१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

राज्याभिषेक गरेकै चौतारोमा द्रव्य शाहको सालिक

गोरखा- गोरखा नगरपालिका ५ को पस्लाङ चौतारोमा शाहवंशीय राजाका संस्थापक द्रव्य शाहको सालिक स्थापना गरिएको छ। गोरखाको इतिहास जोगाउन र स्मरण गर्न उद्योग वाणिज्य संघले द्रव्य शाहले राज्याभिषेक गरेको ऐतिहासिक चौतारोमा सालिक ठड्याएको हो। चार सय ५८ वर्षपछि ठड्याइएको सालिकको शनिबार योजना आयोगका उपाध्यक्ष स्वर्णीम वाग्लेले अनावरण गरेका हुन्।

इतिहासमा द्रव्य शाहले गोरखा राज्यको स्थापना गरेको भनिन्छ। तत्कालीन राजा द्रव्य शाहले १६१६ भदौ २५ गते गोरखाको पस्लाङ चौतारामा नारायणदास अर्ज्यालबाट राज्याभिषेक गरेको इतिहास छ। उनले राज्याभिषेक गरेकै चौतारोमा अर्धकदको सालिक राखिएको उद्योग वाणिज्य संघले जनाएको छ।

संघका अध्यक्ष श्रवणकुमार जोशीले भने, ‘सालिक निर्माण भएको छ, यसले यस क्षेत्रको पर्यटन प्रवद्र्धन र गोरखाको इतिहास जोगाउन मद्दत पुग्ने हामीले विश्वास लिएका छौं।’ उद्योग वाणिज्य संघ गोरखाले गोरखा नगरपालिका ५ को पस्लाङमा भूकम्पअघि एक गाउँ एक उत्पादन कार्यक्रम लागू गरेर होम स्टे सुरु गराएको थियो । भूकम्पले त्यहाँका घर भत्किएपछि होम स्टे सेवा पनि अवरुद्ध भयो। अहिले पुनः होम स्टे सुरु गर्ने तयारी भइरहेको छ।

राजा द्रव्य शाहसँगको इतिहासमा जोडिएकाले पस्लाङको प्रचार प्रसार र प्रवद्र्धन गर्न सालिकले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा अध्यक्ष जोशीको छ। द्रव्य शाहको सालिक हेर्न गएका पर्यटकलाई होम स्टेमा राख्ने उद्देश्य उद्योग वाणिज्य संघ र पस्लाङमा होम स्टे सञ्चालन गर्ने स्थानीयको छ।

सालिकको अनावरण गर्दै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष स्वर्णिम वाग्लेले ऐतिहासिक पर्यटनसँग जोडेर गोरखामा धेरै सम्भावना रहेको बताए । साथै उनले पर्यटन, ऊर्जा र कृषिबाट गोरखा जिल्लाले धेरै फाइदा लिन सक्ने बताउँदै उद्योगी व्यवसायीलाई त्यसतर्फ प्रेरित हुन अनुरोध गरे ।

कार्यक्रममा इतिहासविद् दिनेशराज पन्तले गोरखासँगको इतिहासको बारेमा चर्चा गरेका थिए । ललितपुर उद्योग वाणिज्य संघसँग समन्वय गरेर ललितपुरका कालिगढबाट सालिक निर्माण गरिएको उद्योग वाणिज्य संघले जनाएको छ । करिब ४० किलोको ढलोटको सालिक निर्माण गर्न करिब चार लाख लागेको छ ।

 

प्रकाशित: ८ माघ २०७४ १२:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App