८ वैशाख २०८१ शनिबार
खेल

हरि र सवितालाई स्वर्ण

काठमाडौं - नेपाल आर्मीका हरिप्रसाद गोले र सविता राईले राखेप च्याम्पियनसिपअन्तर्गत १३औं राष्ट्रिय उसु प्रतियोगिताको थाउलोतर्फ थाइची अल राउन्डमा शनिबार स्वर्ण जितेका छन् । दुवै १२औं दक्षिण एसियाली खेलकुद (साग) का रजत विजेता हुन् ।

इटहरीमा भएको प्रतियोगिताको पुरुषमा हरिले सर्वाधिक १६.७५ अंक जोडे । मध्यमाञ्चलका पासाङ शेर्पा (१६.४० अंक) दोस्रो र विवेश श्रेष्ठ (१४.०५ अंक) तेस्रो भए ।महिलामा सविताले सबै प्रतिद्वन्द्वीलाई उछिन्ने क्रममा १७ अंक जोडिन् । आर्मीकै मीना ग्लान (१६.३५ अंक) ले रजत र सुदूर पश्चिमाञ्चलकी सम्झना चौधरी (१५.४० अंक) ले कांस्य हात पारे ।

सान्सौंको पुरुष ४८ केजीमा एपिएफका अशोक खालिङले मध्यमाञ्चलका नरेन्द्र कुँवर तथा पूर्वाञ्चलका गणेशकुमार लिम्बूले मध्यपश्चिमाञ्चलका टीकाराज रोकायालाई पराजित गरी फाइनलमा पुगे । ५२ केजीमा आर्मीका मदनकुमार श्रेष्ठले नेपाल प्रहरीका दीपेन्द्र सिजाली मगर तथा मध्यमाञ्चलका कान्ति लामाले सुदूरपश्चिमाञ्चलका शिवराज सुनारी मगरलाई हराउँदै फाइनलमा स्थान सुरक्षित गरे ।

५६ केजीमा एपिएफका अमर सुनारले मध्यमाञ्चलका सुनी शिरीषलाई पाखा लगाउँदै फाइनलमा पुगे । ६० केजीमा प्रहरीका मुकेश पण्डितले पूर्वाञ्चलका विजय रसाइली तथा एपिएफका मंगलप्रसाद थारूले सुदूरपश्चिमाञ्चलका बालकृष्ण चौधरीलाई पन्छ्याउँदै फाइनल यात्रा तय गरे । ६५ केजीमा प्रहरीका सुमन घुस्रीले सुदूरपश्चिमाञ्चलका सुद्धिराम चौधरी तथा आर्मीका वीरमान लामाले एपिएफका सञ्जीव महर्जनलाई पराजित गर्दै फाइनल स्थान सुरक्षित गरे ।

सान्सौंतर्फ नै पुरुषको ७० केजीमा पश्चिमाञ्चलका योगेन्द्र थापाले मध्यमाञ्चलका रामचन्द्र सिम्खडा तथा आर्मीका चित्रसिंह ठकुरीले प्रहरीका प्रेमचन्द्र दर्लामी मगर, ७५ केजीमा आर्मीका पदम राईले मध्यपश्चिमाञ्चलका भरत राणा र पूर्वाञ्चलका चन्द्र लिम्बुले पश्चिमाञ्चलका किरण घर्ती, ८० केजीमा पश्चिमाञ्चलका अनुप खड्काले सुदूरपश्चिमाञ्चलका प्रकाश थापा र एपिएफका निकेश श्रेष्ठले पूर्वाञ्चलका गणेश श्रेष्ठ तथा ८५ केजीमा एपिएफका भूपेन्द्र शाहले आर्मीका रामचन्द्र बराल र प्रहरीका अजय महर्जनले पश्चिमाञ्चलका प्रवेश राना मगरलाई हराउँदै फाइनलमा स्थान बनाए ।

राउन्ड रोविन लिगको पुरुष ९० केजीमा आर्मीका किरण साउदले पूर्वाञ्चलका विनोद निरौलालाई पराजित गरे भने ९० केजीमाथि प्रतिद्वन्द्वी आर्मीका रमेश तामाङ ‘मेडिकल डिस्क्वालिफाइ’ भएपछि पूर्वाञ्चलका सुजन विक विजयी भए ।

सान्सौंको महिला ४८ केजीमा आर्मीकी शर्मिला राई र पश्चिमाञ्चलकी रेखा बोहरा, ५२ केजीमा सुदूरपश्चिमाञ्चलकी रिता ठकुल्ला र आर्मीकी एलिना चौधरी, ५६ केजीमा आर्मीकी जुनी राई र एपीएफकी निशा विक, ६० केजीमा मध्यपश्चिमाञ्चलकी गोमा आस्रे र आर्मीकी लुमन्ती श्रेष्ठ, ६५ केजीमा पूर्वाञ्चलकी अस्मिता एप्टेन र एपिएफकी मनीषा राउत तथा ७० केजीमा आर्मीकी विन्दु पुन मगर र मध्यपश्चिमाञ्चलकी देवी श्रेष्ठ फाइनलमा पुगेका छन् । प्रतियोगिता सोमबार सम्पन्न हुनेछ ।

 

प्रकाशित: ८ माघ २०७४ ०२:२२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App