coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

पश्चिम नेपालमै पहिलोपटक लौकाटको व्यवसायिक पालन

सुर्खेत – चार वर्ष १० महिना दक्षिण कोरियामा काम गरेर फर्केपछि वीरेन्द्रनगरका ऋषिराम अधिकारी कुन व्यवसाय गर्ने दुविधामा थिए। परम्परागत भन्दा नयाँ व्यवसायका लागि धेरै ठाउँ चहारे पनि। अन्तिममा उनले ‘लौकाट’ र ‘लोकल कुखुरा’ पाल्ने निर्णयमा पुगे। ‘लौकाट पाल्ने तरिका, यसका फाइदालगायतका बारेमा यूट्यूवमार्फत जानकारी पाएँ’ उनले भने, ‘यो क्षेत्रमा नयाँ पनि हुने भएकाले व्यवसायिक पालन गर्ने निर्णयमा पुगेँ।’

६ नम्वर प्रदेशको राजधानी सुर्खेत जुनसुकै व्यवसाय गरेर पनि राम्रो आम्दानी लिन सकिने ठाउँ हो। ‘अरुले नगरेको काम गरौं भन्ने लागेर लौकाट र लोकल कुखुरापालन सुरु गरेको हुँ’ उनले भने, ‘नयाँ व्यवसाय भएकाले चुनौतिसँगै अवसरहरु पनि धेरै छन्।’

अधिकारीले भिनाजु याम लामिछानेसँग मिलेर वीरेन्द्रनगर–२ कोलडाँडामा एक वर्षअघि गंगामाला फोल्टी फर्म सञ्चालनमा ल्याए। तीन महिनाअघि नवलपरासीबाट चार सय चल्ला लौकाट सुर्खेत भित्र्याए। ‘यो व्यवसाय अहिलेसम्म पश्चिम नेपालमै कसैको पनि छैन्’ उनले भने, ‘नयाँ व्यवसाय भएकाले यो धेरैको चासो बनेको छ।’ लौकाट हेर्नका लागि मानिसहरु उनको फर्मममा पुग्ने गरेका छन्।

हुर्काउन र सहजै विक्री हुने भएकाले लौकाट पालन सुरु गरेको उनले बताए।  ‘यसको रोग प्रतिरोधात्मक क्षमता धेरै हुन्छ, पाल्नका लागि दुःख गर्नु पर्दैन्’ उनले भने, ‘हुर्नेपछिको आम्दानी पनि राम्रो हुने भएकाले यसलाई रोजेको हुँ।’ एउटा लौकाट १५ सय रुपियाँसम्म विक्री हुने गरेको छ। लौकाट साढे दुई किलोसम्मको हुन्छ। लौकाटको मासु मात्रै होइन्, अण्डा पनि उत्तिकै महंगोमा विक्री हुन्छ। एउटा लौकाटले वर्षमा एक सय ५० को हाराहारीमा अण्डा दिन्छ। ‘एउटै अण्डा तीन सयदेखि चार सय रुपियाँसम्म विक्री हुन्छ’ उनले भने, ‘यसको मासुभन्दा अण्डाबाट बढी फाइदा हुन्छ।’

तीन महिनाअघि नवलपरासीबाट भित्र्याइएका लौकाटका चल्ला अहिले बयस्क भएका छन्। लौकाट हेर्न र किन्न उनको फर्मममै मानिसहरु पुग्ने गरेका छन्। नयाँ व्यवसाय भएकाले सुरुमा घाटा हुन्छ भन्ने उनलाई लागेको थियो। ‘अहिले मानिसहरुको चासो हेर्दा उत्साह थपिएको छ’ उनले भने, ‘सोचेकै मूल्यमा विक्री हुन थालेपछि नयाँ उत्साह पनि थपिएको छ।’

लौकाटसँगै फर्ममा एक हजारबढी भन्दाबढी लोकल कुखुरा छन्। एक वर्षअघि पाँच लाखमा सुरु भएको फर्ममा अहिले १० लाखबढीका लौकाट र लोकल कुखुरा छन्। ‘अब टर्की र बटै पनि पाल्ने तयारीमा छौं’ अर्का सञ्चालक याम लामिछानेले भने, ‘यो क्षेत्रका लागि लौकाट, बटै, टर्की नयाँ स्वाद हुने भएकाले पनि यसको व्यवसायिक पालन सुरु गरेका हौं।’

प्रकाशित: ५ माघ २०७४ १४:२३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App