८ वैशाख २०८१ शनिबार
अन्य

मर्निङ वाक

सुरेश किरण
एकाबिहानै मर्निङ वाकका लागि निस्किँदै थिएँ । अचेल मेरो मर्निङ वाक काठमाडौंको पश्चिम कुनोतिर रहेको स्वयम्भू स्तूपवरिपरि हुने गरेको छ । पहिले त म बल्खुवरपर नै मर्निङ वाकका लागि दौड्ने गर्थें । भूकम्पपछि बल्खु जाने मेरो बानी छुट्यो । खासमा भनुँ भने बल्खु जानुको कुनै औचित्य रहेन।स्वास्थ्यलाई (वा अरु कुनैलाई) केही लाभ हुँदैन भने मर्निङ वाक मात्रै गरेर मात्र के काम ?

त्यसपछि मैले आफ्नो मर्निङ वाकको गन्तव्य सानेपातिर मोडेँ । सानेपा मजस्तै अरु पनि धेरै वाकरहरूको गन्तव्य बन्दै थियो । वाकमा गएअनुसार थोरबहुत लाभ पनि हुँदै थियो । तर, चुनाव सकिएपछि अचानक लाभमा कमी आउन थाल्यो । लाभमा कमी आएपछि वाकमा पनि कमी आउन थाल्यो । फलतः मैले सानेपा गन्तव्य पनि चेन्ज गरी मध्यमार्ग समाउन थालेँ । र, स्वयम्भूतिर गन्तव्य मोडेँ ।त्यही मर्निङ वाक जाँदै गर्दा स्वयम्भूमुन्तिरै रहेको भुइँखेलमा नेता कमरेडसँग भेट भयो । अचेल उहाँ पनि मर्निङ वाक आउन थाल्नुभएको रहेछ । बाटोमै ट्वाक्क भेटियो । ‘लाल सलाम, कमेरड !’ मैले ठूलो स्वरमा अभिवादनसहित सोधेँ, ‘मर्निङ वाक फेरि सुरु गर्नुभयो ?’‘अँ गरेँ,’ उहाँले भन्नुभयो, ‘नगरी नहुने अवस्था आइपुग्यो नि त !’‘अनि अचेल मर्निङ वाकको रुट कता नि कमरेडको ? यता त कमै देख्ने गर्छु,’ मैले भलाकुसारी अघि बढाउने शैलीमा भनेँ ।

उहाँले तत्कालै जवाफमा भन्नुभयो, ‘खासमा मेरो रुट त राष्ट्रपति भवन हो । अब जानुपर्ने मेरो रुट पनि त्यही नै हो । तर म त्यतातिर त्यसै जान्नँ ।’‘अनि कसरी जानुहुन्छ त ?’‘हेर्नुस्, अहिले म जानुपर्ने भनेको राष्ट्रपतिमै हो । अब अर्को ठाउँमा जाने मेरो अवस्था पनि छैन । त्यसो भन्दैमा मलाई त्यहाँ पुर्याइदिनुपर्यो भनेर म कसैकहाँ भन्न जानेवाला भने छैन । म त्यसो भन्न जाने मान्छे पनि होइन ।’‘त्यसो भए ठिकै छ नि कमरेड । तपाईं त्यसो भन्न जाने मान्छे हुनुहुन्न । नजानुस् । किन आफ्नो प्रतिष्ठा दाउमा लगाउनु बेकारमा,’ मैले उहाँप्रति पूर्ण समर्थन जनाएँ ।‘बरु कमरेडसँग एउटा कुरा सोधिहाल्न मन लाग्यो,’ प्रसंग बदल्न खोेजेँ ।‘के कुरा ?’ उहाँका आँखामा उत्सुकताको रेखा देखियो ।

‘प्रधानमन्त्री शेरबहादुर देउवाले अझसम्म पनि राजीनामा दिनुभएको छैन, तपाईंलाई के लाग्छ ? केही षड्यन्त्र त भइरहेको छैन ?’ मैले विशुद्ध समसामयिक राजनीतिको गुदी जान्न चाहेँ ।‘शेरबहादुर देउवा त पदको लोभी नै हुनुहुन्छ । त्यो दुनियाँलाई थाहा छ,’ उहाँले भन्नुभयो ।‘के उहाँलाई अब हटाउन मिल्दैन ?’ मेरो जिज्ञासा थपियो ।‘हेर्नुस्, यो आ–आफ्नो सोचको कुरा हो । मचाहिँ शेरबहादुरले जस्तो सोच्दिनँ ।’‘जस्तो कि... ?’

