रुवान्डाको जातीय नरसंहार, आर्थिक प्रगति र नेपाल

आइतबार, ०७ माघ २०७४, १९ : ३२ डा गोपाल गिरी


सहारा मरुभूमिको दक्षिणमा पर्ने रुवान्डा अफ्रिका महादेशको एक सानो, भूपरिवेष्ठित र विपन्न मुलुक हो। सन् १९९४ मा यहाँ भएको जातीय नरसंहारले संसारका धेरै देशहरूको ध्यान आकर्षित गर्‍यो। मानवतासम्बन्धी सूचकांकमा निम्न दर्जामा पर्ने र गरिबीले आक्रान्त पारेको देश उक्त घटनापश्चात संसारको एक तीव्र आर्थिक विकास गर्ने मुलुकमध्येको एक भनेर चर्चामा छ। रुवान्डालाई चर्चाको यो शिखरमा पु¥याउने व्यक्ति हुन् वहालवाला राष्ट्रपति पउल कगामे। उनको छवि अफ्रिकामा कुनै ख्याति प्राप्त रक स्टारको भन्दा कम छैन । उनी सत्तामा आएपश्चात रुवान्डालीहरूको आम्दानी तीन गुनाले वृद्धि भएको छ भने गरिबीको रेखामुनि रहेको जनसंख्या प्रत्येक वर्ष घटिरहेको छ।

हुतु बाहुल्य रुवान्डामा अल्पसंख्यक तुत्सी जातिको जनसंख्या कुल जनसंख्याको ८ प्रतिशत मात्रै रहेको छ। १९९४ अप्रिल ६ मा हुतु जातिका राष्ट्रपति सवार विमानमा रकेट आक्रमणबाट उनको निधन भएपश्चात जातीय नरसंहार सुरु भएको थियो । रुवान्डाको हुतु बाहुल्य सैनिकले यसको दोष तुत्सी समुदायलाई लगायो । विमान दुर्घटना भएपश्चात हुतु नियन्त्रित रेडियोबाट एकातिर तुत्सीहरूको निर्मूल गर्ने सन्देश प्रसारण हुँदै थियो भने तुत्सीहरूको हत्या गर्न अर्कोतिर रुवान्डाली सैनिकले हुतु सर्वसाधारणलाई खुँडा तथा काठका मुंग्राहरू वितरण गरिरहेको थियो । तुत्सीमाथि दयाभाव देखाउने हुतुसमेतको हत्या गर्ने आदेश दिइएको थियो । त्यसैले हुतु श्रीमान्ले समेत आफ्नी तुत्सी श्रीमतिको हत्या गरे । आफ्नै छिमेकी हुतुहरूको खुँडा तथा काठको मुंग्राको प्रहारबाट धेरैजसो तुत्सीहरूको हत्या हुन पुग्यो । यसरी दुई जातिहरूको मारकाटबाट करिब १० लाख मानिसहरू मारिए ।

अफ्रिका महादेशमा फरक फरक भाषा र संस्कृति भए पनि रुवान्डामा भने सबैको भाषा र संस्कृति एउटै थियो । हुतु र तुत्सी भन्ने कुरा जनजनको बोली थिएन । बीसौं शताब्दीमा जब रुवान्डा बेल्जियमको उपनिवेश बन्यो तबमात्र हुतु र तुत्सी भन्ने जातिहरू सतहमा ल्याइए । नाकको आकार, आँखाको रंग तथा अन्य जातीय गुणको आधारमा मानिसलाई हुतु र तुत्सी जातिमा विभक्त गरियो । छोटो र थेप्चो नाक, होचो कद र बढी कालो वर्णका मानिसलाई हुतु भएको र लामो नाक, अग्लो शरीर र केही सेतो छाला भएकालाई तुत्सी जात भिराएर त्यसको परिचयपत्रसमेत दिइयो । बास्तवमा पश्चिमाहरू ‘फुटाउ र राज गर’को नीति अंगीकार गर्दथे र त्यो नीति अद्यापि जारी छ । नेपालमा प्रथम संविधानसभाको चुनावताका तीव्र भएको जातीय विद्वेषलाई यसैको सेरोफेरोमा रहेर बुझ्न सकिन्छ ।

