१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

ठाकुरको सम्धी–सम्धिनी मोह

फाइल फोटो

काठमाडौं – ‘मरे तो मुक्ति जिए त मधेस !’ 
यो भनाइ राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरको हो । राजधानीको बिजुलीबजारदेखि बबरमहलका कार्यालयका भित्तामा मात्रै होइन, मधेसका अधिकांश पार्टी कार्यालयमा पनि यो नारा पोतिएको छ । यसै भनाइमा विश्वास गरेर १ सय ५० भन्दा बढी मधेसी जनताले आफ्नो ज्यान आहूति दिएका थिए।

मधेस आन्दोलन र निर्वाचनअघि उनी यही भनाइमा प्रभावित रहेर मधेसी जनताका पक्षमा लड्दै आए पनि राज्यको सेवासुविधा लिने मामिलामा भने परिवारबाहिर नजानेमा उनै ठाकुर अब्बल देखिएका छन् । मुख्यतः अध्यक्ष ठाकुरले सम्धी– सम्धिनीप्रतिको राखेको मोह भने बुझिनसक्नु रहेको राजपाका नेताहरु बताउँछन्।

जतिपटक अवसर आउँछ, ठाकुरले आफ्नो कोटाबाट उतिपटक सम्धी–सम्धिनीलाई अवसर दिन छुटाएका छैनन् । ठाकुरको कोटाबाट अहिलेसम्म राज्यका उपल्ला निकायमा सहिद परिवारजनले अवसर पाएका छैनन् । तर उनले सम्धीसम्धिनीलाई भने पटकपटक अवसर दिँदै आएका छन्। 

यसपटक पनि अध्यक्ष ठाकुरले प्रदेश ५ को प्रमुखमा सम्धी उमाकान्त झालाई नियुक्त दिलाउन सफल भएका छन् । उनकी सम्धिनी इन्द्रा झा राजपाबाट समानुपातिकतर्फको सूचीको तेस्रो नम्बरमा छिन् । क्रमसंख्याका आधारमा चयन गर्ने हो भने सम्धिनी झा राजपाबाट व्यवस्थापिका संसद्मा जाने सुनिश्चित छ।

मधेस र मधेसीप्रति कांग्रेसले अपमान गरेको भन्दै सो पार्टी छाडेर आएका ठाकुरले सम्धी–सम्धिनीप्रति राखेको मोहबारेमा चौतर्फी आलोचना भएको छ । ‘यो मधेसको जनादेश र मधेस आन्दोलनको अपमान र मानमर्दन हो,’ मधेस विश्लेषक डा. राजेश अहिराजले नागरिकसँग भने, ‘मधेसी जनताले गरेको सामूहिक लगानी परिवारमा भिœयाउन पाइन्न, सुहाउँदैन पनि ।’ राजनीतिक नियुक्तिको अवसर अन्य मधेसी अनुहारलाई दिनुपर्ने डा. अहिराजको तर्क छ।

नेता ठाकुरले सम्धीलाई प्रदेश प्रमुख बनाउने र सम्धिनीलाई सांसद बनाउन खोजेको यो पहिलो प्रयास भने होइन । उनले यसअघि पनि सम्धी र सम्धिनीलाई पटकपटक अवसर दिइसकेका छन् । सम्धिनी झा संविधानसभा–२ मा सभासद् थिइन्।

ठाकुरले सम्धी झालाई भने नवलपरासी महाधिवेशनबाट पारित गरिएको पार्टी विधान मिचेर तत्कालीन तमलोपाका महामन्त्री बनाएका थिए । खिलराज रेग्मी नेतृत्वको सरकारमा सम्धी झा ठाकुरकै जोडबलमा ऊर्जामन्त्री भएका थिए । ऊर्जा र सिँचाइ सचिवबाट अवकाश पाएलगत्तै झाले ठाकुरकै कारण दुई पटक सरकारी सुविधा पाएका हुन्।

ठाकुरकी छोरी मीनाक्षीको विवाह झाका छोरा अविनाश कश्यपसँग भएको हो । अध्यक्ष ठाकुरका छोरीज्वाइँ दुवै चिकित्सक हुन्। 

प्रकाशित: ६ माघ २०७४ ०२:११ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App