‘जस्तो कि... अब म उहाँजस्तो मान्छे नै होइन । म आफूलाई राष्ट्रपति बनाइदिनुप¥यो भनेर कहिले यता कहिले उता भन्न जाने मान्छे होइन । कसैले आवश्यकता देखेर मलाई राष्ट्रपति बन भन्छ भने म खुरुक्क बनिदिन्छु । तर, म आफैँ कसैकहाँ गएर माग्न जाने मान्छे भने होइन,’ उहाँले आफ्नो औलो ठड्याउनुभयो ।‘हो नि, त्यो त मलाई थाहा छ । बरु अहिलेको मौसम कमरेडले महसुस गर्नुभएको छ, यो वर्ष त पोहोरभन्दा पनि चिसो बढेको रहेछ नि । तराईमा शीतलहरले बर्बादै पारेको छ रे,’ मैले पुनः प्रसंगलाई पुरानै पटरीमा लैजान खोजेँ ।

‘हो, यसपालि साह्रै चिसो बढेको छ । चिसोले गर्दा म त्यति बाहिर पनि आउँदिनँ । आज पनि धेरै दिनपछि मर्निङ वाक आउँदै छु,’ उहाँ चिसोको कुरामा मसँग सहमत हुनुभयो ।‘उसो भए हिजो अस्ति कमरेड घरमै हुनुहुन्थ्यो ?’ मैले आश्चर्य मानेर सोधेँ ।‘घरमै थिएँ,’ उहाँले सुस्केरा हाले जसरी भन्नुभयो, ‘कहीँ गइनँ म । कहीँ जान मन पनि लाग्दैन मलाई । म फेरि त्यसरी जाने मान्छे पनि होइन हेर्नुस् । मलाई राष्ट्रपति बनाइदिनुर्या, पद मिलाइदिनुप¥यो भनेर भन्न जाने मान्छे नै होइन म ।

राजनीतिक हिसाबले अब म जाने ठाउँ भनेको त राष्ट्रपतिमै हो । अरु त छँदै छैन । त्यसो भए पनि मलाई राष्ट्रपति बनाइदेऊ भनेर कसैलाई भन्न जाने मान्छे म होइन... ।’‘हो कमरेड हो, त्यो त मलाई थाहा छँदै छ नि । बरु अहिलेलाई जान्छु कमरेड । ढिलो पनि भइसक्यो ।’ अब चाहिँ त्यहाँबाट फुत्कनै ठीक जस्तो लाग्यो मलाई ।‘हुन्छ हुन्छ  जानुस् । बरु कहाँ जानुहुन्छ तपाईं ?’ अचानक उहाँले सोध्नुभयो ।‘म त यतै रामकोटतिर बस्छु कमरेड । उतै जाने हो ।’ मैले आफ्नो ठेगाना बताएँ ।‘ए रामकोट पो ! बालकोट त हैन हगि ?’ उहाँले प्रस्ट्याउन चाहनुभयो ।‘होइन, कमरेड होइन, बालकोट होइन रामकोट नै हो,’ मैले प्रस्ट पारेँ ।

‘बालकोट होइन भने पनि केही छैन,’ उहाँले पुनः औँलो ठड्याउनुभयो, ‘कथंकदाचित् बालकोट गइहाल्नुभयो भने त्यहाँ पनि सीधै भनिदिनुस् म त्यसरी अरुजस्तो राष्ट्रपति बनाइदेऊ भनेर भन्न आउने मान्छे होइन भनेर । उनीहरूले नै आवश्यकता बुझेर बनाए भने बनाए, होइन भने बनाइदिनुपर्यो भनेर भन्न जाने मान्छे म होइन । बालकोटवाला कोही भेटियो भने भनिदिनुस् ।’‘हुन्छ कमरेड, गएँ भने अवश्य भनिदिन्छु ।’‘राम्ररी बुझिने गरी भनिदिनुस् नि फेरि, म त्यो अरुजस्तो माग्न जाने मान्छे होइन... ।’ कमरेड अझै सम्झाइ नै रहनुभएको थियो, तर कसलाई हो थाहा छैन । म त त्यहाँबाट हिँडिसकेको थिएँ नि ।

प्रकाशित: ६ माघ २०७४ ०३:३८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App