७ वैशाख २०८१ शुक्रबार
राजनीति

सातै प्रदेशमा शपथ

प्रदेश नं. ३ को अस्थायी मुकाम हेटौँडामा पद तथा गोपनीयताको शपथ लिँदै सांसद । तस्बिर अशोकसुजन श्रेष्ठ /नागरिक

जिल्ला ब्युराे 

काठमाडौं –सातवटै प्रदेशसभामा निर्वाचित सदस्यले आइतबार आआफ्नो प्रदेश मुकाममा पद तथा गोपनीयताको शपथ लिएका छन् । सरकारद्वारा नियुक्त प्रदेश प्रमुखले पदबहाली गरेपछि प्रदेशसभा सदस्यका लागि शपथग्रहणको बाटो खुलेको हो ।

प्रदेश १ को अस्थायी मुकाम विराटनगर, प्रदेश २ को जनकपुर, प्रदेश ३ को हेटाैडा, प्रदेश ४ को पोखरा, प्रदेश ५ को बुटवल, प्रदेश ६ को सुर्खेत र प्रदेश ७ को धनगढीमा आयोजित अलगअलग समारोहमा प्रदेशसभा सदस्यहरूले शपथ लिएका हुन् ।

प्रदेशसभा सांसदले पद तथा गोपनीयताको शपथ लिएसँगै प्रादेशिक संरचनामा विधिवत रूपमा संसदीय लोकतान्त्रिक अभ्यास सुरु भएको छ । सबै प्रदेशमा प्रदेश प्रमुखले ज्येष्ठ सदस्यलाई शपथ गराएका थिए । त्यसपछि ज्येष्ठ सदस्यले अन्य सदस्यलाई पद तथा गोपनीयतमो  शपथ गराए ।प्रदेशसभामा सभामुख, उपसभामुखको निर्वाचन नभएको अवस्थामा संविधानको धारा १८२ (५) र प्रदेशसभा निर्वाचन ऐन २०७४ को दफा ७५ (१) अनुसार प्रदेश प्रमुखले निर्वाचित जेष्ठ सदस्यलाई शपथ गराउने व्यवस्था छ ।

आफ्नै भाषा, आफ्नै भेष
प्रदेश १ को विराटनगर र प्रदेश २ को जनकपुरमा प्रदेशसभा सदस्यले लगाएको पोसाक र आ¥आफ्नो मातृभाषामा लिएको शपथले संघीयताको ‘सुन्दरता’ झल्किएको छ ।
    विराटनगरको वीरेन्द्र सभागृहमा शपथग्रहण समारोहमा पुगेका मोरङ ५ (क) का सांसद जयराम यादवले कुर्ता–गम्छा पहिरिएका थिए । मोरङ ३ (ख) का सुयरमाराज राई शिरमा सेतो फेटा बेरेर किरात पोसाकमा उपस्थित भए । उदयपुरकी सांसद सञ्जाकुमारी दनुवार र इलामकी सांसद खिनु लग्बा लिम्बू पनि जातीय पोसाकमै उपस्थित भए । शपथको भाषा नेपालीमा भए पनि सांसद यादवले मैथिली भाषामा पढेको बताए । प्रदेश १ का अधिकांश सांसदले नेपाली पोसाक दौरा–सुरुवाल र ढाका टोपी लगाएका थिए ।

  प्रदेशसभा १ का ज्येष्ठ सदस्य झापा, भद्रपुरका ७३ वर्षीय ओमप्रकाश सरावगीले अन्य सांसदलाई शपथ गराए । नेपाली कांग्रेसबाट समानुपातिक प्रदेशसभा सदस्य बनेका सरावगीलाई भने प्रदेश १ का प्रमुख गोविन्दबहादुर तुम्बाङले शपथ गराएका थिए ।

