१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

वीरगन्ज महानगरको अर्धबार्षिक बजेट ४ अर्ब २२ करोड

वीरगन्ज – चालु आर्थिक बर्षको आधा अवधी अर्थात माघदेखि असार मसान्तसम्मका लागि वीरगन्ज महानगरले पहिलो नगर सभाबाट चार अर्ब २२ करोड २५ लाख ८९ हजार रुपैयाको बजेट पारित गरेको छ।

मुलुककै नमुना सहरको रुपमा विकासको लक्ष्य हासिल गर्ने दिर्घकालीन उदेश्य अनुरुप ल्याइएको भनिएको नीति तथा कार्यक्रम अन्तर्गत नगरप्रमुख विजय सरावगीले प्रस्तुत गरेको बजेट नगर सभाले सर्वसम्मत पारित गरेको हो।

महानरपालिका कार्यालयका कार्यकारी अधिकृत गोपालप्रसाद रेग्मीले बताएअनुसार नीति तथा कार्यक्रमहरूलाई सफल कार्यान्वयन गर्न आर्थिक वर्ष २०७४÷०७५ को बाँकी अवधीका लागि अनुमानित आय–ब्ययसहितको बजेट नगर सभाले पारित गरेको हो। ‘निर्वाचित जनप्रतिनिधि सहितको महानगरपालिकाको काम कारवाही अगाडी बढाउन यो बजेट आधार हुनेछ,’ रेग्मीले भने, ‘साउनपछिको नयाँ आर्थिक बर्षका लागि पुर्ण बजेट त्यति बेला आउने छ।’

‘आयतर्फ आन्तरिक आयमा कर, सेवा शुल्क र दस्तुरवाट एक्काइस करोड, राजस्व वाडफाँडबाट तीन करोड, जनसहभागिताबाट दुई करोड र नेपाल सरकारबाट सर्शत अनुदानबाट तीन अर्व ४ करोड ६९ लाख ८९ हजार ४४५ रुपैयाँ, समानीकरण अनुदान नब्बे करोड ७ लाख ६२ हजार ५५७ रुपैया र अन्य आय एघार लाख तथा गतवर्षको एक करोड ४७ लाख ३७ हजार ८३७ रुपैया गरी कुल जम्मा ४ अर्व २२ करोड २५ लाख ८९ हजार ८३९ रुपैया आय अनुमान गरिएको छ,’ नगर प्रमुखद्वारा प्रस्तुत भएर नगर सभाबाट पारित नीति तथा कार्यक्रममा उल्लेख छ, ‘व्ययतर्फ चालु खर्चमा रु १ अर्व २३ करोड ५९ लाख ६८ हजार, पूजीगत खर्चमा  २ अर्व ९८ करोड ६६ लाख २१ हजार रुपैया विनियोजन गरिएको छ।’

चालु तर्फ बिनियोजित रकम कुल बजेटको २९ दशमलव २७ प्रतिशत र पूँजीगततर्फको ७० दशमलव ७३ प्रतिशत हुन आउँछ। विनियोजित बजेटको क्षेत्रगत रुपमा आर्थिक विकासमा एक करोड ५२ लाख १९ हजार, सामाजिक विकासमा ५४ करोड ९३ लाख ६० हजार, पूर्वाधार विकास क्षेत्रतर्फ दुई अर्व ९४ करोड २१ लाख १२ हजार, वातावरण तथा विपद व्यवस्थापन क्षेत्रतर्फ एक करोड ८५ लाख, संस्थागत विकास तथा सेवा प्रवाह एक करोड ३ लाख ३६ हजार र कार्यालय सञ्चालन तथा प्रशासनिक खर्च अठसट्ठी करोड ७० लाख  ६२  हजार रुपैया रहेको छ।

‘योजनाको तर्जुमा भएपछि अब कार्यान्वयन महत्वपूर्ण पक्ष हो। हामीले तर्जुमा गरेका कतिपय कार्यहरु सम्पादन गर्न हाम्रो सहकार्य, साझेदारी तथा रचनात्मक सहयोगको आवश्यकता पर्दछ। त्यसकारण बिभिन्न सरकारी निकाय, निजी क्षेत्र, दातृ निकाय, अन्तर्राष्ट्रिय संघ–संस्थाहरू, सहयोगी मित्र राष्ट्रहरु, गैर सरकारी तथा सहकारी संघ–संस्थाहरू, टोल विकास संस्थाहरू लगायत अन्य सम्पूर्ण सरोकारवालाहरूलाई सहकार्यका लागि हामीले अह्वान गरेका छौं,’ महानगर नगरप्रमुख सरावगीले भने, ‘वीरगंज महानगर नेपालको समृद्ध शहर बन्ने प्रचुर सम्भावनाहरू छन्। वीरगंजको विकास र सम्बृद्धिका हकमा यो नगरसभामा कोही पक्ष र प्रतिपक्ष छैन। नगर सभाको साझा संकल्प छ वीरगंजलाई देशकै नमुना र उदाहरणीय शहर बनाइछाड्ने छौं।’

प्रकाशित: ८ माघ २०७४ ११:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App