coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

६ सहकारी सञ्चालक कालोसूचीमा

काठमाडौं – युवा तथा साना व्यवसायी स्वरोजगार कोष सचिवालयले कोषबाट कर्जा लिएर नतिर्ने सहकारी संस्था र तिनका पदाधिकारीमाथि कारबाही अगाडि बढाएको छ ।

युवा स्वरोजगार कार्यक्रमअन्तर्गत विभिन्न सहकारीमार्फत लगानी गरिएको रकम नउठेपछि सचिवालयले कारबाही थालेको हो । सचिवालयले पहिलो चरणमा ६ वटा ठूला सहकारी संस्था र तिनका पदाधिकारीको नाम कालोसूचीमा राखी कारबाही अगाडि बढाउन सहकारी तथा गरिबी निवारण मन्त्रालयसमक्ष सिफारिस गरेको छ । कोष सञ्चालन नियमावली २०६५ को दफा १५ अनुसार कर्जा सूचना केन्द्रमा राखी खराब ऋणीलाई हुने कारबाही अगाडि बढाउन सचिवालयले अनुरोध गरेको छ ।

सिफारिस गरिएका सहकारी संस्थामा केन्द्रीय जडीबुटी सहकारी संघ, मजदुर सहिद स्मृति उपभोक्ता सहकारी संस्था, हाम्रो बहुउद्देश्यीय सहकारी संस्था (साबिक हिमशिखर बचत तथा ऋण सहकारी संस्था), मधुवन बचत तथा ऋण सहकारी संस्था, केन्द्रीय दुग्ध सहकारी संघ र केन्द्रीय तरकारी तथा फलफूल सहकारी संघ छन् । ती संस्थाका सञ्चालक समिति, लेखा र कर्जा समितिका पदाधिकारी तथा सदस्यको नामसमेत कालोसूचीमा राख्न सिफारिस गरिएको छ ।

‘पटक–पटक किस्ता तथा ब्याज रकम बुझाउन ताकेता गर्दासमेत नआएपछि कालो सूचीमा राखेर कारबाही अगाडि बढाउन लागेका हौं,’ सचिवालयका कार्यकारी निर्देशक विष्णुप्रसाद गौतमले नागरिकसँग भने, ‘कोषबाट कर्जा लिएको रकम दुरुपयोग गरी नतिर्ने सहकारी संस्थाका पदाधिकारीको नाम कालो सूचीमा राखी पासपोर्ट रद्द गर्ने वा नदिने तथा अन्य सरकारी सेवा सुविधा नदिनेलगायत कारबाही बढाउन सम्बन्धित निकायमा सिफारिस गरिएको छ ।’ गत कात्तिक २६ मा भएको उपाध्यक्षस्तरीय निर्णय बमोजिम कारबाहीको लागि सिफारिस गरिएको उनले बताए ।

यी संस्थाबाट करिब ३० करोड रुपैयाँभन्दा बढी रकम असुल गर्न बाँकी रहेको सचिवालयले जनाएको छ । गत भदौको तथ्यांकअनुसार मजदुर सहिद स्मृतिबाट करिब पाँच करोड २१ लाख, हाम्रो बहुउद्देश्यीयबाट तीन करोड ९९ लाख, केन्द्रीय जडीबुटीबाट एक करोड ५० लाख, मधुवन बचत तथा ऋण सहकारीबाट ५३ लाख ८३ हजार र केन्द्रीय दुग्ध सहकारीबाट १६ लाख २२ हजार रुपैयाँभन्दा बढी उठ्न बाँकी छ ।
यस्तो छ इतिहास
काठमाडौं तिनकुनेको मजदुर सहिद स्मृति उपभोक्ता सहकारीमार्फत कोषको पैसा लगेर माओवादीनिकट नेता तथा कार्यकर्ताले विभिन्न व्यवसायमा लगानी गरेका थिए । माओवादी नेता राजन तिमल्सिना नेतृत्वको समूहमा बाबुराम गौतम, शालिकराम जमरकट्टेल लगायत छन् । जमरकट्टेल सहितको समूहले ललितपुरको गोदावरीमा बंगुरपालन गरेका थिए । त्यसबाट राम्रो आम्दानी गरे पनि उनीहरुले सहकारीबाट लगेको रकम फिर्ता गरेका छैनन् । 

 उक्त सहकारीले कोषबाट २०६९ सालमा पाँच करोड रुपैयाँ लगेको देखिन्छ । सहकारीले कोषबाट लगेको रकमभन्दा बढी बुझाउन बाँकी देखिएको छ । कोषबाट प्राप्त तथ्यांक अनुसार उक्त सहकारीले पाँच करोड २१ लाख एक हजार ६ सय ३२ रुपैयाँ बुझाउन बाँकी छ ।त्यसैगरी, नेकपा एमाले निकट केबी उप्रेती अध्यक्ष रहेको कुपण्डोलस्थित हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारी संस्थाबाट तीन करोड ९९ लाख ९५ हजार चार सय ७४ रुपैयाँ उठ्न बाँकी छ । यो सहकारीले २०६९ सालमा तीन किस्तामा पाँच करोड रुपैयाँ कोषबाट रकम लगेको थियो । अध्यक्ष उप्रेती राष्ट्रिय सहकारी बैंकका प्रबन्धक समेत हुन् ।

चितवनको केन्द्रीय जडीबुटी सहकारी संघले एक करोड ४९ लाख १३ हजार चार सय ६३ रुपैयाँ बुझाउन बाँकी छ । यो सहकारीले कोषसँग पाँच करोड रुपैयाँको सम्झौता गरे पनि २०६९ चैतमा एक करोड ५० लाख रुपैयाँ लगेको थियो । यो रकम भक्तबहादुर शाह अध्यक्ष हुँदा लगिएको थियो । शाह अहिले नयाँ शक्ति पार्टीका नेता हुन् ।  

गुल्मीको मधुवन बचत तथा ऋण सहकारी संस्थाले ५३ लाख ८३ हजार नौ सय ७५ हजार रुपैयाँ बुझाउन बाँकी छ ।  तीन करोड रुपैयाँको सम्झौता गरेको उक्त सहकारीले २०६९ सालमा कोषबाट दुई किस्ता गरेर एक करोड ८० लाख रुपैयाँ लगेको थियो । यो रकम लैजान तत्कालीन माओवादी पार्टीका नेता सागर पुनको हात थियो ।  

नयाँ बानेश्वस्थित केन्द्रीय दुग्ध सहकारी संघले पनि १६ लाख २२ हजार पाँच सय २९ रुपैयाँ बुझाउन बाँकी छ । यो सहकारीले कोषसँग पाँच करोडको सम्झौता गरे पनि ०७० चैत ३० गते एक करोड ५० लाख रुपैयाँ लगेको थियो ।
 

प्रकाशित: ९ माघ २०७४ ०१:०८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App