 राष्ट्रिय गानबाट सुरु भएको शपथ समारोहमा प्रदेश १ का ९३ जना सांसद उपस्थित थिए ।     निर्धारित समयभन्दा दुई घन्टा ढिलो शपथग्रहण समारोह सुरु भए पनि सुनसरीका समानुपातिक सांसद उमिता विश्वकर्मा र उदयपुरबाट निर्वाचित सांसद कला घले बीचमै आइपुगे । शपथपछि चियापान चलिरहँदा आइपुगेका उनीहरूको शपथग्रहणका कागजी प्रक्रिया पूरा गरिएको थियो ।
    प्रदेश १ का १४ जिल्लाबाट प्रत्यक्ष र समानुपातिकका ९३ जना प्रदेशसभा सदस्य छन् । जसमा एमालेका ५१,  कांग्रेसका २१, माओवादी केन्द्रका १५, संघीय समाजवादी फोरमका ३, राष्ट्रिय प्रजातन्त्र पार्टीका १, नेपाल लोकतान्त्रिक राष्ट्रिय मञ्चका १ र स्वतन्त्र १ जना छन् ।

चार भाषामा शपथ
    प्रदेश  २  मा जनकपुर उद्योग वाणिज्य संघको राजर्षि जनक सभागृहमा भएको शपथग्रहण समारोहका अधिकांश सांसदले धोती, कुर्ता र गम्छा पहिरिएका थिए । प्रदेश सांसदले नेपाली, मैथिली, भोजपुरी र हिन्दी भाषामा शपथ लिए ।

प्रदेश २ का सांसदले आइतबार जनकपुरमा पद तथा गोपनीयताको शपथग्रहण गरे । सभागृहमा प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले सभाका ज्येष्ठ सदस्य लगनलाल चौधरीलाई शपथ गराए । लगत्तै चौधरीले अन्य १ सय ६ विधायकलाई शपथ गराए । ७५ वर्षीय चौधरी एमालेबाट विधायक हुन् ।
प्रदेश प्रमुख कायस्थले नेपाली भाषामा शपथ गराउने तयारी गरेको जानकारी पाउनासाथ विधायकले मातृभाषामा गराउन माग गर्दै होहल्ला गरेका थिए ।

 करिब दस मिनेटपछि कार्यक्रम सञ्चालक प्रमुख जिल्ला अधिकारी दिलीपकुमार चापागाईले  मातृभाषामा शपथ गर्नसक्ने कानुनी व्यवस्था रहेको जनाएपछि कार्यक्रम अघि बढ्यो । प्रदेश प्रमुखबाट नेपाली भाषामा शपथ गराउने व्यवस्था भए पनि सभाका सदस्यले आ–आफ्नो मातृभाषामा शपथ लिन पाउने कानुनी व्यवस्था छ । प्रदेश प्रमुख कायस्थले सभाका ज्येष्ठ सदस्य चौधरीलाई नेपाली भाषामा शपथ खुवाएपछि चौधरीले पनि अन्य सदस्यलाई शपथ गराउँदा नेपाली भाषामै लिखत वाचन गरेका थिए । सदस्यहरूले भने नेपाली, मैथिली, भोजपुरी र हिन्दी भाषामा शपथ लिएको कार्यक्रम सञ्चालक प्रजिअ चापागाईले बताए । मैथिली भाषामा ४७, भोजपुरीमा २५, नेपालीमा २४ र हिन्दीमा ११ जना विधायकले शपथ गरे । प्रदेश २ मा प्रत्यक्ष निर्वाचित ६४ र ४३ समानुपातिक गरी १ सय ७ विधायक छन् ।

प्रदेश प्रमुख कायस्थले २ नम्बर प्रदेशसभाको प्रथम अधिवेशन माघ २१ गते बिहान ११ बजे जनकपुरस्थित शैक्षिक तालिम केन्द्रमा बस्ने निर्णय सुनाएका छन् । प्रदेश प्रमुखको कार्यालय र निवास जनकपुरको मिल्स एरियास्थित जनकपुर चुरोट कारखानामा व्यवस्था गरिएको छ ।  

तामाङ बाहुल्य प्रदेश ३ मा नेपालीमै शपथ
तामाङ जातिको बाहुल्य रहेको प्रदेश ३ का सांसदले नेपाली भाषामै शपथ लिएका छन् । हेटौंडा–१० बसपार्कस्थित क्षेत्रीय शिक्षा निर्देशनालयमा स्थापित प्रदेशसभा सचिवालयमा प्रदेश ३ का ज्येष्ठ सदस्य डोरमणि पौडेलले १०९ प्रदेश सांसदलाई शपथ गराएका हुन् । यसअघि पौडेलले प्रदेश प्रमुख अनुराधा पौडेलबाट शपथ लिएका थिए ।

