७ वैशाख २०८१ शुक्रबार
समाज

दुर्घटना रोक्न अटो रिक्सामा स्टीकर

जुम्ला – जुम्लामा सञ्चालित अटो रिक्सा चालकले तिव्र गतिमा हाक्नाले दुर्घटना हुनसक्ने सम्भावना बढ्दै गएको भन्दै जिल्ला ट्राफिक कार्यालयले अटो रिक्सामा स्टिकर टाँसेको छ। यहाँका सञ्चालित १५ वटा अटो रिक्सामा ‘तिब्र गतिमा सवारी नचलाऔं’ भन्ने सन्देश लेखिएको  स्टिकर टाँस गरेको हो।

जिल्ला ट्राफिक कार्यालय जुम्लाका प्रमुख असई माधव रावतका अनुसार अटो रिक्सा चालक सबैलाई एकै थलोमा बोलाएर ट्राफिक नियमका वारेमा सहजीकरण गर्नुका साथै प्रत्येक रिक्साको अगाडी पट्टी स्टिकर टाँसिएको हो।  चन्दननाथ नगरपालिका वडा नम्वर ५ का अध्यक्ष गोल्डेन कठायत र असई रावतले संयुक्त रुपमा प्रत्येक अटोमा स्टिकर लगाएर तिव्र गतिमा अटो नचलाउन आग्रह गरेका थिए।

उनले भने, ‘पहिलो चरणअन्तर्गत सावधानीका लागि स्टिकर टाँसेका छौ, अझैपनि अटेर गरेको खण्डमा लाईसेन्स खारेजी सम्मको प्रक्रिया अपनाउन बाध्य हुनेछौं। अटोले साना तथा ठुला सवारीलाई ओभरटेक गर्ने गरेको गुनासो वढेपछि स्टिकर टाँसेर सतर्क गराएको हो।

ट्राफिक प्रहरी कार्यालय जुम्लाका प्रमुख रावतले क्षमता भन्दा बढी यात्रु नराख्न, रुट प्रमिट, लाइसेन्स, बिलबुक जस्ता महत्वपुर्ण कागजात साथमा राख्न र तिव्र गतिमा अटो नचलाउनको लागि अटो रिक्सा चालकको ध्यान केन्द्रित गरेका थिए। उनले अटोमा टाँसिएको स्टिकर नफयाक्न र स्टिकरले दिएको सन्देश जिम्मेवारीका साथ पालना गर्न सुझाव दिए।  अटोमा चालकसहित चार जना यात्रु सवार गर्न मिल्छ। उनले अनुमति पत्र बमोजिमको सवारी साधन सञ्चालन गर्नुपर्ने, सवारी चलाउदा मादक पदार्थ वा लागुपदार्थ सेवन गर्ने चालक तथा सवारीधनीलाई कारवाहीको दायरामा ल्याउने चेतावनी दिए।  

‘कानूनको पालना गरौ, समाजप्रतिको आफ्नो दायित्व पुरा गरौ, सभ्य नागरिकको परिचय दिउँ’ भन्ने मान्यतालाई स्थापित गर्नको लागि सवारी चालकलाई आग्रह गरिएको थियोे। वडाध्यक्ष गोल्डेन कठायतले तिव्र गतिले सवारी चलाउदा मानवीय क्षति हुनुका साथै धनको नाश र जीवनको बर्बादी  हुने भएकोले ट्राफिक नियमको पालना गर्नुपर्ने बताए। उनले अटोलाई नगरपालिका क्षेत्रमा मात्रै सञ्चालन अनुमति दिइएकोले नगरपालिका क्षेत्रभन्दा बाहिर गएर नचलाउन निर्देशन दिए। अटोमा स्टिकर टाँसेकोमा खुसी हुदै अटो चालकहरुले ट्राफिक नियमको परिपालना गर्ने प्रतिवद्धता जाहेर गरेका छन्। उनीहरुले पटक पटक सचेतनाका क्रियाकलाप मार्फत ट्राफिक ज्ञान दिलाईदिनको लागि आग्रह गरे।

प्रकाशित: ८ माघ २०७४ ०९:३५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App