coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

नयाँ सरकारले प्रदेश प्रमुख हटाउँछ : एमाले नेता

काठमाडौं – नेकपा एमालेका नेता रघुवीर महासेठले माओवादी र एमालेबीचको एकता नजिक पुगेको बताएका छन्। महासेठले एकताका लागि कुनै विवाद नभएको भन्दै सरकार बनाउनुअघि नै एकता गरिने दाबी गरे।

एकतापछि प्रधानमन्त्री र पार्टी अध्यक्ष को बन्ने ? भन्ने विषयमा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच सहमति भइसकेको खुलासा गरे। योग्यताअनुसार कार्यविभाजन गरेर पार्टी एकता गरिने महासेठको भनाई थियो। उनले जनताको बहुदलीय जनवादलाई नै मुख्य आधार मानेर पार्टी एकता हुने भएकोले त्यसलाई छाडेर एकता हुनै नसक्ने स्पष्ट पारे।

पूर्वमन्त्री समेत रहेका नेता महासेठले कांग्रेसले जनमत गुमाइसकेपछि पनि सत्ता छाड्न नसकेको आरोप लगाए। संविधानमा भएका त्रुटीलाई प्रयोग गरेर सरकार र निर्वाचन आयोगले गलत काम गरेको उनको आरोप थियो।

‘प्रदेश प्रमुखलाई निरन्तरता दिँदैनौं’

उनले सरकारले अयोग्य र विवादित व्यक्तिलाई प्रदेश प्रमुखमा नियुक्ति गरेको आरोप लगाउँदै नयाँ सरकारले त्यसलाई निरन्तरता नदिने बताए। ‘विवादित र पार्टीको मान्छेलाई प्रदेश प्रमुख बनाइएको छ। हामी मान्दैनौँ। देशका लागि अहित हुने र कानुन विपरितका सबै निर्णय खारेज हुन्छ,’ उनले भने।

उनले चुनावमा जनादेश गुमाइसकेपनि यो सरकार देशलाई कसरी लुट्न सकिन्छ भन्नेमा केन्द्रित रहेको र  राजश्वको दुरुपयोग गर्ने, दीर्घकालिन असर पार्ने निर्णय गर्ने तथा सत्ता लम्ब्याउने खेलमा लागेको  आरोप लगाए।

राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरमले मधेशका मुद्दालाई हतियार बनाएर राजनीति गरेको उनको आरोप थियो । मधेशको मुद्दा एमालेले मात्रै समाधान गर्न सक्ने जिकिर गर्दै उनले अबको दिनमा मधेशवादी दलले एमालेसँग सहकार्य गर्नुपर्ने बताए। ‘अब कांग्रेससँग मिलेर मधेशवादी दललाई फाइदा छैन। सरकारमा पनि सहकार्य गर्न हामी तयार छौँ,’ महासेठले भने।

प्रकाशित: ७ माघ २०७४ ११:४६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App