८ वैशाख २०८१ शनिबार
अन्य

स्वर्गको खोजीमा

बालक छँदै केही बुझ्न थालेपछि मेरो मस्तिष्कमा स्वर्ग प्राप्तिको लोभको बीउ रोपिएको थियो । जीवनको लक्ष्य नै स्वर्ग प्राप्ति हो भन्ने कुराको पुराणले मेरो सम्पूर्ण चेतना भरिएको थियो । यो सनातनी धर्मको गाँजा थियो, जसले मेरा विश्वाश र आस्थामा भ्रान्तिको भव्य भवन उभ्याएर मेरो विचारशीलतालाई मनाएको थियो ।

मरेपछि मात्र स्वर्गको सुख भोग्न पाइन्छ र स्वर्गको सुख पनि त्यसैले मात्र प्राप्त गर्न सक्छ, जो पापदेखि टाढा रहेर सम्पूर्ण जीवनलाई अभाव, अन्याय र अत्याचारमुनि हाँसीहाँसी होमिदिन्छ भन्ने भाङ मलाई मेरो बाल्यकालका आयातुल्ला खुमेनीहरूले विली ग्रेइयमहरूले र कविप्रसाद गौतमहरूले खुवाएका थिए । मरेपछि डुमै राजा भन्ने र ऋण काढेर भए पनि यसै जीवनमा अञ्जुलीका अञ्जुली घिउ घिच्न सक्नुपर्छ भन्ने कुराको दीक्षा त मैले धेरैपछि मात्र पाएँ । नभए त काल्पनिक स्वर्गको मृगतृष्णाका पछि काकाकुल हँुदै म चाहिँ दगुर्दै जीवन नष्ट गरुँ र मेरा श्रमबाट प्राप्त अमृतरस चाखेर डकार्न चाहिँ खुमेनीहरू नै पाऊन् भन्ने भ्रष्ट दर्शन नै मेरा वरिपरि प्रचार गरिएको थियो र त्यस ज्ञानको अभावमा म उहिल्यै माटो भइसक्ने थिएँ । भौतिक सुख–साधनलाई मिथ्या मानी आध्यात्मिक स्वर्गको सपनामा मख्ख पर्ने लाखौँ मेरा देशवासीहरू यस माटामा मिली पनि सकेका छन् ।

स्वर्ग यहीँ छ, आफ्नै मुलुकलाई स्वर्ग बनाउन सकिन्छ भन्ने नितान्त सत्य–तथ्यलाई म यहाँ आज अघि सार्दै छु । जतिबेला म इलामबाट हिँडेर दार्जिलिङ पुगेको थिएँ, त्यहाँका ठुल्ठूला सिमेन्टीका भवन, बिजुली बत्तीको झिलिमिली, सुकिला र चिटिक्क परेका लुगा लगाउनेको चुरिफुरी देखेर संसारको स्वर्ग त दार्जिलिङ पो रहेछ जस्तो मलाई लागेको थियो । पछि मेरो स्वर्ग सर्दैसर्दै पश्चिम युरोपतिर र वर्षौंको अनुभवले अमेरिकासम्म पनि पुगेको थियो । हुन पनि न्युयोर्क, डयालस र सिकागो हेरिसकेपछि मानवका निर्माण प्रविधिको सर्वोत्कृष्ट उपलब्धि हेर्ने अरु कुनै धोको रहँदैन पनि ।

आकाश भेदन गर्ने उच्च र विशाल सिसाका भवनको क्षितिजै ढाक्ने ताँती, ती भवनलाई सिँगार्ने रंगीविरंगी बिजुलीको अपरिमित सौन्दर्य र फराकिला न फराकिला सडकका अनन्त विस्तृति देखेर मैले निर्णय गरेको थिएँ  अमेरिका हाम्रा पितापुर्खाले पुराणमा बयान गरेको स्वर्गभन्दा लाखौँ गुणा राम्रो, झकिझकाउ र सुविधायुक्त मुलुक हो ।मेरो मस्तिष्कलाई पहिलेपहिले पश्चिमी युरोपले मताएझैँ अथवा केही वर्षपछि अमेरिकाको वैभवले लट्ठयाएझैँ साम्यवादी गँजडीहरूलाई मास्को र पेकिङले लाटो पारेको हुन सक्छ !

