८ वैशाख २०८१ शनिबार
अर्थ

अदुवा निकासीको उपाय खोज्दै


इलाम – भारतीय पक्षले अनुमति नदिँदा भन्सार पुर्याएर फर्काइएको करोडौं रुपैयाँको नेपाली अदुवा पुनः निर्यातका लागि सरकारी निकायले ‘प्रयास’ थालेको छ ।

भन्सारबाट फर्काइएको अदुवा निकासीका लागि तत्कालीन र दीर्घकालीन गरी दुईखाले समाधान प्रयास भइरहेको वाणिज्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार तत्काललाई अदुवा निकासी खुलाउन भारतीय दूतावासमार्फत् पहल गरिएको हो । मन्त्रालयका प्रवक्ता रविशंकर सैंजुले मंगलबार नै भारतीय दूतावासमा नेपाली अदुवा रोकिएकोबारे जानकारी दिएको बताए । ‘हामीले पनि दुई सातादेखि अदुवा निकासी रोकिएको जानकारी मंगलबार मात्रै पायौं,’ सैंजुले नागरिकसँग भने, ‘तत्कालै दूतावासमा कुरा गरेर निकासी खुलाउने पहल गरिदिने भनेका छौं ।’ दूतावासले भारतीय वाणिज्य विभाग र सम्बन्धित निकायलाई त्यसबारे जानकारी गराउने जनाएको उनले बताए । ‘दूतावासले तत्काल माथि (भारतीय सरकारी निकाय)मा जानकारी गराएर खबर गर्छौं भनेको छ,’ सैजुले भने ।

उनका अनुसार दूतावासमा तत्कालको समस्या (निकासीमा अवरोध) समाधानका लागि मात्रै पहल गरिने छ । अदुवा निकासीको दीर्घकालीन समाधानका लागि भने आउँदो फेब्रुअरीमा पोखरामा दुवै देशका अधिकारीबीच बैठक आयोजना गरिने उनले बताए । ‘भन्सारबाटै फर्काइएका गाडीको र यो सिजनको अदुवा निकासीका लागि हुने समाधान दूतावासमार्फत् केही दिनभित्रै आउने आशा छ,’ उनले भने, ‘लामो समययता देखिएको निकासी समस्याको दीर्घकालीन समाधान भने द्विपक्षीय बैठकमा मात्रै हुनेछ ।’
उत्पादनको ९० प्रतिशतभन्दा बढी भारत पुग्ने नेपाली अदुवाको निकासी २ सातायता ठप्प छ ।

पानीट्यांकीस्थित भारतीय भन्सारका कर्मचारीले ‘नेपाली अदुवा नलिन माथिको आदेश छ’ भन्दै अनुमति नदिएपछि झापाको काँकडभिट्टास्थित मेची भन्सार कार्यालयमा ६० वटाभन्दा बढी अदुवा भरिएका ट्रक रोकिएका थिए । ट्रकको अदुवा त्यहीं कुहिने भएपछि व्यवसायी सोमबार ती ट्रकको अदुवा गोदामतिरै फर्काउन बाध्य भएका छन् । इलाम, पाँचथर, तेहथुम, ताप्लेजुङ, झापा, उदयपुरलगायत देशभर उत्पादन भएको अदुवा काँकडभिट्टा भएरै भारत निकासी हुने गरेको छ ।

तर, नेपाली अदुवा भारत निकासी गर्न नसकेपछि भन्सारबाटै फर्काउन बाध्य व्यवसायी सरकारले भारतसँग कूटनीतिक पहल नगर्दा चिन्तित देखिएका छन् । व्यवसायीले सरकारी निकाय र सरकारी निकायले व्यवसायीलाई ‘जिम्मेवार’ देखाउँदाको सोझो असर चाहिँ किसान र व्यवसायीलाई नै परेको छ । यतिका दिन गाडी रोकिँदा भारतीय पक्षसँग सरकारी निकायका उच्च अधिकारीले निकासीको पहल नगरेको व्यवसायीले गुनासो गरेका हुन् । ‘अदुवा रोकिएपछि पटक–पटक प्रयास गर्दा सरकारी निकायबाट केही समाधान आएन,’ अदुवा उत्पादक तथा व्यवसायी संघ अध्यक्ष नरेन्द्र खड्काले भने ।

