८ वैशाख २०८१ शनिबार
राजनीति

महिला प्रतिनिधित्व दुईतिहाइ बढी

काठमाडौं – अधिकांश दलले प्रत्यक्ष निर्वाचनमा निकै कम महिलालाई उम्मेदवार बनाएका कारण प्रदेश संसद्मा महिला कोटा समानुपातिक निर्वाचन प्रणालीमार्फत पुरा गर्नुपरेको छ।

प्रदेशसभामा समानुपातिक निर्वाचन प्रणालीमार्फत ८० प्रतिशत महिला पुगेका छन् । प्रत्यक्ष निर्वाचनबाट चुनिएकासहित प्रत्येक दलले ३३ प्रतिशत अनिवार्य महिला हुनेगरी जनसंख्याका आधारमा तयार पारिएको क्लस्टरमा महिला प्रतिनिधि पठाएका हुन्। 

एमाले पोलिटब्युरो सदस्य कर्ण थापा प्रदेश नम्बर ७ को मुख्यमन्त्रीको दाबेदार थिए । पार्टीभित्रबाट मुख्यमन्त्रीको दाबेदार उनको नाम समानुपातिक सूचीमा खसआर्य कलस्टरमा पहिलो नम्बरमा थियो । उनको नाम खसआर्य कलस्टरमा पहिलो नम्बरमा सिफारिस भए पनि प्रदेशसभा प्रत्यक्ष निर्वाचनमा एकजना पनि महिला निर्वाचित नभएका कारण समानुपातिकमा एमालेले पाएको आठवटै सिटमा ८ जना महिला पठाउनुपर्याे। 

समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत विभिन्न राजनीतिक दलबाट सातवटै प्रदेशसभामा १ सय ७६ महिला पुगेका छन् । समानुपातिकतर्फ २ सय २० सिटमा ४४ जनामात्र पुरुष प्रदेशसभा सदस्य बनेका छन्। 

संविधानअनुसार ३३ प्रतिशत महिला अनिवार्य गरिएकाले महिलाको संख्या बढी देखिएको हो। दलहरुले आफूले  पाएको सिटमा महिला, दलित, आदिवासी जनजाति, खसआर्य, मधेसी, थारू, मुस्लिमको आरक्षण प्रतिशत छुट्याएर पठाएका छन्। 

प्रत्यक्ष निर्वाचनअन्तर्गत प्रदेशसभा सदस्यका लागि सातवटै प्रदेशका गरी ३ हजार २ सय ३९ उम्मेदवार थिए। त्यसमध्ये २ सय ४० जना महिला थिए । सातवटै प्रदेशमा गरी प्रत्यक्ष निर्वाचनअन्तर्गत १८ जना महिला विजयी भएका थिए। प्रत्यक्ष र समानुपातिक गरी १ सय ९४ जना महिला प्रदेशसभामा सदस्य छन् । प्रत्यक्षबाट ३ सय ३० जना र समानुपातिकबाट २ सय २० गरी ५ सय ५० जनाको प्रदेशसभा (सातवटै) मा करिब ३६ प्रतिशत महिला प्रतिनिधित्व हुने भएको छ।

समानुपातिकतर्फ प्राप्त मतका आधारमा प्रदेशसभामा एमालेले ७५ सिट पाएको छ । यसैगरी समानुपातिकतर्फ प्रदेशसभामा नेपाली कांग्रेसले ७२, माओवादी केन्द्रले ३५, संघीय समाजवादी फोरमले १३, राजपाले १२ सिट पाएका छन् । कुल मतको १.५ प्रतिशत मत ल्याउने दलले समानुपातिकतर्फ एकएक सिट पाएका छन् । राप्रपा, विवेकशील साझाले तीनतीन, राष्ट्रिय जनमोर्चाले २, नेपाल मजदुर किसान पार्टी, राप्रपा प्रजातान्त्रिक, नयाँ शक्ति पार्टी, संघीय लोकतान्त्रिक मञ्च, नेपाल संघीय समाजवादी पार्टीले एकएक सिट  पाएका छन्। 

समानुपातिकतर्फ एमालेले प्रदेशसभा सदस्यमा ७१ जना महिला र ४ पुरुष पठाएको छ । त्यसैगरी कांग्रेसले पाएको ७२ सिटमध्ये ४३ जना महिला, माओवादी केन्द्रले पाएको ३५ सिटमध्ये ३० जना महिलालाई प्रदेशसभा सदस्य बनाएका छन् । त्यस्तै समानुपातिकतर्फ संघीय समाजवादी फोरमले १२, राजपाले ९, राप्रपाले ३, राजमोले २ र अन्य साना दलले एकएकजना महिलालाई प्रदेशसभा सदस्य बनाएका छन्। 

समानुपातिकतर्फ एमालेले प्रदेश १ बाट सबैभन्दा धेरै महिलालाई सदस्य बनाएको छ । प्रदेश १ बाट १५, प्रदेश २ बाट ५, प्रदेश ३ बाट १६, प्रदेश ४ बाट ८, प्रदेश ५ बाट १३, प्रदेश ६ बाट ६ र प्रदेश ७ बाट ८ जना महिलालाई एमालेले प्रदेशसभा सदस्य बनाएको छ। 

समानुपातिकतर्फ प्रदेशसभामा विजयी उम्मेदवारलाई शुक्रबार निर्वाचन आयोगले प्रमाणपत्र प्रदान गरेको थियो। 

 

 

प्रकाशित: ७ माघ २०७४ ०१:४७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App