८ वैशाख २०८१ शनिबार
समाज

निर्माण सामग्रीमा महँगिएपछि जगमै सीमित भूकम्पपिडितका घर

सिन्धुलीको एक हार्डवयर पसल अगाडि निर्माण सामाग्री लोड गर्न लाइन बसेका ट्रकहरू। तस्बिर: अनिल भण्डारी

सिन्धुली – निर्माण सामग्रीको मूल्यमा भारी वृद्धि भएपछि गाँउगाँउमा जग राखेका घर अलपत्र भएका छन् । निर्माण सामग्री महँगो भएपछि मच्चाएपछि यतिबेला पुस मसान्तअगाडि नै घरको जग राखिसकेका स्थानीयको समेत घर निर्माण कार्यले गति लिन सकेको छैन।  

कमलामाई नगरपालिका ५ का कृष्णप्रसाद दाहाल कस्तो घर बनाउने भन्ने अन्योलमा छन् । ‘मेरो सोचाइ सिमेन्ट, रड र इँटाकै प्रयोग गरेर घर बनाउने थियो, तर निर्माण सामग्रीको मूल्य बढेको बढ्यै छ कस्तो घर बनाउने भन्ने अन्योल थपियो,’ दाहालले भने।
सरकारले भूकम्प पीडितलाई पुस मसान्तसम्ममा दोस्रो किस्ता लिनुपर्ने लिष्ट सार्वजानिक गरेसँगै रातारात महँगो मूल्यमा जग राखेका भूकम्प पीडितलाई यतिबेला घर कसरी सम्पन्न गर्ने भन्ने चिन्ता लाग्न थालेको छ । घर बनाउने सामानको अभाव हुन थालेको छ । एकैपटक जिल्लाका अधिकांश घर बन्न थालेपछि घर बनाउने सामानको मूल्यमा व्यापारीले ब्रह्मलुट गरेपछि भूकम्पपीडित समस्यामा परेका हुन्।

२०७३ सालको साउनसम्ममा सम्झौता गर्नेले २०७४ असार मसान्तमा घर बनाइसक्नु पर्ने प्रावधान राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सार्वजानिक गरेपछि जिल्लामा धेरै निजी अवास एकसाथ बन्न थालेका छन् । सोही मौका छोपी हार्डवयरका सामान तथा बालुवा गिट्टी, इट्टाको भाउ मनपरी ढंगबाट महँगो लिने गरेको गुनासो भूकम्पपीडितले गरेका छन् । भाउ बढेकै कारण निजी आवास जग मात्रैमा सीमित भएको छ ।  हार्डवयरका सामग्रीदेखि नदी खोलाबाट उत्खनन् गरी ल्याइने गिट्टी बालुवाको समेत भाउ दोब्बर झै भएको भूकम्पपीडित बताउँछन् । ‘यतिधेरै भाउ बढेको छ, राजनीतिक दल तथा तिनका भातृ संगठनले समेत केही बोल्दैनन्,’ एक भूकम्पपीडितले भने, ‘मैले जग एक महिना अगाडि नै निर्माण गरिसकेको छु, सामानको भाउ केही घट्छ कि भनेर बसेको हुँ।

कमलामाई नगरपालिका ४ मा घर निर्माण गर्दै गरेका शिक्षक सन्तोष बोहोरा निर्माण सामग्रीमा ब्रह्मलुट भएकै कारण सोचेजस्तो घर निर्माण गर्न नसक्ने अवस्था आएको बताउँछन् । ‘अरु समयको भन्दा दोब्बर बढी खर्च गर्नुपर्ने अवस्था छ, अनि कसरी बनाउने भूकम्पपिडितले घर ?’, उनले भने, ‘राज्यले पीडितलाई घर बनाउन राहत दियो, तर निर्माण सामग्रीमा ब्रह्मलुट भएको वास्ता गरेन।’

प्रति ट्याक्टर १२ देखि १५ सय पर्ने ढुंगालाई हाल २२ देखि २५ सयसम्म व्यापारीले लिन थालेका छन् । खोलामा ढुंगाको अभाव भएको भन्दै ट्याक्टर धनीले भूकम्पपीडितलाई ढुंगा बालुवाको मूल्य दोब्बर बढाएका हुन् । झन्डै ३४ हजार घर २०७२ सालको बैशाख १२ र २९ गते गएको बिनाशकारी भूकम्पले क्षतिग्रस्त बनाएको भन्दै पुनर्निर्माणका लागि सरकारले लाभग्राहीको सूचीमा राखेको छ । तिनै घर धमाधम बन्न थालेपछि हाल सदरमुकाम सिन्धुलीमाढीसहित गाँउगाँउमा घर बनाउने सामग्री अभावका साथै महँगो पर्न थालेको भूकम्पपीडित बताउँछन् । ‘सरकारले दिएको तीन लाख रुपैयाँले जगभित्रै राख्ने ढुंगा र बालुवा किन्दै सकिने भयो,’ भूकम्प पीडित भन्छन्, ‘पहिले पो ढुंगाबालुवा केही सस्तो थियो, ३ लाखमा घर बन्छ भन्ने आश थियो अहिलेको महँगी हेर्दा त ७ लाख बढी लगानीमा दुई कोठा तयार पार्न हम्मेहम्मे पर्ने भयो ।’ खोलामा बालुवा र ढुंगा पाउन छाडेकाले महँगो गरी ल्याउनसमेत गाह्रो पर्न थालेको ट्याक्टर चालक बताउँछन्।

पीडितलाई थप पीडित बनाउन मिल्दैन, अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष उत्तम पहाडीले भने, ‘मूल्य नघटाए चरणबद्ध आन्दोलनमा उत्रन्छौ ।’ उनले मौका छोपेर एकै पटक निर्माण सामग्रीको मूल्यमा भारी वृद्धि हुनु ब्रह्मलुट नै मच्चाइएको जनाए । उता हार्डवयर व्यपारीले भने कम्पनीले बढाएकाले मूल्य बढेको जनाएका छन्।

प्रकाशित: ९ माघ २०७४ ०२:५२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App