तर, नेपाली व्यवसायी भारतीय एजेन्टको भर पर्दा अदुवा निकासीमा बेला–बेला समस्या आउने गरेको प्रवक्ता सैंजु बताउँछन् । नेपाली व्यापारीले भारतीय मुख्य व्यापारीसँगै सम्झौता गरेर अदुवा निकासी गर्ने हो भने यस्तो समस्या बारम्बार आउन नपाउने सैंजुको भनाइ छ । ‘भारतको पनि आफ्नै व्यापार नीति होला, त्यसमा टेकेर अनुमतिपत्र लिएर निकासी गर्ने हो भने समस्या आउँदैन,’ उनले भने, ‘अनुमतिपत्रबिनाका एजेन्टको भर पर्दा निकासीमा बेला–बेला समस्या नम्तिने गरेको छ ।’

‘फ्रेस जिन्जर’लगायत बालीको क्वारेन्टाइन जाँच सबै देशमा हुने गरेको सैंजुले बताए । ‘आफ्नो वस्तुको गुणस्तर कायम राख्ने जिम्मा उत्पादक र व्यापारीको हो,’ उनले भने, ‘भएको गुणस्तरलाई सबै प्रावधान पु¥याउँदा निकासीमा कानुनी रूपले अप्ठ्यारो चाहिँ छैन ।’ सैंजुले नेपाली कृषिउपजको भारत निर्यात अझ सहज बनाउन आउँदो फेब्रुअरीमा हुने बैठकमा गम्भीर छलफल हुने बताए । ‘आउँदो बैठकमा ठोस समाधान निकाल्नेगरी छलफल गर्ने योजनामा छौं,’ उनले भने ।

तर, भारतीय व्यवसायीले भारतीय वाणिज्य विभागबाट दिइएको कोटाको अदुवा मात्रै खरिद गर्ने भन्दै नेपाली अदुवा भन्सारबाटै लिन नदिएको नेपाली व्यवसायी बताउँछन् । ‘भारतले यो पटक नेपाली व्यवसायीलाई हेरेस्ट नै गरेको छ,’ संघ अध्यक्ष नरेन्द्र खड्काले भने, ‘नेपाल–भारत वाणिज्य सन्धिविपरीत नेपाली कृषिउपज निकासीमा भन्सारले अवरोध ग¥यो ।’ भारतले कहिले चिनियाँ अदुवाको मिसावट र कहिले वस्तु तथा सेवा कर (जिएसटी)को कारण देखाएर नेपाली अदुवा आयातमा अवरोध गरिरहेको व्यवसायी बताउँछन् । ‘तर, यो पटक चाहिँ भारतले नेपाली अदुवालाई प्रतिबन्ध नै गर्नेगरी भन्सारमै रोकेको छ ।’

करिब ३ वर्षयता नेपाली कृषिजन्य वस्तु भारत निकासीमा समस्या देखिन थालेको व्यवसायी बताउँछन् । काँकडभिट्टा नाकामा नेपाली अदुवा अलपत्र बनाइएको ३ पटक भइसकेपनि भन्सारबाट फर्काउनुपरेको चाहिँ यो पहिलो पटक हो । व्यवसायीले पटक–पटक वाणिज्य मन्त्रालय र दूतावासमा पहल गरेपनि बाम्बार अदुवाको समस्या निम्तिने गरेको भन्दै अब प्रधानमन्त्रीकै स्तरमा कुरा हुँदा मात्रै समाधान निस्किने बताएका छन् । अध्यक्ष खड्काले वर्षाैंदेखि प्रयास गरेपनि कुनै न कुनै बहानामा भारतले अदुवा निकासी अवरोध गरेको बताए । उनले भने, ‘अब पनि समस्या नसुल्झिए करोडौं अदुवा निकासी नै ठप्प हुन्छ ।’

संघले यो सिजनमा ८ सय ट्रक अदुवा निकासी भइसकेको र २ हजार ५ सय ट्रक हाराहारी अदुवा निकासी हुन बाँकी रहेको जनाएको छ । देशको कुल अदुवामध्ये ३१ प्रतिशत उत्पादन पूर्वका जिल्लामा हुन्छ । नेपालमा बर्सेनि करिब ५ लाख मेट्रिक टन अदुवा उत्पादन हुने गरेको तथ्यांक छ ।


 

प्रकाशित: ११ माघ २०७४ ०२:३७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App