१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

एकाकी जीवनको कथा

काठमाडौं- ७० वर्षको छेऊछाउको एकलव्यको जन्मदिनको दिन एउटै दैनिकी छ।  आफ्नो पूरानो ग्रामोफोनमा नयाँ कुरा रेकर्ड गर्ने र पूरानो रेकर्ड सुन्ने। अघिल्लो वर्ष आमा पनि बितेपछि एकलव्य एक्लै छ। जन्मदिनमा मन्द प्रकाशमा ग्लासमा वाइनको चुस्की लिँदै एकलव्य पूराना दिनमा पुग्छ र आफ्नो विगत पालैपालो स्मरण गर्दै जान्छ। २० वर्षको उमेरबाट सुरु भएको उसको विगत वर्तमान अवस्था सम्म आइपुग्छ। यो क्रममा उसले जवानीका दिनको प्रेम प्रसंगदेखि बुबा आमासँगको सम्बन्ध समेत पुर्नस्मरण गर्छ।

काठमाडौं मलस्थित थिएटर मलमा चलिरहेको नाटक 'एकलव्यको अन्तिम टेप' को कथाको सारांश यत्ति नै हो। नाटकको कथा सानो भएपनि नाटकले उठाएका प्रश्न भने गहन छन्। प्याजको पत्रझैं पालैसँगै खुल्दै जाने एकलव्यका विगतले मानिसको जीवन, मृत्यु, प्रेम र संघर्षलाई नयाँ ढंगबाट प्रस्तुत गर्ने जमर्को गरेको छ।

सामुयल बेकेटको एकांकी नाटक 'क्रयापस् लास्ट टेप'बाट प्रभावित नाटकले अस्तित्ववादको संरचनालाई अँगालेको छ।  अस्तिस्तवादले स्व अस्तित्व र जीवनको अर्थबोधलाई प्राधान्यता दिन्छ। 'एकलव्यको अन्तिम टेप'को एकलव्यले पनि विगत र वर्तमानमा आफ्नो अस्तित्व खोज्छ।

 

राजधानीमा नाटकघरको संख्या बढेसँगै हरेक नाटकघरलाई दर्शक कज्याउने चुनौति बन्दै गइरहेको छ। यही कारणले पनि अधिकांश नाटकघरले हाँस्यरसले प्रेरित नाटक मञ्चन गर्दै आएका छन्। तर शंकर रिजालले निर्देशन गरेको नाटकले नाटकका गम्भीर दर्शकलाई थिएटरमा आमन्त्रण गर्छ  र पात्रको वैयक्तिक अनुभवसँग डुब्न चुनौति दिन्छ।

आयरलेन्डको पृष्ठभूमिमा लेखिएको नाटकलाई शंकरले नेपाली परिवेशमा प्रस्तुत गरेका छन्। एकल पात्र र थोरै संवाद हुँदा नाटक बोझिल हुने सम्भावना हुन्छ तर स्टेजमा प्रयोग गरिएका प्रप्स र संवादले १ घन्टे नाटकलाई उति बोझिल हुन दिएका छैनन्। सँगसँगै मुख्य पात्रको रुपमा अभिनय गर्ने सुदाम सिकेको अभिनयले पनि दर्शकलाई बाँधेर राख्छ। निराश वृद्धको रुपमा सुदामले उम्दा काम गरेका छन्।

टिका दत्तले अनुवाद गरेको नाटक काठमाडौं मलस्थित थिएटर मलमा ३२ गतेसम्म मञ्चन हुनेछ।

प्रकाशित: २८ श्रावण २०७३ ०२:४२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App