७ वैशाख २०८१ शुक्रबार
राजनीति

मैथिली र भोजपुरीमा शपथ खाने बढी, पहिलो अधिवेशन माघ २१ गते

जनकपुरमा शपथ ग्रहण गर्दै प्रदेशसभा सदस्य । तस्बिरः सुरेश यादव

जनकपुरधाम – दुई नम्बर प्रदेश सभाका सदस्यहरूले आइतबार जनकपुरमा एक समारोहबीच पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । जनकपुर उद्योग वाणिज्य संघको राजर्षीजनक सभागृहमा आयोजित समारोहमा यस प्रदेशका सबै १ सय ७ सदस्य सहभागी भए।
  
प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले सभाका ज्येष्ठ सदस्य ललनलाल चौधरीलाई नेपाली भाषामा शपथ ग्रहण गराए लगत्तै चौधरीले सभाका अन्य १ सय ६ सदस्यलाई शपथ खुवाएपछि सभाको पहिलो अधिवेशनको मिति र स्थान तोक्दै समारोह सम्पन्न भयो । ७५ वर्षीय चौधरी एमालेका विधायक हुन्।

शपथ ग्रहणको क्रममा प्रदेश प्रमुखले नेपाली भाषामा शपथ खुवाउने भनिएपछि केहीबेरसम्म सभा सदस्यहरूले मातृभाषामा शपथ ग्रहणको व्यवस्था गर्नुपर्ने दबाव दिँदै होहल्ला गरेका थिए। करिब दश मिनेटपछि समारोहका सञ्चालक प्रमुख जिल्ला अधिकारी दिलिपकुमार चापागाईले हरेक सदस्यले आ–आफ्नो मातृभाषामा शपथ खान पाउने व्यवस्था रहेको उल्लेख गर्दै सोही बमोजिम गर्न आग्रह गरेपछि कार्यक्रम अघि बढेको थियो। 

प्रदेश प्रमुख कायस्थले नेपाली सभाका ज्येष्ठ सदस्य चौधरीलाई नेपाली भाषामा शपथ खुवाएपछि चौधरीले पनि अन्य सदस्यहरुलाई शपथ ग्रहण गराउँदा नेपाली भाषामा नै लिखत वाचन गरेका थिए । सदस्यहरुले भने नेपाली, मैथिली, भोजपुरी र हिन्दी लगायत भाषामा शपथ ग्रहण गरेको कार्यक्रम सञ्चालक प्रजिअ चापागाईले बताए। उनका अनुसार कुल १ सय ७ सदस्यमध्ये सबैभन्दा बढी मैथिली भाषामा ४७, भोजपुरीमा २५, नेपालीमा २४ र हिन्दीमा ११ जनाले शपथ ग्रहण गरे।

कार्यक्रम सञ्चालन गरिरहँदा कयौपटक त्रुटी दोहोरिएको थियो । सपथ ग्रहण र प्रदेश सभाको पहिलो अधिवेशन बस्न मिति, समय तथा स्थान समेत तोकेर लगभग समारोहको अन्त्यमा सहिदहरूको स्मरणमा मौनधारण गरियो । कार्यक्रम समापन गर्नै लाग्दा सभाबाट एक विधायकले उठेर मौनधारण गर्न छुटेको आवाज उठाएपछि कार्यक्रम तालिका बनाउन कमजोरी भएको स्वीकार्दै प्रजिअले भने, ‘गर्दै जाउ सिक्दै जाउ नीति लिएर अघि बढ्न आग्रह गर्छु र हामीले यो अवस्थासम्म आइपुग्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेका सहिदहरूको स्मरणमा एक मिनेट मौनधारण गर्न अनुरोध गर्छु।’

शपथ ग्रहण कार्यक्रमको अन्त्यमा प्रदेश प्रमुख कायस्थले प्रदेससभाको प्रथम अधिवेशन यही माघ २१ गते बिहान ११ बजे जनकपुरस्थित शैक्षिक तालिम केन्द्रमा बस्ने निर्णय गरेको जनाए । 

 

प्रकाशित: ७ माघ २०७४ ०७:०० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App