विभाजनपश्चात बेल्जियनहरूले सरकारी सेवा, चुनाव आदि विविध विषयमा कहिले तुत्सी त कहिले हुतुलाई प्राथमिकता दिँदा दुई समुदायबीच वैमनश्य बढ्दै गयो । रुवान्डा सन् १९६२ मा स्वतन्त्र हुँदा हुतु र तुत्सीहरूबीचको शत्रुता उत्कर्षमा पुगिसकेको थियो । अन्ततः पटकपटक हुतु तथा तुत्सीहरू मारकाटमा उत्रिए । जातीय हिंसाका कारण दुवै जातिका मानिसहरू छिमेकी देशहरूमा शरण लिएर बस्न थाले । छिमेकी देश युगान्डाको शरणार्थी शिविरमा हुर्केबढेका तुत्सी जातिका पउल कगामे पनि एक शरणार्थी थिए जो रुवान्डा प्याट्रिओटिक फ्रन्ट भन्ने समूहसँग आबद्ध हुँदै यसको प्रमुखसमेत भए । पछि यो समूहले राजनीतिक पार्टीको स्वरूप लिँदै यसै पार्टीबाट कगामे सन् २००० देखि हालसम्म रुवान्डाको राष्ट्रपति पदमा कायम छन् ।

सन् १९९४ को तुत्सीमाथि भएको जातीय नरसंहारपछि कगामेको नेतृत्वको सेनाले रुवान्डाको धेरै भूभाग आफ्नो नियन्त्रणमा लियो । हुतु सरकारको पतनपश्चात जातीय नरसंहार पनि अन्त्य भयो । मेलमिलाप नीतिअनुसार हुतुको नेतृत्वमा नयाँ सरकार गठन भयो जसमा तुत्सी जातिका पउल कगामे उपराष्ट्रपति बने।

बचेका मानिसलाई आफ्ना परिवारका सदस्यको हत्या गरेका छिमेकीसँगै मिलेर बस्नुपर्ने भएकोले नयाँ गठित सरकारलाई जातीयरूपमा विभाजित देशलाई भावनात्मकरूपमा एकीकरण गर्नु ठूलो चुनौती थियो । त्यस्तैगरी अति विपन्न मुलुकको श्रेणीमा पर्ने देशलाई आर्थिक विकासको मार्गमा लैजानुपर्ने अर्को चुनौती थियो । तर सोचेजस्तो हुन सकेन । जातीय हिंसाले कमजोर आर्थिक स्थिति भएको देशलाई भ्रष्टाचारले अझै कमजोर बनाउँदै लग्यो । देशमा सरकारले मानवअधिकार र जातीय सहिष्णुता कायम गर्न सकेन । यसैबीच उपराष्ट्रपति पउल कगामेले आफ्नो कार्य कुशलताबाट जनताको मन जित्न सफल भइसकेका थिए । उच्च राजनीतिक महत्वाकांक्षा र जनताको आफूप्रतिको प्राप्त विश्वासको फाइदा उठाउँदै कगामेले सन् २००० मा राष्ट्रपतिलाई राजीनामा दिन बाध्य तुल्याए र विनानिर्वाचन आफू देशको राष्ट्रपति बने ।

स्पष्ट दुई उद्देश्यहरूको घोषणासहित कगामे सत्तामा आएका थिए । ती थिए जातीय नरसंहारबाट छिन्नभिन्न भएको रुवान्डाली समाजको एकीकरण गर्नु र गरिबीको दुस्चक्रबाट देशलाई बाहिर निकाल्नु ।

