनताले ममाथि धेरै भरोसा राखेर जिताउनुभएको हो । निर्वाचित भएसँगै निकै उत्साहित छु । ममाथि जिम्मेवारी र दायित्व बढेको छ । जनताले जुन भरोसा गरेर जिताउनुभयो, त्यो भरोसालाई कहिल्यै मर्न दिन्नँ । कसैलाई काखा र कसैलाई पाखा लगाउनेछैन, सबै जनतालाई एकसाथ लिएर नै प्रदेशको विकासमा खटिनेछु ।

निर्वाचनका बेला जनतालाई बाँडेका सपना कहिले पूरा गर्नुहुन्छ ?
निर्वाचनका बेला जनतालाई साक्षी राखेर गरेका वाचा भुलेको छैन । हामी निर्वाचित भएको झन्डै डेढ महिना भइसक्यो । दुर्भाग्य, अझै पनि शपथ समेत लिन पाएका छैनौँ । जसकारण निर्वाचित भएर पनि केही गर्न पाएका छैनौँ । अब प्रदेश सरकार बन्नेबित्तिकै निर्वाचनका बेला जनतालाई बाँडेका प्रतिबद्धता व्यावहारिक रूपमा कार्यान्वयन गरेरै छाड्छौँ । काठमाडौंवासीका ठूला सपना छैनन्, मुख्यतः खानेपानी, बिजुली र सडक सुविधा भए पुग्छ ।
 
सम्पदा नै सम्पदा भएको क्षेत्रको सांसद हुनुहुन्छ, यहाँका सम्पदाको अवस्था बिजोग छ नि ?
०७२ को भूकम्पले काठमाडौंका अधिकांश सम्पदा प्रभावित बने । नेपाललाई चिनाउने जीवन्त सम्पदा नै अहिले असरल्ल र भद्रगोल छन् । हामीले समयमै भूकम्पले भत्किएका सम्पदाको पुनर्निर्माण गर्न सकेनौँ । जसकारण भूकम्पले प्रभावित भित्री सहरलाई अझै उठाउन सकेका छैनौँ । अधिकांश जनताका घर तथा सम्पदा टेकोका भरमै अडिएका छन् । सम्पदा पुनर्निर्माणमा सबैबाट केही न केही कमी–कमजोरी पक्कै भएकै छ । अब स्थानीय, प्रदेश र संघीय तीनवटै सरकारले समीक्षा गर्ने बेला आएको छ । अब तीनवटै तहमा हाम्रो नेतृत्वकै सरकार बन्ने भएकाले सम्पदालाई पहिलो प्राथमिकतामा राखेर पुनर्निर्माण गर्नेछौँ । भित्री सहरका भूकम्पपीडितले घर निर्माणका लागि अझैसम्म ऋण पाउन सकेका छैनन् । त्यसैले अब प्रदेश सरकार बन्नेबित्तिकै भूकम्पपीडितलाई २५ लाख ऋण उपलब्ध गराउने तयारी गरेका छौँ ।

प्रदेश– ३ को मुख्यमन्त्रीमा तपाईंको दाबी रहन्छ कि रहँदैन ?
मुख्यमन्त्रीमा मेरो दाबेदारी छैन । म मुख्यमन्त्री हुनै नसक्ने त होइन, तर प्रदेश सांसदमा मभन्दा धेरै सिनियर व्यक्ति हुनुहुन्छ । त्यसैले यसपालि उहाँहरूलाई नै नेतृत्व लिन अघि सारेका छौँ । सिनियरको अनुभव र युवाको जोसलाई समावेश गरेर अघि बढ्ने प्रयत्न गरिरहेका छौँ । पार्टीले जे मूल्यांकन गरेर भूमिका दिन्छ, सोहीअनुसार नै अघि बढ्नेछु ।
 
