coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

१० घर ध्वस्त, पाँच परिवार विस्थापित

इलाम – चुलाचुली गाउँपालिका–५ का ललितकेन्द्र राईले सामान्य खेतीकिसानी गरेर परिवार पाल्दै आएका थिए। सानो घरमा परिवारसहित गुजारा गरिरहेका राईलाई अहिले हात्तीले उठिबास लाइदिएको छ । दुई दिनअघि आएका हात्तीको हुलले उनको टिनले छाएको घर पूरै भत्काइदिएपछि राई परिवार छिमेकीकहाँ शरण लिन बाध्य भएको छ।

उनकै छिमेकी मनु राईको घरमा पनि हात्तीको हुलले विध्वंश मच्चायो । हेर्दाहेर्दै घर भग्नावशेषमा परिणत गरिदियो । ‘हात्तीको हुल आएपछि हामी आत्तियौं, धन्न ज्यानचाहिँ बच्यो,’ उनले भने, ‘वर्षाैंदेखिको हात्तीको पिरलो फेरि सुरु भयो । बाँच्न नदिने भो हामीलाई।’ 

जंगली हात्तीको हुलले जिल्लाको चुलाचुली गाउँपालिकामा १० वटा घर भत्काइदिएको छ । ३ बिघामा लगाएको बाली पूर्ण क्षति भएको छ भने ४० भन्दा बढी परिवार हात्ती आक्रमणको जोखिममा छन ।

जंगली हात्तीको हुलले जिल्लाको चुलाचुली गाउँपालिकामा १० वटा घर भत्काइदिएको छ । ३ बिघामा लगाएको बाली पूर्ण क्षति भएको छ भने ४० भन्दा बढी परिवार हात्ती आक्रमणको जोखिममा छन् । नजिकैको जंगलबाट आएका हात्तीको बथानले घर भत्काउँदा बुधबार रातिसम्ममा चुलाचुली गाउँपालिका ४ र ५ का पाँच परिवार विस्थापित भएका छन् । घरमा क्षति पुगेका र जोखिममा रहेका परिवारलाई पनि गाउँपालिकाले घरमा नबस्न उर्दी गरेको छ।

हात्तीले चुलाचुली–५ का ललितकेन्द्र राई, मनु राई, सञ्जय बस्नेत, होमनाथ अधिकारी, नेत्रप्रसाद बाँस्कोटा, वडा नं. ४ का पदमकुमार एवा, मानबहादुर लिम्बू, सुमन लिम्बू, चन्द्रकुमार लिम्बू र नरबहादुर भुजेलको घर भत्काएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल खतिवडाले बताए । ‘ललितकेन्द्र, मनु, सञ्जय, मानबहादुर र सुमनको घर पूर्ण रूपमा ध्वस्त भएको पाइयो,’ घटनास्थल निरीक्षण गरेर फर्केका खतिवडाले भने, ‘पूर्ण रूपमा घर क्षति भएका परिवार छिमेकीकहाँ शरण लिएर बसेका छन् । चन्द्रकुमारको घरको भान्सा भत्काएको र टेकबहादुर दाहालको घरमा पनि क्षति गरेको रहेछ।’ 

गाउँका ४० भन्दा बढी परिवार हात्तीको जोखिममा रहे पनि केही परिवारलाई घरमा नबस्न आग्रह गरेको उनले बताए । ‘पुस २६ गतेभन्दा पछि दिनहुँ हात्ती गाउँमा आएर क्षति गरिरहेकाले केही परिवारलाई घरमा नबस्न भनेका छौं,’ उनले भने, ‘यहाँको २० बिघाभन्दा बढी जमिनमा घर बनाएका बासिन्दाले हात्तीका कारण गाउँ छाड्नुपर्ने अवस्था देखिन्छ ।’ विस्थापितलाई स्थानीय क्लबले बिहीबार चामल र भाँडाकुँडा दिएका छन् । चुलाचुली गाउँपालिकाका अध्यक्ष प्रदीपचन्द्र राईले पीडितकहाँ पुगेर उनीहरूलाई राहत वितरण गरे।

