coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अमेरिकाले लागू गर्यो ‘अमेरिका प्रथम’ भन्सार

वासिङ्टन– संयुक्त राज्य अमेरिकाले आयातित वासिङ मेसिन र सोलार प्यानलमा विवादित भन्सार स्वीकृत गरेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ‘अमेरिका प्रथम’ व्यापार नीतिअन्तर्गत यस्तो कदम बाहिरिएको बताइएको छ । यस नीतिले स्वेदशी उत्पादनलाई विदेशी प्रतिस्पर्धीबाट जोगाउने उद्देश्य लिएको छ ।
‘अमेरिका प्रथम’ भन्सार नीतिले चिनियाँ सोलार प्यानल उत्पादक र दक्षिण कोरियाली वासिङ मेसिन उत्पादक बढी प्रभावित हुने बताइएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत वर्ष ह्वाइट हाउस आएदेखि नै यस्तो भन्सारको वकालत गर्दै आएका थिए जसलाई चीन र दक्षिण कोरिया दुवैले आलोचना गरेको बिबिसीले जनाएको छ । ‘ट्रान्स–प्यासिफिक पार्टनरसिप डिल (टिपिपी) बाट अमेरिकालाई फिर्ता बोलाउँदै नर्थ अमेरिकन फ्रि ट्रेड (नाफ्टा)मा पुनः सम्झौता गरेका अमेरिकी राष्ट्रपति ट्रम्पको अमेरिका प्रथम भन्सारसम्बन्धी व्यवस्था लागू भएको छ ।

भन्सार किन लागू गरिएको छ?
विदेशी राष्ट्रबाट आयातित सस्तो सामाग्रीका कारण स्थानीय उत्पादकलाई घाटा पुगेको अमेरिकी अन्तर्राष्ट्रिय व्यापार आयोगले जानकारी पाएपछि राष्ट्रपति ट्रम्पले यस्तो कडा नीति स्वीकृत गरेको बताइएको छ । घरेलु अमेरिकी उत्पादकले आश गरेको भन्दा सोलार प्यानलमा भने कम भन्सार लागू गरिएको भए पनि वासिङ मेसिन र पार्ट्समा लगाइएको भन्सार अपेक्षा गरिएको भन्दा पनि बढि रहेको बताइएको छ । केहीमा त ५० प्रतिशतसम्म भन्सार थपिएको अमेरिकी कागजातलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ ।

अमेरिकी सरकारले आफ्नो देशमा उत्पादन भएको वासिङ मेसिनमा अत्याधिक र सहन नसक्ने भन्सार लगाएको भन्दै दक्षिण कोरियाले यस विषयमा विश्व व्यापार संगठनमा निवेदन दिने बताएको छ । दक्षिण कोरियाको सामसुङ र एलजीले अमेरिकी उत्पादक ह्वीर्लपुलसँग वासिङ मेसिनमा प्रतिस्पर्धा गरिरहेको छ । यसैबीच विश्वको सबैभन्दा ठूलो सोलार प्यानल उत्पादन गर्ने देश चीनले भने अमेरिकाको पछिल्लो कदमले विश्व व्यापारको वातावरणलाई थप ध्वस्त बनाउने चेतावनी दिएको छ ।

भन्सारले कसरी काम गर्छ?
अमेरिका प्रथम भन्सार लागू गरिएको पहिलो वर्ष आयात गरिने पहिलो १२ लाख आवासीय वासिङ मेसिनलाई २० प्रतिशत भन्सार लागू गरिएको छ भने त्यसमाथिका सामानमा भने ५० प्रतिशत भन्सार लागू हुनेछ । तेस्रो वर्षबाट यो दर घटेर क्रमशः १६ र ४० प्रतिशत हुनेछ । त्यसैगरी पहिलो वर्ष आयात गरिने सोलार प्यानल र उपकरणमा ३० प्रतिशत भन्सार वृद्धि गरिएको छ र चौथौ वर्षदेखि १५ प्रतिशतमा झर्नेछ । तर २.५ गिगावाटसम्मको आयातित सोलार प्यानलमा भने भन्सार निशुल्क हुने बताइएको छ ।
प्रतिक्रिया कस्तो छ?

दक्षिण कोरिया र मेक्सिकोबाट आयातित सस्तो सामानबाट सुरक्षाको खोजी गरिरहेको अमेरिकी कम्पनी ह्वीर्लपुलले सरकारको यस्तो कदमको स्वागत गरेको छ ।‘यस घोषणाले दशक लामो समयदेखि भइरहेको मुद्दालाई सम्बोधन गरेको छ र यसले अब ओहिया, केन्टुकी, दक्षिण क्यारोलिना र टेनेसीमा उत्पदानसम्बन्धी नयाँ रोजगारीको सिर्जना हुनेछ,’ ह्वीर्लपुलका अध्यक्ष जेफ फेटिले विज्ञप्ति जारी गर्दै बताएका छन् । वातावरणविद्ले भने सोलार प्यानललाई थप महँगो बनाउनाले देशमा नवीकरणनीय ऊर्जा विकासलाई धक्का पुग्नसक्ने बताएका छन् ।

अमेरिकाको यस्तो निर्णयबाट प्रभावित हुने चीन र दक्षिण कोरियाले आक्रामक प्रतिक्रिया व्यक्त गरेका छन् । चीन अमेरिकाको सबैभन्दा ठूलो व्यापारिक साझेदार हो । चिनियाँ सरकारका प्रवक्ता वाङ हेजुनले अमेरिकाको यस्तो कदमप्रति बेइजिङले गतिलो असन्तुष्टि व्यक्त गरेको बताएका छन् । विश्व व्यापार संगठनका अन्य सदस्य राष्ट्रसँगै मिलेर चीनले कानुनी स्वार्थको प्रतिरक्षा गर्ने उनले चेतावनी दिएका छन् । उनले अमेरिकाको यस्तो योजनाले थुप्रै व्यापारिक साझेदारको ध्यानाकर्षण मात्रै नभई उसकै कतिपय स्थानीय सरकारले समेत विरोध गरेका बताएका छन् । दक्षिण कोरियाका व्यापार मन्त्री किम ह्युन–चोङले भन्सारले विश्व व्यापार संगठनको नियमलाई समेत उल्लङ्घन गरेको बताएका छन् । सामसुङले यस्तो भन्सारलाई वासिङ मेसिन किन्न चाहने सबै उपभोक्तामाथिको कर भएको बताएको छ ।

प्रकाशित: १० माघ २०७४ ०३:५१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App