७ वैशाख २०८१ शुक्रबार
समाज

‘खुट्टाले हैन साहसले चढिन्छ सगरमाथा’

काठमाडौं – रोल्पा थबाङका हरि बुढामगरलाई बाल्यकालदेखि नै  घरअघिको हिमालले लोभ्याउँथ्यो । त्यही लोभले उनमा सगरमाथा चढ्ने चाहना पलायो । १९ वर्षको उमेरमा ब्रिटिस गोर्खा सेनामा भर्ती भएका उनले विभिन्न देशमा युद्धमा खटिने क्रममा ३२ वर्षको उमेरमा  दुवै खुट्टा गुमाए । सन् २०१० मा अफगानिस्तानमा विद्युतीय धरापमा परेपछि दुवै खुट्टा गुमाए पनि  उनले मनभित्र लुकाएर राखेको  सपना भने हराएन बरु झनै जीवन्त बनेर आयो ।   

यही सपना पूरा गर्न ३८ वर्षको उमेरमा सगरमाथा चढ्ने तयारी गरेका उनलाई सरकारले पर्वतारोहणसम्बन्धी नियमावलीमा थपेको नयाँ प्रावधान हिमालभन्दा ठूलो पर्खाल बनेर उभिएको छ ।   
कीर्तिमान राख्ने भन्दै हिमाल आरोहण गर्नेको संख्या बढ्न थालेपछि सुरक्षालाई ध्यानमा राखेर गत पुस दोस्रो साता मन्त्रिपरिषद् बैठकले शारीरिक अशक्तलाई हिमाल आरोहणमा बन्देज लगाउने निर्णय ग¥यो । यही निर्णय अहिले आफ्ना सामु ‘विभेदको सगरमाथा’ बनेर तेर्सिएको उनी बताउँछन् । सरकारले पर्वतारोहणसम्बन्धी नियमावली २०५९ को दफा ३ को उपदफा २ संशोधन गरी दुई हात वा खुट्टा नभएको वा दुवै आँखाले देख्न नसक्नेलाई आरोहण अनुमतिमा रोक लगाएको छ ।

अफगानिस्तानमा लडाइँका क्रममा विद्युतीय धरापमा परेर  दुवै खुट्टा गुमाएका उनले  सगरमाथा चढ्ने सपना नेपाल सरकारले बनाएको कानुनले धरापमा परेको बताए । ताालिवान र अलकायदाविरुद्धको कारबाहीमा अमेरिका नेतृत्वको उत्तर एटलान्टिक सैनिक संगठन (नेटो) सैनिकका रुपमा सन् २०१० को अप्रिलमा अफगानिस्तान पुगेका बेला धरापमा परेर दुवै खुट्टा गुमाउँदा पनि जीवनप्रति निराश नदेखिएका उनी हिमाल आरोहणसम्बन्धी सरकारको पछिल्लो निर्णयले दुःखी छन् ।

‘सगरमाथा चढ्ने तालिम लिने क्रममा अघिल्लो महिना  मुस्ताङमा छँदा आरोहणमा सरकारले बनाएको नयाँ व्यवस्थासम्बन्धी खबर सुनें,’ उनले भने, ‘थोराङलामै  मैले विभेदको सगरमाथा देखें ।’ विद्युतीय विस्फोटमा  नमरेको सपना नेपाल सरकारको कानुनी धरापमा परेको उनले बताए ।
  सरकारले भनेजस्तै उनलाई पनि आफ्नो सुरक्षाको चिन्ता छ । हिमाल आरोहणका लागि सुरक्षा उपाय  अपनाउनुपर्नेमा उनी पनि सहमत छन् तर खुट्टा नभएकै कारण मात्र देखाएर आरोहणमा रोक लगाउनु दुर्भाग्य भएको उनी बताउँछन् ।  

