८ वैशाख २०८१ शनिबार
खेल

रत्नजित र दीपेशबीच फाइनल भिडन्त

काठमाडौ – राखेप च्याम्पियनसिपअन्तर्गत ३९औं राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको पुरुष एकलमा शुक्रबार त्रिभुवन आर्मीका रत्नजित तामाङले फाइनलमा स्थान पक्का गरेका छन्। 

सुदूरपश्चिमको महेन्द्रनगरस्थित कभर्डहलमा भएको सेमिफाइनलमा  सुदूर पश्चिमका उदीयमान खेलाडी १९औं वरीयताप्राप्त प्रिन्स दाहालले पहिलो सेटमा शीर्ष वरीयताका रत्नजितलाई १५ अंकमा रोक्दै जित निकाले। दोस्रो सेटमा पनि अग्रता कायम गर्दै सनसनीपूर्ण खेल प्रस्तुत गरेका जुनियर खेलाडी प्रिन्सले १५–१४ को अग्रता लिएका थिए । त्यही अवस्थामा प्रिन्स कोर्टमा लडेर घाइते भएपछि उक्त सेट रत्नजितले २१–१५ को जित निकाले। अन्तिम तथा निर्णायक सेटमा रत्नको ८ र प्रिन्सको ३ अंक रहेको थियो। त्यसपछि प्रिन्सले खेल छाडेपछि रत्नजितले उपाधि भिडन्त पक्का गरे।

 ३३ वर्षपछि भएको राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा पुरुष एकलमै घरेलु दर्शकको साथ पाएका एपिएफका दीपेश धामीले त्रिभुवन आर्मीका नवीन श्रेष्ठलाई २१–१३, २१–९ ले हराउँदै रत्नजितसँगको उपाधि भिडन्त पक्का गरे।

नेपाल ब्याडमिन्टन संघको तत्वावधान तथा महेन्द्रनगर ब्याडमिन्टन संघको अयाोजनमा भएको प्रतियोगिताको महिला एकलमा त्रिभुवन आर्मीकी नङ्सल तामाङ र एपिएफकी शिक्षा श्रेष्ठले स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्ने भएका छन्। 

नङ्सलले एपिएफकी शोभा गौचनलाई २१–१३, २१–११ ले हराउँदा शिक्षाले आर्मीकी अमिता गिरीमाथि २२–२०, २१–१५ को नतिजा निकाल्दै फाइनलमा स्थान बनाएका हुन्। 

पुरुष युगलमा आर्मीका रत्नजित र नवीन श्रेष्ठको जोडीले स्वर्ण पदकका लागि एपिएफका दीपेश धामी र विजित थापामगरको जोडीसँग प्रतिस्पर्धा गर्ने भएको छ । तामाङको जोडीले अन्तिम चारमा एपिएफका साजनकृष्ण ताम्राकार र सुदीप सेढार्इंको जोडीलाई २१–१५, २१–१५ ले पराजित गर्दै फाइनलमा स्थान बनायो । दीपेशको जोडीले सेनाका सुरोज महर्जन र प्रफुल महर्जनको जोडीलाई २२–२०, २१–१७ ले हरायो। 

महिला युगलमा एपिएफकी पूजा श्रेष्ठ र शिक्षा श्रेष्ठको जोडीले फाइनलमा स्थान बनायो । श्रेष्ठको जोडीले सेनाका अमिता गिरी र रसिला महर्जनको जोडीलाई २१–९, २१–८ले पाखा हराउँदै स्वर्ण पदकका लागि आर्मीका नङ्सल र अनुमायाको जोडीसँगको भेट पक्का ग¥यो। नङ्सल र अनुको जोडीले पूर्वाञ्चलका जेसिका गुरुङ र सुनैना मुखियाको जोडीमाथि २१–१५, २३–२५, २१–१९ को जित निकाल्यो। 

मिक्स डबलमा आर्मीका नङसल र रत्नको जोडीले एपिएफका साजनकृष्ण ताम्राकार र शिक्षा श्रेष्ठको जोडीलाई २१–१८, २१–११ ले र एपिएफका विजित थापामगर र शोभा गौचनको जोडीले आफ्नै क्लबका दीपेश धामी र पूजा श्रेष्ठको जोडीलाई २१–१४, १६–२१, २१–१८ ले पराजित गर्दै फाइनलमा स्थान बनाए। 

 

प्रकाशित: ६ माघ २०७४ ०४:३८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App