झापाको बेलडाँगीछेउ हम्सेदुम्से वनबाट आएका ७ जंगली हात्तीले गाउँमा आतंक मच्चाएको खतिवडाले बताए । ‘त्यो जंगलमा ७ वटा हात्तीको बासस्थान रहेको र हरेक वर्ष गाउँ पसेर कुनै न कुनै क्षति गरेको स्थानीयले गुनासो गरे,’ उनले सुनाए, ‘वडा नं. ५ का टेकबहादुर बस्नेतको २ कट्ठामा लगाएको बाली पूर्ण क्षति गरेको र यही वडाका होमनाथ अधिकारीको घरभित्रै हात्ती पसेको पनि थाहा पाइयो।’ 

जिल्लाको दक्षिणी भूभाग भारत र झापासँग जोडिएको छ । भारत सहित झापाका बाहुनडाँडी, शान्तिनगर, मेचीनगरलगायतको भूभागसँग जोडिएकाले त्यही बाटो हुँदै इलाममा हात्ती छिरेका हुन् । जंगली हात्तीको बथान नै पसेर सर्वसाधारणमाथि आक्रमण गर्दा मानिसको मृत्यु हुने, आक्रमणले अंगभंग हुने, घर र बालीनालीसमेत क्षति गरिदिँदा स्थानीय समस्यामा परिरहेका छन् । लक्ष्मीपुरको थाक्ले, रोङ गाउँपालिकाको बहुवन, पाटापुर, चुलाचुलीको कमल, बाँझो र साकफाराको तल्लो भेगमा बर्सेनि हात्तीले क्षति पुर्याउने गरेको छ।

चुलाचुलीबासीका अनुसार यसपटक नजिकैको वनबाट आएका हात्तीको हुलमा छावा पनि थिए । हात्तीको हुल गाउँ आएका बेला सर्वसाधारणका घरमा पहिला छावा पस्ने र तिनलाई नदेख्दा माउले घरै भत्काइदिने घटना धेरैतिर देखिएको छ । ‘यो वर्ष छावासहितका हात्ती गाउँ छिरेका छन् । छावा घरभित्र पसेपछि माउले खोज्ने र नदेखेपछि आक्रोशित भएर घर भत्काइदिएको पाइयो,’ चुलाचुली गाउँपालिका–५ का वडाध्यक्ष चन्द्रकुमार थापाले नागरिकसँग भने, ‘बच्चा घरबाट निस्किए पनि हात्तीले घर भने भत्काउन छाडेन । धेरै घर भत्किनुको कारण यही देखिएको छ ।’  उनले बितेका १२ दिनमा हात्तीले आफ्नो वडामा मात्रै लाखौं रुपैयाँबराबरको क्षति गरेको र आधादर्जन परिवार विस्थापित गराएको जानकारी दिए । ‘यहाँ आएका हात्तीको हुलले धान, मकै, गहुँ, कोदो, आलु खाएर क्षति गरेको छ भने गोलभेडा कुल्चेर कच्याककुचुक पारेको छ,’ उनले भने, ‘यही वडाका टेकबहादुर दाहालको धानको कुन्युँ हात्तीको हुलै पसेर सखाप पारिदिएको छ।’

गएको असारमा चुलाचुलीको मोरंगेझोडाका ३६ वर्षीय देवीलाल राईलाई हात्तीले बाटो हिँड्दै गर्दा आक्रमण गरी मारेको थियो । राति १० बजेतिर बाटामा हात्तीसँग एक्कासि जम्काभेट हुँदा उनको घटनास्थलमै मृत्यु भएको थियो । आर्थिक अवस्था दयनीय भएका राई हात्ती आक्रमणमा मारिएपछि ३ छोराछोरी र श्रीमतीलाई गुजारा गर्न धौधौ छ । गत भदौमा चुलाचुलीकै ५८ वर्षे धनबहादुर श्रेष्ठलाई हात्तीले आक्रमण गरी मारेको थियो । घरको बरन्डामा सुतिरहेका श्रेष्ठलाई राति १ बजेतिर हात्तीले आक्रमण गरी घटनास्थलमै मारेको चुलाचुली गाउँपालिका–२ का वडाध्यक्ष रनबहादुर लिम्बूले बताए। 