उनले संविधानमै व्यवस्था गरेर तुत्सी र हुतु शब्दले व्यक्तिको पहिचान गर्न प्रतिबन्ध लगाए । कुनै पनि व्यक्ति, सञ्चार माध्यम, संस्थाहरूलाई जातजातिमा विग्रह ल्याउने कुरा उल्लेख गर्न र विगतको कुरा खोतल्न निषेध गरे । सोको निगरानी गर्न प्रहरी र सैनिहरूलाई देशका कुनाकुनामा परिचालन गरे । अहिले रुवान्डाका गल्लीहरू कुनै पनि बेला हिँडडुल गर्न सुरक्षित मानिन्छन् ।

 उनले जनताको आकांक्षा र दृष्टिकोण बुझ्न देश भ्रमण गरे । आफ्नो सल्लाहकार टोलीसहित छोटो समयमै तीव्र गतिले आर्थिक प्रगति गरेका देश चीन, थाइल्यान्ड र सिंगापुरसमेतको भ्रमण गरे । उनले ती देशहरूका राजनीतिज्ञ, अर्थशास्त्री र राष्ट्रसेवकहरूसँग गरेको बैठकबाट देशलाई छिट्टै समृद्ध बनाउने सूत्रहरू आफ्नो नोटबुकमा उतारे र स्वदेश फर्के । कगामेको त्यही नोटबुक नै रुवान्डाको नयाँ संविधानको आधार बन्यो र रुवान्डा भिजन २०२० पनि । भिजन २०२० रुवान्डा सरकारको दुई दशकभित्र एक विपन्न मुलुकलाई मध्यमस्तरको आय भएको, शान्त, आधुनिक र गरिबविहीन मुलुकमा रूपान्तरण गर्ने विकास योजना हो । यसले ४४ वटा स्पस्ट उद्देश्यहरूको किटान गरेको छ । प्रत्येक उद्देश्यको प्रगतिको स्वतन्त्र र निष्पक्षरूपले मापन र विश्लेषण गर्ने संयन्त्र तयार गरिएको छ ।

त्यस्तैगरी रुवान्डाको संविधानले हरेक सरकारी स्वामित्वका संस्थाहरूमा ५० प्रतिशत महिला सहभागिताको सुनिश्चता र बाध्यात्मक व्यवस्था गरेको छ । फलस्वरूप संसारका धेरै देशमध्ये रुवान्डाको संसद्मा महिलाहरूको उपस्थिति बाक्लो छ । महिला तथा पुरुषको ज्यालामा हुने अन्तर संसारकै सामाजिक न्यायमा अग्रणी मानिने देश डेनमार्कको भन्दा पनि न्यून छ ।

कगामेले सत्ता सम्हालेको १७ वर्षको अवधिमा रुवान्डाको कुल गार्हस्थ्य उत्पादन हरेकवर्ष औसत ८ प्रतिशतको दरले वृद्धि भइरहेको छ । ८० प्रतिशतभन्दा बढी जनता निर्वाहमुखी कृषि पेसामा आश्रित देशमा सरकारले कृषिको उत्पादन र उत्पादकत्व बढाउन विद्युत तथा सडक सञ्जाल विस्तार गरिरहेको छ । दुई दिनमै नयाँ कम्पनी स्थापनाको लागि सम्पूर्ण कागजी तथा प्रशासनिक प्रक्रिया पूरा गर्न सकिने भएकाले देशमा प्रशस्त विदेशी पुँजी भित्रिरहेको छ र मानिसहरू मारिएका सडक तथा गल्लीहरूमा नयाँ नयाँ कम्पनी तथा उद्योगहरू स्थापना भएका छन् । यिनै उपलब्धिका कारण सन् २०१७ मा कगामे ९८.७९ प्रतिशतभन्दा बढी मत ल्याई अर्को ७ वर्षका लागि पुनः राष्ट्रपतिमा निर्वाचित भएका छन् ।