म भर्खरै सात वर्षको अमेरिका प्रवासबाट नेपाल फर्केको थिएँ । एकजना लठुवाले तानेर मलाई सोभियत प्रचारको फिल्म देखाउन लाग्यो । त्यहाँ मास्कोका केही बिजुली निकाल्ने घर, कारखानाहरू, फूलबारीहरू देखाइएका थिए । अँध्यारमुखे जनता घोप्टे आँखा लगाएर यताउता हल्लिरहेका पनि त्यस प्रचार फिल्ममा थिए । साम्यवादले हो वा सोभियत रुसको सिञ्चनले मानेर हो केही दर्शक ‘सर्वोत्कृष्ट’, ‘अद्वितीय’, ‘अनुपम’ जस्ता भावोद्गार प्रकट गरेर मलाई बाधा दिइरहेका थिए । अमेरिकामा त्यस्ता जिउँदै मरेका लामजस्ता अँध्यारमुखे जनता कतै पनि देख्न पाइँदैनन् र त्यस्ता फिल्ममा देखाएजस्ता घर, कारखाना र दृश्यहरू त ७०–८० वर्षअगाडिका बेढंगी अविकसित नमुना हुन पुग्छन् भन्ने कुराको ज्ञान मलाई भयो र बीचैमा झर्को लागेर मैले त्यस भवनलाई परित्याग गरेँ ।

कतिजना नेपालीहरू रुसमा छोराछोरीलाई पढ्न पठाउन पाए हुन्थ्यो भनेर कल्पन्छन् । २०–२५ हजारको घुस दिएपछि सांस्कृतिक वृत्तिअन्तर्गत यसरी पठाइदिने महासयहरू पनि रहेछन् । सात–आठ वर्ष घोर फलामे अनुशासनको बन्द व्यवस्थामा कहर काट्न छोराछोरी पठाउने कुरामा पनि तँछाड, मछाड गरेको देख्ता म छक्क परेको छु । अझै पनि नेपालमा कति मान्छेहरू रुसलाई स्वर्गतुल्य मान्दा रहेछन् ! तिनको भ्रम आधुनिक चीनको उदार र स्वच्छ नीतिले हटाइदिनुपर्ने हो, तर स्वर्गको लोभमा र्याल चाट्नेहरू त्यति सजिलै सत्यपक्षी हुन पनि सक्दा रहेनछन् ।

अर्काथरी नेपालीको संख्या पनि हाम्रो देशमा दिनहुँ बढिरहेको छ । यस थरीको आकर्षण अमेरिकातर्फ छ । अमेरिका जान पाए जन्मेको सार्थक मान्ने यी नेपालीहरू अमेरिकाको कल्पनामा र्याल काढिरहेका पाइन्छन् । हो, अमेरिकामा जति भौतिक साधनहरूको विकास विश्वमा अरु कतैतिर पनि छैन र अमेरिकामा जति ती साधनहरू अरुतिर सहज प्राप्त पनि छैनन् । त्यति भएर पनि के अमेरिका बसाइँ सर्न पाउँदैमा तपाईं स्वर्गको सुख भोग्न पाएको अनुभूतिमा धन्य हुन पाउनुहुन्छ त ?म अमेरिका बसुन्जेल उन्नति भन्ने कुरो कुइरेले मात्र गर्न सक्ता रहेछन् र जहाँ–जहाँ कुइरेहरू छन्, त्यहाँ–त्यहाँ मात्र भौतिक विकास भएको छ भनी पत्यार गर्ने गर्थें ।

