६ वैशाख २०८१ बिहीबार
राजनीति

दिपायल आन्दोलनको स्वरुप फेरियो, यातायात र बजार खुल्यो

डोटी – सात नम्बर प्रदेशको राजधानी दिपायल माग्दै २६ दिनदेखि जारी आन्दोलनको स्वरुप फेरिएको छ। आसन्न राष्ट्रिय सभा निर्वाचनलाई ‘उपयोग’को रणनीति अनुसार संघर्ष समितिले स्वरुप फेर्ने निर्णय गरेको हो। डोटीमा भैरहेको आन्दोलनलाई मध्यनजर गर्दै निर्वाचन आयोगले राष्ट्रिय सभाको लागि डोटीमा खुलेको निर्वाचन अधिकृतको कार्यालय सार्ने तयारी गरिरहेको थियो।

तर, संघर्ष समितिले निर्वाचन डोटीमै गर्नेगरी बाताबरण तयार गर्ने निर्णय गरेको छ। मतदानका लागि जिल्लामा आउने प्रदेश सभाका सांसद तथा जनप्रतिनिधीहरुलाई दिपायलका पक्षमा पार्न ‘लबिङ’ गर्ने रणनीति अनुसार अघि बढ्ने निर्णय गरिएको छ।

‘हामी डोटीमै निर्वाचन गराउन निर्वाचन आयोगलाई सहयोग गर्छौ,’ संघर्ष समितिका संयोजक नरेन्द्र खड्काले भने, ‘यसका लागि वाताबरण तयार गर्न हामीले संघर्षको स्वरुप फेर्दैछौं।’ राष्ट्रिय सभा निर्वाचनलाई उपयोग गर्ने रणनीति अनुसार निर्वाचनको वाताबरण तयार गरिएको उनले बताए। ‘राष्ट्रिय सभाको निर्वाचनलाई हामीले अवसरका रुपमा प्रयोग गर्नसक्छौ,’ उनले भने, ‘यसमा हामीले पुरै प्रदेशभरी जनप्रतिनिधि तथा प्रदेश सांसद ज्यूहरुलाई आथित्यता प्रदान गर्दै दिपायल राजधानीको औचित्यबारे पर्याप्त छलफल गरेर आफ्नो पक्षमा ल्याउने प्रयत्न गर्नसक्छौ।’

सोही कुरालाई स्थानीय नेताहरुले पनि स्वीकारेका छन्। ‘सरकारले आँखा चिम्लिएपनि प्रदेश संसदबाट हाम्रो स्वार्थ(राजधानी) पाउन सक्छौ। जसका लागि उहाँहरुसंग छलफल पनि आबश्यक छ,’ नेकपा एमाले डोटीका अध्यक्ष चक्र मल्ल भन्छन्, ‘यसमा राष्ट्रिय सभाको निर्वाचन हाम्रो अवसर हुनसक्छ। किनकी चुनावले सबैलाई एकैसाथ डोटी भित्र्याउँदैछ। जसमा सांसद र स्थानीय प्रतिनिधिहरुसंग बसेर घनीभूत छलफल गर्नसक्छौ।’

छलफल सकारात्मक हुनसके भौगोलिक रुपमा ७ वटै पहाडी जिल्ला र तराईका बौद्धिक सांसद र जनप्रतिनिधीहरुलाई आफ्नो पक्षमा पार्नसकिने नेपाली कांग्रेस डोटीका पूर्ब उपसभापति रामप्रसाद उपाध्यायले तर्क गरे। ‘पहाडी जिल्लाको ऐक्यबद्धता छ भन्ने हाम्रो बुझाई हो। यसका लागि उहाँहरुसंग अझ छलफल जरुरी छ। जुन यो निर्वाचनले जुराउँदैछ,’ उनले भने, ‘अझ तराईमा रहेका बौद्धिक सांसदहरु छन्। जो दिपायलका पक्षमा मत राख्छन, उहाँहरुलाई पनि छलफलमा ल्याउन आवश्यक ठानेर यो निर्णयमा पुगेका छौ।’

यससंगै आइतबार साँझबाट १२ गतेसम्मका लागि यातायात, बजार, तथा शैक्षिक संस्था खोलिएका छन्। निर्वाचन अधिकृतको कार्यालय र जिल्ला निर्वाचन कार्यालय बाहेकका सरकारी कार्यालयहरु भने बन्द हुने संघर्ष समितिले जनाएको छ। यसबाहेक नियमित प्रदर्शनका कार्यक्रम भने जारी रहने पनि संघर्ष समितिले जनायो।

आन्दोलनकारीहरुको निर्वाचनको बातावरण बनाउने निर्णयलाई राष्ट्रिय सभाको ७ नम्बर प्रदेशका निर्वाचन अधिकृत जयानन्द पनेरुले स्वागत गरेका छन्।

दिपायलमा यसअघि नै उच्च अदालत रहेकाले निर्वाचन आयोगले डोटी जिल्ला अदालतका जिल्ला न्यायाधिस जयानन्द पनेरुलाई निर्वाचन अधिकृतको जिम्मेवारी दिएको छ। सोही अनुसार डोटी जिल्ला अदालतमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएर निर्वाचन कार्यक्रम शुरु भएका छन्। आइतबार निर्वाचन अधिकृतको कार्यालयले प्रदेश सभाका दुई सय २९ जना मतदाताको नामावली समेत सार्वजनिक गरिसकेको छ। यस्तै डोटी जिल्ला प्रदेश सभा ‘क’बाट निर्वाचित सांसद भरत बहादुर खड्कामा नामावलीमाथि उजुरी परेको निर्वाचन अधिकृत जयानन्द पनेरुले जानकारी दिए। उनी आइतबारको सपथग्रहण कार्यक्रममा उपस्थित नभएको र सपथ नखाएका सांसद मतदाता हुन नसक्ने भन्दै उजुरी परेको हो।

प्रकाशित: ७ माघ २०७४ १५:२४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App