६ वैशाख २०८१ बिहीबार
कला

प्रदर्शन मिति नजिकिँदा ‘पद्मावत’ को विरोध बढ्दो

मुम्बई – सञ्जयलिला भन्सालीको विवादित फिल्म ‘पद्मावती’को विरोध बढिरहेको छ। जनवरी २५ मा प्रदर्शन हुने फिल्मको रिलिज मिति नजिकिँदा विरोध उग्र बनेको हो।

भारतीय सञ्चारमाध्यमका अनुसार सिनेमा हल तोडफोडदेखि बसमा आगजनी, राजमार्ग बन्द गर्ने गतिविधि तथा प्रदर्शन गर्न दिन आदेश दिने सर्वाेच्च अदालतमा आगो लगाउनेसम्मको धम्की आइरहेको छ।

फिल्मको सुरुदेखि नै विरोध गरिरहेको राजपूत करणी सेनाले इतिहास तोडमोड गर्ने फिल्म प्रदर्शन गर्न खोजेको भन्दै थियटरमा तोडफोड गरेको छ भने राज्य सरकारलाई दबाब दिन बसमा आगजनी र राजमार्ग र रेलमार्ग बन्द जस्ता गतिविधी बढाएको छ। यसका अलावा फिल्म रिलिज हुने दिन (२५ जनवरी)मा भारत बन्दको घोषणा गरेको छ।

यस्तै, बरेलीमा अखिल भारत क्षेत्रीय महासभाले पत्रकार सम्मेलन गरेरै फिल्म प्रदर्शनमा आए सर्वाेच्च अदालतमा आगो लगाउने धम्की दिएको छ। साथै फिल्म रोकाउन गृहमन्त्री राजनाथ सिंहको घर घेराउ गर्ने महासभाका प्रदेश अध्यक्ष भुवनेश्वर सिंहले बताए।

यस्तै, ‘पद्मावती’को प्रदर्शन रोक्न मध्य प्रदेशको राज्य सरकार सर्वाेच्च अदालत जाने भएको छ। मुख्यमन्त्री शिवराज सिंह चौहानले फिल्मको प्रदर्शनमा रोक लगाउन एकपटक अदालत जाने बताएका छन्।

राजपूत समाजको दबाबपछि चौहान नेतृत्वको राज्य सरकारले दुई महिनाअघि नै फिल्मको प्रदर्शनमा रोक लगाएको थियो। तर, उक्त निर्णयलाई सर्वाेच्चले खारेज गरेको थियो।

विवादकै कारण अघिल्लो डिसेम्बर १ मा प्रदर्शनमा आउन नसकेको फिल्ममा रणवीर सिंह, दीपिका पादुकोण, शाहिद कपुरको मुख्य भुमिका रहेको छ।

प्रकाशित: ७ माघ २०७४ १०:४१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App