प्रदेश ३ अन्तर्गत मकवानपुर, चितवन, धादिङ, काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रे, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, दोलखा, रामेछाप र सिन्धुली जल्ला पर्छन् । शपथ समारोहा अधिकांश सांसद नेपाली राष्ट्रिय पोसाकमा थिए । पुरुष सांसद ढाकाटोपी, कोट, दौरा सुरुवाल र महिला साडी, चोलो र कोटमा सजिएका थिए । केही सांसद भने तामाङ, गुरुङ र शेर्पाको मौलिक पोसाकमा थिए ।
प्रदेशसभा सचिवालय जाने सडकको दुवैतर्फ घडा राखेर प्रदेश प्रमुख तथा सांसदको स्वागत गरिएको थियो । प्रदेशसभा सचिवालय गेटमा पञ्चेबाजा र धिमेबाजा बजाएर उनीहरूको स्वागत गरिएको थियो ।

जनताका नाममा शपथ

प्रदेशसभा ३ का ज्येष्ठ  पौडेलले ईश्वरको सट्टा जनताको नाममा शपथ लिए । ७१ वर्षीय पौडेल मकवानपुर निर्वाचन १ (ख) बाट सांसद बनेका हुन् । यसअघि पौडेल नेपाल नगरपालिकाका संघका अध्यक्ष, हेटौंडा नगरपालिकाका पूर्वमेयर, राज्य पुनर्संरचना उच्चस्तरीय सुझाव आयोगका सदस्य थिए ।

प्रदेशमा संसदीय अभ्यास
प्रदेश ४ मा प्रमुख बाबुराम कुँवरले पदबहाली गरेपछि क्षेत्रीय प्रशासनको सभाहलमा ज्येष्ठ प्रदेशसभा सदस्य जनकलाल श्रेष्ठलाई शपथ गराए । त्यसपछि श्रेष्ठले बाँकी ५७ जना प्रदेशसभा सदस्यलाई शपथ गराए । ६७ वर्षीय श्रेष्ठ नवलपुर क्षेत्र २ (ख) बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् । प्रदेश ४ मा ५८ जनाले नै नेपाली भाषामा शपथ गरे ।  प्रत्यक्ष निर्वाचित ३६ र समानुपातिकका २४ गरी ६० सदस्यीय ४ नम्बर प्रदेशसभामा दुई सांसद उपस्थित भएनन् । उपस्थित नहुने दीपक मनाङे र तनहुँ क्षेत्र नम्बर १ (क) बाट निर्वाचित सदस्य रामबहादुर गुरुङ छन् । मनाङे  भने अदालतबाट पाँच वर्ष जेल सजाय भएपछि उपस्थित नभएका हुन् । प्रदेश ४ मा मुस्ताङ, म्याग्दी, बाग्लुङ, मनाङ, लमजुङ, गोरखा, तनहुँ, कास्की, पर्वत, स्याङ्जा र नवलपुर (बर्दघाट सुस्तापूर्व) पर्छन् ।

नयाँ सरकार गठनको बाटो
प्रदेशसभा ५ का सांसदलाई बुटवलस्थित उद्योग वाणिज्य संघको सभाहलमा शपथ गराइयो । प्रदेशसभाका ८७ सांसदमध्ये ज्येष्ठ सांसद बलराम शर्मा पोखरेललाई प्रदेश प्रमुख उमाकान्त झाले शपथ गराए । अरु सांसदलाई पोखरेलले सपथ गराए  । शपथका लागि उद्योग वाणिज्य संघको सभाहल जानुअघि प्रदेश  प्रमुख झाले प्रदेश प्रमुखको कार्यालय राखिएको रुपन्देही उद्योग संघको कार्यालय भवन पुगेर पदभार समालेका थिए । प्रदेशसभामा प्रत्यक्ष निर्वाचित ५१ र समानुपातिक ३५ गरी ८७ जना सांसद छन् । प्रदेशसभा सदस्यले सपथ लिएलगत्तै नयाँ सरकार  गठनका बाटो खुलेको छ ।
‘स्वर्णयुगमा प्रवेश’
प्रदेश नम्बर ६ का ४० सांसदले पनि सुर्खेतको वीरेन्द्रनगरस्थित जिल्ला समन्वय समितिको सभाहलमा दिउँसो १ः३० बजे सपथ लिए । सुरुमा प्रदेश प्रमुख दुर्गाकेशर खनालले ज्येष्ठ सदस्य हिमबहार शाहीलाई शपथ गराए । त्यसपछि ६८ वर्षीय शाहीले अन्य ३९ सदस्यलाई शपथ गराए ।
शपथग्रहण समारोहपछि प्रदेश प्रमुख खनालले मुलुक स्वर्णयुगमा प्रवेश गरेको बताए । उनले स्वर्णयुगले अनेकौ सम्भावनासँगै चुनौतीहरु पनि सँगसँगै ल्याएर आएको धारणा राखे । उनले सबै एक भएमात्रै विकासको रथ अगाडि बढ्ने बताए ।