कतिपय धा¨मक व्यक्तिहरू आफ्नो कट्टरता ममाथि पोख्तै भन्थे पनि, ‘जुन जुन मुलुकमा क्राइस्टलाई मान्छन्, त्यहाँ यथेष्ट वैज्ञानिक उन्नति भएको छ, प्रजातन्त्रको स्वच्छन्द विकास भएको छ, प्रजातन्त्रको स्वच्छन्द विकास भएको छ र जनताको जीवनस्तर अत्यन्त उच्च र अनुकरणीय छ । मानव भएर जन्मेपछि क्राइस्टको अनुयायी भएर यस्तो सम्पन्नतामा जीवन बिताउन पाउनु नै सार्थकता हो ।’मेरो मनमा कहानी छुट्थ्यो । ‘वसुधैव कुटुम्बकम्’ अर्थात् समस्त संसारका मानिसहरू एउटै परिवारका सदस्यतुल्य स्नेहमा बाँधिएका छन् भन्ने उच्च विचार लिने मेरो सनातनी धर्मको परम्परामा के बित्तल परेछ र यी हुटिट्याउँहरूले दर्शन जस्तो विशाल सगरलाई थाम्न खोजेको दृश्य हेर्न म विवश भइरहेछु भनी चिन्तित हुन्थेँ ।

त्यस्तैमा म जापान हेर्न पुगेँ । टोकियोको सरसफाइ, त्यहाँका भव्य भवनको विस्तृति र त्यहाँका विशाल जनसमूहको शिष्टतापूर्ण अनुशासन देख्ता म आत्म विस्मृत भएँ । विशाल नगरभित्रको व्यवस्थाको त कुरै छाडौँ, स–साना गाउँको रमणीयताले समेत ममा नयाँ स्फू¨त र आशाको सञ्चार गरायो । गरयो भने नहुने केही रहेनछ, बनायो भने जहाँ पनि र जसले पनि बनाउन सक्तो रहेछ ! मेरो शरीर सिरिंग काम्यो ! अर्काले बनाएको घरमा अर्काको धनमा र्याल काढेर परदेशलाई स्वर्ग मान्नुजस्तो तुच्छता मलाई केही लागेन । दुई छाक मीठो खान र राम्रा लुगा लगाएर गाडीमा चिप्लन पाउँदैमा जीवनले स्वर्गको सुखभोग गरेको भन्न मिल्दैन । अर्काको मुलुकमा आफ्नो परिचय, आफ्नो संस्कृति र आफ्नो राष्ट्रियता गुमाएर सधैँ शिर निहुर्याउँदै दासजस्तो लत्रेर भाते भई पेट भर्नुभन्दा त आफ्नै मुलुकमा सगरमाथा ताक्तै शिर उच्च गरेर स्वच्छन्द हिँड्नु स्वर्गका प्राप्तितर्फको प्रयास हो भन्ने विचारमा म अचेल पूर्ण विश्वस्त छु ।

आफ्नै मुलुकभित्र वैज्ञानिक प्रविधिको प्रगति गरी हामीले पनि जापानीले जस्तै सुखमय राष्ट्रिय स्वर्गको सृष्टि गर्न सक्ने रहेछौँ । विकसित हुन र सम्पन्न भएर, समृद्ध भएर र खुसी भएर बाँच्न क्राइस्टलाई वा अरु कुनै धा¨मक कट्टरतालाई मान्नुपर्ने बाध्यता जापानलाई नभएझैँ हामीलाई पनि छैन । स्वर्ग प्राप्ति हाम्रै मुलुकमा हुने रहेछ, आफ्नै सगरमाथाको उच्चतामा प्राञ्जल हुँदै यहीँ नै चम्कने र प्राप्ति हुने रहेछ !
 

प्रकाशित: ६ माघ २०७४ ०२:५१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App