जिन्दगीमा सजिलो त केही पनि नभएको ठान्ने उनले अप्ठेरालाई आफूअनुकूल ढाल्ने प्रयास गर्नुपर्ने उनले बताए । ‘खुट्टा नभएकोमा अप्ठेरो त मलाई नै छ,’ उनले भने, ‘तर पनि हिमालको उकालो सजिलो भएको अनुभव मैले पनि गरेको छु ।’ सगरमाथा चढेर परिवारसँगै बस्ने उनको योजना छ । ‘मैले मर्न सगरमाथा चढ् खोजेको हैन, मजस्ताको मनोबल बढाउन चढ्न खोजेको हुँ,’ उनले भने, ‘आवश्यक सुरक्षाको सबै तयारी मैले पूरा गरिसकेको छु ।’ आफूले लगाउने कृत्रिम खुट्टा नाम चलेको अन्तर्राष्ट्रिय कम्पनीले निर्माण गरिसकेको जानकारी गराउँदै ढुक्कसाथ सगरमाथा चढ्न सक्षम रहेको दाबी उनले गरे ।

अमेरिकन प्रोस्थेटिक्स–अर्थोटिक्स एसोसिएट्स कम्पनीले हिमाल आरोहण गर्न सजिलो हुने कृत्रिम खुट्टा बनाइदिएको जानकारी गराउँदै उनले त्यसमा चाहिने आधुनिक उपकरणका लागि अन्य कम्पनीको सम्पर्कमा रहेको बताए । ‘मेरै लागि नयाँनयाँ इन्भेन्सन पनि भएका छन्,’ उनी भन्छन्, ‘यसले आगामी दिनमा अपांगता भएका मानिसका लागि हिमाल आरोहण झनै सहज बनाउनेछ ।’

उनी गुम्सेर जीवन बिताउनुभन्दा रहर पूरा गरेर मर्नु बढ्ता बुद्धिमानी ठान्छन् । ‘मलाई थाह छ म सगरमाथा चढेर फर्कन्छु,’ उनी भन्छन, ‘सगरमाथा चढ्न पाए मलाई जीवनप्रति केही गुनासो हुने छैन ।’  
उमेरमा स्वदेशमा नोकरी नपाएका कारण बन्दुक बोकेर लाहुरे हुनुपरेको उनले  सुनाए । ‘पहाडमा जन्मेको मानिस विदेशी सेनामा भर्ती भएर मरुभूमीमा लड्न जाँदा सरकार बोल्दैन,’ उनी भन्छन्, ‘मैले बाल्यकालदेखि देखेको सगरमाथि आरोहणको सपना पूरा गर्छुभन्दा तगारो हाल्छ ।’   

सगरमाथा आरोहण गर्न ६ हजार मिटर अग्लो हिमाल चढ्नुपर्ने नियम पनि उनले पूरा गरेका छन् । कृष्ण थापा मगरको नेतृत्वमा सन् २०१७ को जनवरीमा स्कटल्याण्डमा सगरमाथा आरोहणका लागि थप तालिम लिएका उनले १९ सेप्टेम्बरमा ६ हजार ४ सय ७४ मिटर अग्लो म्यारापिक हिमाल सफल आरोहण गरिसकेका छन् । ‘म्यारापिक हिमाल यात्रा निकै रोमाञ्चक थियो । त्यो हिमालको टुप्पोबाट मैले सपनाको सगरमाथा नजिकै भेटाइसकेको छु, म यसलाई फुत्कन दिनेछैन ।’ नेपालबाट नपाए तिब्बततर्फबाट पनि सगरमाथा आरोहण गर्न त सकिन्छ तर उनी नेपालबाटै चढने अठोटमा छन् । ‘म नेपाली नेपालबाट नपाएर अन्यत्रबाट चढें भने झनै नेपाल सरकारको बेइज्जत हुने छ,’ उनी भन्छन, ‘म त्यो बेइज्जती गराउन चाहन्नँ ।’

