६ वैशाख २०८१ बिहीबार
समाज

शहिद सप्ताह शुरु

काठमाडौं – देशका लागि आफूलाई बलिदान दिने शहिदहरुको सम्झनामा आजदेखि शहिद सप्ताह शुरु भएको छ। काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको संयोजकमा आयोजित शहिद सप्ताह मूल समारोह समितिले आजदेखि शहिद सप्ताह शुरु गरेको हो । सप्ताहको पहिलो दिन आज शुक्रराज शास्त्रीले शाहादत प्राप्त गरेको टेकु खरिबोटमा उनको तस्बिरमा माल्यार्पण गरी स्मरण गरिएको छ।

माल्यार्पण गर्ने क्रममा कामपाका प्रमुख शाक्यले शहिदको बलिदानले आर्थिक समृद्धि र सामाजिक रुपान्तरण सम्भव भएको भन्दै प्राप्त उपलब्धिको संस्थागत एवं सदुपयोगले शहिदप्रति सच्चा श्रद्धाञ्जली हुने बताए। 

विसं १९५० मा बनारसमा जन्मिएका शुक्रराज शास्त्री धार्मिक गतिविधिमार्फत जहानियाँ शासनविरुद्ध जागरण अभियानमा सक्रिय थिए । यसै क्रममा काठमाडाैको इन्द्रचोकमा प्रवचनका माध्यमबाट जनतालाई प्रजातन्त्रका पक्षमा उक्साएको आरोप लगाएर उनलाई पक्राउ गरिएको थियो। 

जेल सजाय भोगिरहेकै बेला राणा शासनविरुद्ध देश विदेशमा भएका भूमिकामा नाइके भएको आरोप लगाई उनलार्ई १९९७ माघ १० गते टेकु पचलीस्थित खरिबोटमा झुण्ड्याएर मृत्युदण्ड दिइएको थियो। 

शास्त्रीको श्रद्धाञ्जलीसभा भएको उक्त स्थानलाई विसं २०३५ मा तत्कालीन काठमाडौँ नगर पञ्चायतले शिलालेख राखी संरक्षण शुरु गरेको हो। 

त्यस्तै माघ १३ गते सिफलस्थित धर्मभक्त माथेमाले अमरत्व प्राप्त गरेको स्थानमा र १५ गते गंगालाल श्रेष्ठ र दशरथ चन्दले अमरत्व प्राप्त गरेको स्थान शोभाभगवतीमा श्रद्धाञ्जलीसभा हुनेछ। 

त्यसैगरी माघ १६ गते सहिद स्मारक लैनचौरमा श्रद्धाञ्जलीसभा हुनेछ । यसैबीचमा महानगरले स्वास्थ्य शिविर तथा विद्यालयस्तरीय वकृत्वकला कार्यक्रमको आयोजना पनि गर्नेछ । करिब २० वर्षपछि कामपाले जनप्रतिनिधिको साथमा शहिद सप्ताह मनाउन शुरु गरेको हो। (रासस)

प्रकाशित: १० माघ २०७४ ०८:१७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App