आफ्नो प्रदेशलाई कस्तो बनाउँदै हुनुहुन्छ ?
प्रदेश– ३ सम्भावना नै सम्भावनाले भरिएको क्षेत्र हो । यो प्रदेशमा प्रशस्त सम्भावना रहेका छन् । त्यसलाई सही सदुपयोग गर्न नसकेरै हामी पछाडि परेका हौँ । यो क्षेत्र ऐतिहासिक, सांस्कृतिक, धार्मिक, पर्यटकीय र कृषिजन्य स्रोतले भरिपूर्ण छ । त्यसैले भएका स्रोत–साधनलाई उचित ढंगले व्यवस्थापन गर्न सके केही वर्षभित्रै यसको काँचुली फेर्न सकिन्छ । त्यसमा योजनाबद्ध भएर लाग्नुपर्ने हुन्छ । यो प्रदेश जलविद्युत् र पर्यटकीय उच्च सम्भावना बोकेको क्षेत्र हो । त्यसलाई उपयोग गरेर मुलुकलाई अग्रगामी छर्लाङ मार्ने गतिमा लैजानेछौँ । विभिन्न क्षेत्रमा आधारित उद्योग धन्दा खोलेर जनतालाई आत्मनिर्भरको बाटोमा अघि बढाउनेछौँ । पाँच वर्षसम्म काठमाडौं उपत्यकामा भत्किएका सम्पूर्ण सम्पदालाई पुनर्निर्माण गरेरै छाड्नेछौँ ।

काठमाडौंको भित्री सहर अस्तव्यस्त र भद्रगोल छ, कसरी व्यवस्थित गर्नुपर्छ ?
काठमाडौंको भित्री सहरमा अझै पनि राणाकालीन ढल यथावत नै छन् । राणाकालीन ढल जीर्ण भएर भत्किने समस्या कायमै छ । भित्री सहरमा मेलम्ची पाइप बिछ्याउन खनिएका खाल्डा अझैसम्म पुरिएका छैनन् । जसकारण भित्री सहर असरल्ल देखिएको छ । अहिले तीनवटै तहमा जनप्रतिनिधि आएका छन् । वाम गठबन्धनको नेतृत्वकै सरकार बन्न लागेको छ । त्यसैले अब सबै मिलेर उपत्यका सुधार्न अग्रसर हुनेछौँ । उपत्यकाभित्र भएका सम्पदालाई सुधार गरेरै सम्पदा सहर बनाउने अभियानमा लागेका छौँ ।

प्रदेशसभामा खासै अधिकार दिइँदैन भनिन्छ नि ?
प्रदेश सरकारको छुट्टै अधिकार र क्षेत्राधिकार रहेका छन् । प्रदेश सरकारले धेरै ठाउँमा राम्रो काम गरेर देखाउने अवसर पाएका छन् । प्रदेश सरकार कार्यकारी हुने नै हो । त्यसैले प्रदेश सरकार अधिकारविहीन हुँदैन । स्थानीय सरकार र प्रदेश सरकार दुवैलाई जोड्ने पुलको काम प्रदेश सरकारले नै गर्छ ।

काठमाडौंमा अत्यधिक जाम बढिरहेको छ, न्यूनीकरण गर्ने कस्तो योजना छ ?
०६८ मा काठमाडौंमा सडक विस्तार अभियान थाल्यौँ । सडक विस्तार अभियान थालेसँगै उपत्यकाको जाम अन्त्य हुने आशा गरेका थियौँ । तर, सडक विस्तारले मात्रै जाम रोकिएन । त्यसैले जाम न्यूनीकरणका लागि ट्राफिकसम्बन्धी पूर्वाधार निर्माण गर्नुपर्ने देखिन्छ । त्यसैले उपत्यकाको जाम न्यूनीकरणका लागि विज्ञ समूहसँग छलफल गरेर अघि बढ्ने योजना बनाएको छु ।

काठमाडौंको कोर एरियामा अझै पनि लुटपाट र दुव्र्यसनीका घटना भइराखेका छन्, कसरी व्यवस्थित गर्नुहुन्छ ?

कोर एरियामा साँघुरा गल्ली र बस्ती रहेका छन् । जसकारण अस्तव्यस्त देखिएको हो । अस्तव्यस्तकै कारण केही समूहले लुटपाट र दुव्र्यसनीका गतिविधि गरेका हुन् । हामीले कोर एरियामा सुरक्षा व्यवस्था कायम गर्न सिसी क्यामेरा राख्ने तयारी गरेका छौँ । सिसी क्यामेराको निगरानीमा कोर एरियालाई राखेर सुरक्षा व्यवस्थालाई चुस्तदुरुस्त बनाउनेछौँ ।

प्रकाशित: ५ माघ २०७४ ०७:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App