सगरमाथा चढ्न उनले आवश्यक सबै तयारी पूरा गरेका छन् । आफूले सन् २०१६ मा गोसाइकुण्डमा रक क्लाइम्बिङ, आइस क्लाइम्बिङ र पिक क्लाइम्बिङ सफलतापूर्वक सम्पन्न गरेको उनले सुनाए ।
उनको सगरमाथा आरोहण गर्ने चाहना पूरा गर्न दिनुपर्ने भन्दै विभिन्न आरोही तथा चर्चित व्यक्तित्वले  आबाज उठाएका छन् । राष्ट्रिय अपांग महासंघका अध्यक्ष सुदर्शन  सुवेदी बुढामगरजस्तै अपांगता भएका मानिसलाई निरुत्साहित पार्ने काम सरकारबाट भएको भन्दै आरोहणसम्बन्धी थप नयाँ व्यवस्था खारेज गर्नुपर्ने बताउँछन् । ‘सुरक्षा विषयमा थप सतर्कता के अपनाउनुपर्ने हो त्यो सरकारले भन्नुपर्छ,’ उनले भने, ‘हिमाल चढ्नै बन्देज लगाउने व्यवस्था त विभेदकारी हो ।’ यस विषयमा उनले महासंघले सरकारलाई ज्ञापनपत्र बुझाउने पनि बताए । ‘हामी अहिले सरकार र सम्बन्धित अन्य निकायसँग कुरा गरिरहेका छाै। यसबाट समाधान निस्केन भने हामीले राष्ट्रिय–अन्तरष्ट्रिय अदालत धाउनुपर्ने पनि हुन्छ।’

बुढामगरले पनि सगरमाथा आरोहणमा आफूलाई रोक लगाइए नेपालको संविधानले दिएको मौलिक हक तथा संयुक्त राष्ट्रसंघको युनसिआरपिडी–२००६ अन्तर्गत अन्तर्राष्ट्रिय अदालतमा समेत जानसक्ने बताए । ‘सकेसम्म म यसो गर्ने पक्षमा छैन । मलाई नेपालको इज्जत राख्नु छ,’ उनले भने, ‘म सरकारले नै यो निर्णय सच्याओस् भन्ने पक्षमा छुँ ।’

उनले केही दिनअघि यसै विषयलाई लिएर पर्यटन मन्त्री जितेन्द्र देवलाई पनि भेटेका थिए । मन्त्रीले ‘तपार्इं औपचारिक रुपमा आफ्नो प्रस्ताव लिएर आउनुस्, म प्रयास गर्ने छु’ भनेको उनले सुनाए ।  
उनी सरकारी निर्णयलाई विभेदकारी मान्छन् । ‘यो त कानुनले नै अपांगता भएका मानिसमाथि गरेको विभेद हो,’ उनले भने, ‘यो विभेद हटाउन पनि मैले सगरमाथा चढ्नु छ ।’  अपांगता भएका मानिसले पनि केही गर्न सक्छन् भन्ने सन्देश आफूले सगरमाथा चढेर दिन खोजेको उनले बताए । ‘मेरो खुट्टा मात्र गुमेको हो, दिमाग, आँखा, हात त छ,’ उनले भने, ‘खुट्टाको ठाउँमा वैकल्पिक कृत्रिम खुट्टा लगाएपछि मैले हिमाल किन चढ्न नपाउने ?’

यसै वसन्तमा सगरमाथा चढ्ने योजना बनाएका उनले सरकारी निर्णयका कारण केही पर सर्न सक्ने बताए । ‘सरकारले मेरो सपनालाई लम्ब्याउन सक्छ,’ उनी भन्छन्, ‘तर  सगरमाथा चढ्ने उत्साह घटाउन सक्दैन ।’बेलायतमा बसोबास गर्दै आएका उनी पछिल्लोपटक तीन साताअघि नेपाल आएका हुन् ।

 

 

प्रकाशित: ८ माघ २०७४ ००:५४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App