अजेन्डा आर्थिक समृद्घि
प्रदेश नम्बर ७ का सांसदले जिल्ला समन्वय समिति कैलालीको सभाहलमा पद तथा गोपनीयताको शपथ लिएका छन । प्रदेश प्रमुख मोहनराज मल्लले सुरुमा ज्येष्ठ सदस्य ७४ वर्र्षीय दिव्येश्वरी शाहलाई शपथ गराएका थिए । प्रदेश प्रमुखवाट शपथ लिइसकेपछि शाहले अन्य सदस्यलाई शपथ गराइन् ।
प्रत्यक्ष निर्वाचित ३२ र समानुपातिकबाट निर्वाचित २१ गरी यो प्रदेशसभा ५३ सदस्यीय छ । जसमध्ये  ५१ जनाले मात्र शपथ लिएका  छन् ।  कार्यक्रममा डोटीबाट निर्वाचित सदस्य भरतबहादुर खड्का र समानुपातिक कोटाबाट निर्वाचित कैलालीकी चुनकुमारी चौधरी अनुपस्थित थिए । सभाहलमा कर्मचारी, विभिन्न क्षेत्रका विशिष्ट व्यक्ति पनि उपस्थित थिए ।  सभाहलबाहिरको चौरमा सर्वसधारणको उपस्थिति बाक्लो थियो ।

प्रदेशसभा सदस्यलाई शपथ गराउने ऐतिहासिक अवसर पाउदाँ धेरै खुसी लागेको ७४ वर्षीया शाहले बताइन् । ‘यो ऐतिहासिक क्षणमा मलाई धेरै खुसी लागेको छ’, उनले भनिन् । बाक्लो हुस्सुका कारण शनिबार हवाई उडान अवरुद्ध भएपछि सडक मार्ग हुँदै प्रदेश प्रमुख मल्ल आइतबार धनगढी आएका हुन् । प्रदेश प्रमुख आउन ढिला भएकाले शपथग्रहण कार्यक्रम निर्धारित समयभन्दा दुई घन्टा ढिलो गरी दिउँसो ३ बजे सुरु भएको थियो । शपथ कार्यक्रमअघि प्रदेश प्रमुख मल्लले पदवहाली गरेका थिए ।

 सासंदले शपथग्रहणपछि अब आर्थिक विकास र समृद्धि मुख्य अजेन्डा भएको  बताएका छन् । ‘अबको मुख्य अजेन्डा आर्थिक विकास र ममृद्धि हो’, कैलालीबाट निर्वाचित वीरमान चौधरीले भने, ‘आर्थिक विकास र समृद्धि ल्याएर सबैको मुहारमा खुसी ल्याउने काम हामी गर्छौं ।’

अछामबाट निर्वाचित प्रदेशसभा सदस्य झपट रावलले विधिको शासन लागू गराउन आफूले जोड दिने बताए ।  ‘अब धेरै बोल्नेभन्दा धेरै गरेर देखाउने बेला आएको छ’, उनले भने, ‘विधिको शासन र आर्थिक विकासमा मेरो जोड रहन्छ ।’ सांसद पूर्णा जोशीले प्रदेश ७ मा धेरै सम्भावना रहेको उल्लेख गर्दै आर्थिक विकास गर्न सबै लाग्नुपर्ने बताइन् ।
(अजित तिवारी÷विराटनगर, सुरेश यादव-जनकपुर, अशोकसुजन श्रेष्ठ-हेटौंडा, विशन क्षेत्री-पोखरा, शेरबहादुर केसी-बुटवल, नगेन्द्र उपाध्याय-सुर्खेत र दिलबहादुर छत्याल-धनगढी )

प्रकाशित: ८ माघ २०७४ ००:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App