कुनै पनि व्यक्ति र राजनीतिक दलहरूले रुवान्डामा आफ्ना विचारहरू स्वतन्त्रतापूर्वक राख्न पाउँदैनन् । यतिसम्म कि सरकारको आलोचना गर्नसमेत निषेध गरिएको छ । जो राष्ट्रपति १७ वर्षदेखि शासनमा छ र कुल मतको ९५ प्रतिशतभन्दा बढी मत ल्याएर चुनाव जित्छ भने रुवान्डामा कुनै प्रजातन्त्र छ र त्यहाँ स्वच्छ र निष्पक्ष चुनाव हुने गर्छ भनेर पनि प्रतिप्रश्न गर्ने गरिन्छ । तर उनले देशलाई क्रमशः गरिबीको दुस्चक्रबाट बाहिर निकाल्न सफल हुँदै गएको र रुवान्डाले गरेको आर्थिक विकासले सम्पूर्ण विश्वको ध्यान खिचिरहेको तथ्य यथार्थ हो ।

वास्तवमा देशमा शान्ति, समृद्धि र विकास भाषण गर्दैमा र चुनावी घोषणापत्रमा उल्लेख गर्दैमा आउने पक्कै होइन । यसका लागि दूरदर्शी, असल नियत र दृढ इच्छाशक्ति भएको, राष्ट्र र जनतालाई सर्वोपरि ठान्ने नेतृत्वको खाँचो आवश्यक छ । रुवान्डाको आर्थिक विकास र प्रगतिलाई यसको ज्वलन्त उदाहरणको रूपमा लिन सकिन्छ ।

 

 





यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

नयाँ सवारी दर्ता गर्ने प्रक्रिया

नयाँ सवारी दर्ता गर्ने प्रक्रिया

नयाँ सवारी खरिद गरिसके पछि सो सवारी सडकमा चलाउनु अगाडी नै दर्ता गरिसकेको हुनुपर्छ | ग्राहकलाइ सजिलो होस् भनेर दर्ता...

कस्तो किसिमको गाडी किन्नु ठीक होला त ?

कस्तो किसिमको गाडी किन्नु ठीक होला त ?

गाडीको बनावटमा आधारित गाइड ...

किन गर्ने गाडीको बिमा?

किन गर्ने गाडीको बिमा?

भविष्यमा हुन सक्ने दुर्घटनाको बारे हामी अनविज्ञ छौं । तेस्रो पक्षको सवारी विमा गरेर यस्तो दुर्घटनाको क्षति कसरी न्यूनीकरण गर्न...

जाडो मौसममा गाडीमा आउन सक्ने समस्याहरुको समाधान

जाडो मौसममा गाडीमा आउन सक्ने समस्याहरुको समाधान

जान्नुहोस् केहि रोचक जुक्ति र ह्याकहरु जसबाट तपाइले गाडीमा आइपर्ने जाडो सम्बन्धि समस्याहरुबाट छुटकारा पाउन सक्नुहुन्छ ...

१०७ भत्किए, तीन मात्रै बने

काठमाडौं महानगरपालिका क्षेत्रमा भूकम्पले भत्किएका १०७ सम्पदामध्ये तीन मात्रै पुनर्निर्माण सम्पन्न भएका छन् । भूकम्प गएको तीन वर्ष बित्न लाग्दा...

‘पञ्चेबाजा’ लाई ‘साढे ७’

‘पञ्चेबाजा’ लाई ‘साढे ७’

स्वेता खड्काको निर्माणमा बनेको फिल्म ‘कान्छी’ प्रदर्शन भइरहँदा शुक्रबारबाट हलमा दुई नेपाली फिल्म ‘पञ्चेबाजा’ र ‘साढे ७’ थपिएका छन् ।...

सुविनको ‘फूलबारी’ लोकार्पण

सुविनको ‘फूलबारी’ लोकार्पण

सुविन रिमाल ‘प्रशान्त’द्वारा लिखित ‘फूलबारी’ बालकविता संग्रहको लोकार्पण गरिएको छ । नुवाकोट साहित्य प्रतिष्ठानले १२ वर्षे रिमाल अध्ययन गर्दै आएको...

लम्सालको ‘पेनाल’ महाकाव्य

साहित्यकार देवेन्द्र लम्सालद्वारा रचित ‘पेनाल’ महाकाव्य सार्वजनिक भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले स्याङजा साहित्य परिषद्ले राजधानीमा...