‘गाउँमा हात्ती आक्रमणमा मारिएका व्यक्तिका परिवारले क्षतिपूर्तिसमेत पाएका छैनन्,’ वडाध्यक्ष लिम्बूले भने, ‘बालीनाली क्षतिको त झन् हिसाब गरेर साध्य छैन । हात्तीले मारेका व्यक्तिका परिवार राहत नपाउँदा बिजोकले बाँच्नुपरेको छ ।’ त्यसअघि पनि गाउँमा दर्जनौंपटक हात्तीले आक्रमण गरी मानिसको मृत्यु भइसकेको उनले बताए। चुलाचुली–१ का वडाध्यक्ष ध्रुव लावतीले हात्तीले यहाँका विशेषगरी ४ र ५ वडाका बासिन्दालाई उठिबास लगाएको बताए । उनले सर्वसाधारणलाई थाहै नदिई आउने हात्तीबाट बच्न कुनै उपायले पनि नभ्याएको गुनासो गरे।

भारतसँग सीमा जोडिएको रोङ गाउँपालिकास्थित बहुवनमा पनि बर्सेनि हात्तीले मानिसमाथि आक्रमण र हजारौं बिघामा लगाएको खेती नष्ट गर्ने गरेको स्थानीय अगुवा वृहस्पति खतिवडाले बताए। गतवर्ष बहुवनका रमेश गुरुङ, डिल्ली खतिवडा र रमेश खतिवडालाई हात्तीले एकैपटक आक्रमण गरी सख्त घाइते बनाएको थियो । गम्भीर घाइते भएका गुरुङले उपचारमा करिब लाख रुपैयाँ खर्च गरे । खतिवडाद्वय पनि उपचार गराएर घर फर्किएका छन् । ‘सालिन्दा हात्तीको हुल गाउँ आउँछ, सबैलाई भागाभाग बनाउँछ,’ वृहस्पतिले सुनाए, ‘वर्षभरिका लागि लगाएको बाली एकैछाक बनाएर जान्छ । कुन सिजनमा हात्ती आउँछ भन्ने पत्तो हुँदैन । बाली पाकेका बेला एकैचोटि गाउँ पसेको हात्तीले सबै फसल नष्ट पारिदिन्छ।’ 

उनले हात्ती आक्रमणबाट जोगाइदिन र बालीनालीको क्षतिपूर्तिका लागि दर्जनौंपटक सरकारी निकाय धाए पनि सुनुवाइ नभएको गुनासो गरे। ‘पोहोर छिमेकी टुकबहादुर सुब्बाको घर भत्कायो, मेरै खेतको १५ मन धान खाइदियो, बर्सेनि घर भत्काउने, बालीमा क्षति गर्ने हात्तीको नियमित काम नै भएको छ,’ उनले भने, ‘सर्वसाधारण किसानलाई बसाइँ हिँडाउने भो हात्तीले।’

हात्तीले गत जेठमा बाँझो गाउँका सुमन राईलाई आक्रमण गरी घाइते बनाएको थियो । घरमै आएको हात्तीले उनको घरसमेत भत्काइदिएको स्थानीय अमृत लिम्बूले बताए । गत वर्ष नै महमाईको सुसुलीका मोहनबहादुर आङ्देम्बेको घर हात्तीले भत्कायो भने उनको घरमा रहेका विजय लिम्बूको परिवार त्यहाँबाट बसाइँ सर्न बाध्य भयो । ‘हात्तीको निरन्तरको आक्रमण र भयले लिम्बूको परिवार मोरङतिर जान बाध्य भयो,’ महमाईका सन्तराम योङहाङले भने।

प्रकाशित: ७ माघ २०७४ ०२:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App