१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

सरकारी सुविधा नलिने घोषणा

कास्की- गोरखा २ ‘ख’  बाट प्रदेससभा सदस्यमा निर्वाचित प्रकाशचन्द्र दवाडीले सरकारी सुविधा नलिने घोषणा गरेका छन्। सपथग्रहण पश्चात नागरिकसँग कुराकानी गर्दै उनले आफुले पाउने सबै सेवा सुविधा जनताको लागि खर्च गर्ने बताए।

पहिलो चरणको निर्वाचनमा गोरखा २ ‘ख’ बाट विजयी बनेका दवाडीले पाँच वर्षे कार्यकालमा सरकारबाट प्राप्त हुने सबै सेवासुविधा आफ्नो निर्वाचन क्षेत्र र जनताको हितमा लगाउने बताए।

‘म राजनीतिमा लागेकै समाजसेवाको लागि हो,’ दवाडीले भने, ‘मैले पाउने सबै सेवासुविधा जनता  र विकासको लागि खर्च गर्नेछु ।’ राजनीति र समाजसेवा एकअर्काको परिपूरक भएको उनले बताए।

दवाडी भन्छन्, ‘अन्य राजनीति गर्ने सहयात्रीहरुलाई पनि सन्देश दिन मैले यो घोषणा गरेको हुँ । म जनप्रतिनिधी बनेकै जनताको सेवाको लागि हो । जनताले चुनेर पठाएपछि मैले पाउने सेवासुविधा उनीहरुको लागि नै खर्च गर्ने निर्णय गरेको हुँ ।’

हरेक वडामा जनताको मागबमोजिमको काम गर्ने उनको चाहना छ । ‘मलाई सम्पत्ति धेरै भएर होईन, जनताले दिएको माया र साथलाई समर्थन गर्न चाहन्छु’ दवाडी भन्छन्, ‘जनता मेरो पहिलो प्राथमिकता हुन्, मेरो कार्यकाल सबै जनताको भलाईमा नै बिताउनेछु।’

उनले सांसदबापत प्राप्त सम्पूर्ण राज्यको सेवा सुविधा विपन्न परिवारका लागि खर्च गर्ने बताए।

१८ वर्ष जापानमा व्यवसाय गरेका दवाडी १० वर्षदेखि सामाजिक क्षेत्रमा क्रियाशील रहेका छन् । हरेक वर्ष आम्दानीको १० प्रतिशत रकम सामाजिक क्षेत्रमा वितरण गर्ने गरेको उनले बताए ।

उनले यसअघि कक्षा ११ र १२ का एक सय ५६ जना विद्यार्थीहरुलाई व्यक्तिगत खर्चमा अध्ययन गराएका छन्।

प्रकाशित: ८ माघ २०७४ ०८:२६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App