७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

दोक्लमबारे चीनको नयाँ धारणा

बेइजिङ – चीनले विवादित सीमा क्षेत्र दोक्लमको विषयमा टिकाटिप्पणी नगर्न भारतलाई आग्रह गरेको छ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लु काङ्गले नियमित पत्रकार सम्मेलनमा दोक्लम चीनको भूभाग भएको स्पष्ट पार्दै त्यहाँ सडक निर्माण भइरहेको र त्यो पूर्ण रुपमा आफूहरुको आन्तरिक मामिला भएको बताए।

दोक्लममा चिनियाँ सेनाले आफ्नो उपस्थिती बढाइरहेको विषयमा भारतमा चर्चा भएपछि शुक्रबार चिनियाँ विदेश मन्त्रालयले विरोध जनाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

भर्खरैमात्र उत्तरी दोक्लममा चिनियाँ सेना हातहतियारसहित बसिरहेको स्याटलाइट तस्बिर सार्वजनिक भएको थियो। यो सँगै भारतमा चर्चा र चिन्ता भइरहेको छ। गत वर्ष दोक्लममा चीनले सडक निर्माण गरिरहँदा भारतले अवरोध गरेपछि दुई देशबीच २ महिनाभन्दा बढी समय तनाव भएको थियो।

पत्रकार सम्मेलनमा प्रवक्ता काङ्गले दोक्लमको उत्तरी भूभागको स्याटलाइट तस्बिर सार्वजनिक भएकोमा आश्चर्य व्यक्त गरे। ‘मैले पनि यो रिपोर्ट हेरे, मलाई अचम्म लागेको छ कि यो तस्बिर कसरी बाहिरियो ?’

दोक्लम चीनको भूभाग भएको र सधै चीनको अधिकार क्षेत्रभित्र रहेको स्पष्ट पार्दै उनले यसमा कुनै दुविधा नभएको बताए। चीनले दोक्लममा भौतिक संरचना बनाउनका लागि विभिन्न निर्माण कार्य अघि बढाइरहेको भन्दै त्यहाँ बस्ने नागरिक र सैनिकका लागि सडक आवश्यक परेको उनको जिकिर छ।

‘सडक लगायत भौतिक संरचनाको निर्माण कार्य पूर्ण रुपमा वैधानिक र कानूनसम्वत छ, किनकि हामी हाम्रो भूमीमा आफ्नो सार्वभौमिक अधिकारको प्रयोग गरिरहेका छौं,’ उनले पत्रकार सम्मेलनमा भने।

भारतले आफ्नो भूभागमा कुनै निर्माण गतिविधि गरे त्यसमा चीनको कुनै टिप्पणी र आपत्ति नहुने स्पष्ट पार्दै उनले भने– हामी आशा गर्छाै कि चीनका जायज गतिविधिहरुमाथि बाह्य देशले बेतुके बयानमार्फत दख्खल दिने प्रयास नगरोस्।’

प्रकाशित: ६ माघ २०७४ १०:०६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App