८ वैशाख २०८१ शनिबार
समाज

बाध्यताको बगर जिन्दगी !

आँधीखोलाको बगरमा गिटी, बालुवा र ढुंगा संकलन गर्ने मजदुरहरू खाना खाँदै । तस्बिर : मोहन

स्याङ्जा- स–साना ढुंगा जोडेर बनाइएको चुलोमा कालो डेक्ची बसालिएको छ । प्रेसर कुकरमा तरकारी र दाल एक साथ पाकिरहेछ। बगरको ढुंगामा वनधनियाँ र गोलभेंडाको अचार पारिलो घामसँगै सुकिरहेछ। पानी पिउनका लागि एउटा ग्यालिन, बोतल, र दूधदानी पनि। पानी पिउने मगसँगै खेलिरहेछिन् ढोरपाटन नगरपालिका–३ की १६ महिने बालिका अस्मिता बुढा।

पिता दिलीप बुढा र आमा निरू बुढासँगै उनी करिब एक वर्षदेखि आँधीखोलाको बगरमा आफ्नो बाल्यकाल दिनहुँ यसरी नै बिताइरहेछ । दिलीप र निरू आँधीखोलामा ढुंगा, गिटी र बालुवा संकलन गर्छन् । दूधे छोरीलाई सधैं बगरको धुलो र माटोमा खेलाउँछन्, भुलाउँछन् ।

छोरीलाई बगर ल्याउनु रहर नभएर बाध्यता भएको बताउँछिन् आमा निरु । ‘नानीलाई स्याहार गरेर घरमै बस्ने रहर छ,’ उनले भनिन्, ‘दुःख छ, दिउँसो काम गरेर साँझ खाने हो । सुत्केरी पनि बगरमै बिताएँ, काम नगरे बिहान–साँझ चुलोमा आगो बल्दैन ।’

राप्ती गाउँपालिका–१ लालमटिया दाङका फर्के घर्तीमगर र कमला घर्तीमगर बिहान झिसमिसेमा ढुंगा, गिटी र बालुवा संकलन र खोजीमा कसिन्छन् । घर्ती दम्पतीको पनि १५ महिनाको मिलन नाम गरेको छोरो छ । मिलन र अस्मिताको बाल्यकाल आँधीको बगरमै बितिरहेछ। गाउँ (दाङ) मा जागिरे हुने अवस्था नभएको फर्के बताउँछन् । ‘गाउँमा यतिको काम पनि पाइँदैन’, उनले भने, ‘जीवननिर्वाहका लागि भने पनि यहाँसम्म आउनुप¥यो ।’

खेती–किसानले खान नपुग्ने उनले बताए । ‘खेतीपाती ग¥यो महिनौं कुर्नुपर्छ’, उनले भने, ‘साँझ–बिहान कसरी धान्ने भन्ने पिरलो हुन्छ।’ दिनभर अरू काम ग¥योे साँझ परिवार पाल्न सक्ने कमाइ नभएका कारणले आँधीको बगरको १० नंग्रा खियाउन बाध्यता रहेको उनी सुनाउँछन् ।

राप्ती गाउँपालिका–१ मसुरियाका उलाह रोका र ललिता रोका दम्पतीको पनि गाँस र बास बगरैमा हुन्छ। संयुक्त परिवार धान्न कठिन भएकाले बगरमा पसिना बगाउन बाध्य भएको उनीहरू सुनाउँछन् । ‘परिवार संख्या ठूलो छ,’ रोकाले भने, ‘पाल्न र टाल्नका लागि यो दुःख गर्दैछु ।’ परिवारमा १२ जना सदस्य रहेको उनले बताए ।

लालमटिया मसुरियाका रामबहादुर घर्तीमगर र श्रीमती खेला घर्तीमगरको दैनिकीपनि उस्तै छ । आँधीको बगरमा ढुंगा, गिटी र बालुवा खोज्ने । छोरा–छोरीलाई पढाउन र हुर्काउनका लागि आपूmहरूले दुःख गरेको बताउँछन् । ‘छोरा–छोरी धेरै पाइयो । पाल्न र हुर्काउन दुःख भयो,’ घर्ती दम्पत्ती भन्छन्, ‘भगवान्ले दिएको भन्दै जन्माएँ ।’

उनीहरू सबैखानेकुरा बगरमै पकाउँछन् । मौसम सफा हुँदा बगरमै सुत्ने उनीहरूले बताए । कमाइ थोरै हुनेहुनाले बाहिर कोठा भाडा तिरेर बस्न नसक्ने उनीहरूको भनाइ थियो ।

एक जोडीले मासिक ८ हजारदेखि १० हजारसम्म कमाउँछन् । उनीहरूले जम्मा गरेका ढुंगा, गिटी र बालुवा ठेकेदारले बगरमै गएर किन्छन्। मसिना बालुवालाई १ हजार, मिसावट (मसिना ढुंगा मिसाएको) लाई १ हजार, गिटीलाई करिब २२ सय र ढुंगालाई १८ सय जति पर्दछ ।

जिल्ला समन्वय समितिले वालिङ नगरपालिका–१ मा पर्ने छाङ्छाङ्दी गडहरे झोलुंगेपुलदेखि वालिङ नगरपालिका–१० मोदीखोलासम्मको आँधीखोलाको बगर भागलाई २२ लाख रुपैयाँमा ठेक्का दिएका छन्।

पौराणिक महŒव बोकेको आँधीखोलामा सरकारले नै उत्खननका लागि अनुमति दिएपछि आँधीखोलाको महŒव बिस्तारै घट्दै गएको छ। करिब १० वर्षदेखि आँधीको सतहपनि ह्वात्तै घटेको छ।

आँधीखोला पाइने विभिन्न प्रजातिका माछाहरू पनि लोप हुँदै गएका छन् । आँधीखोलाई स्थानीय सरकारले संरक्षण नगर्ने हो भने आगामी १० वर्षभित्र बगरमा परिणत हुनेमा स्थानीय चिन्तित छन्।

 

 

प्रकाशित: ५ माघ २०७४ १२:५२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App