८ वैशाख २०८१ शनिबार
राजनीति

गुल्मीमा जित्नेको भन्दा हार्नेकोे निर्वाचन खर्च बढी

गुल्मी – गुल्मीमा २१ मंसिरमा भएको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा जित्नेको भन्दा हार्ने उम्मेदवारको निर्वाचन खर्च बढी देखिएको छ । गुल्मीमा दुई प्रतिनिधि तथा चार प्रदेशसभा निर्वाचन क्षेत्रका लागि ५२ जनाको उम्मेदवारी परेको थियो । उनीहरूले निर्वाचन सकिएको मितिले ३५ दिनभित्र जिल्ला निर्वाचन कार्यालयमा निर्वाचन खर्च विवरण बुझाउनु पर्ने कानुनी व्यवस्था रहेको छ।

अहिलेसम्म निर्वाचन कार्यालयमा ४२ जना उम्मेदवारले निर्वाचन खर्च विवरण बुझाएका छन् । सोही विवरणका आधारमा जित्नेकोभन्दा हार्ने उमेद्वारको खर्च बढी देखिएको छ । प्रतिनिधिसभा क्षेत्र नं १ को प्रदेशसभा १ का उम्मेदवार सुर्दशन बरालको बाहेक सबै प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन क्षेत्रमा हार्ने उम्मेदवारले बढी खर्च गरेका छन्।

प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा विजयी प्रदीप ज्ञवाली र गोकर्ण बिष्टको भन्दा पराजित चन्द्र भण्डारी र चन्द्र केसीको निर्वाचन खर्च बढी रहेको छ । उम्मेदवारले जिल्ला निर्वाचन कार्यालयमा बुझाएको निर्वाचन खर्च विवरण हेर्दा यस्तो पाइएको हो।

प्रतिनिधिसभातर्फ क्षेत्र नं १ का तर्फबाट कांग्रेस उम्मेदवार चन्द्र भण्डारीले सबै भन्दाबढी खर्च गरेका छन् । भण्डारीले कुल २४ लाख २५ हजार रुपैयाँ खर्च गरेको विवरण निर्वाचन कार्यलयमा पेश गरेका छन्। उनका प्रतिस्पर्धी एमालेका प्रदीप ज्ञवालीले १८ लाख एक सय ७० खर्च गरेको जिल्ला निर्वाचन कार्यालयले जानकारी दिएको छ। त्यस्तै प्रतिनिधिसभा क्षेत्र नं २ मा पनि कांग्रेस उम्मेदवार चन्द्र केसीले २४ लाख १७ हजार पाँच सय खर्च गरेका छन् भने उनका प्रतिस्पर्धी एमाले उम्मेदवार गोकर्ण विष्टले २२ लाख ७५ हजार खर्च विवरण बुझाएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख गणेशबहादुर खत्रीले बताए । उनीहरूले निर्वाचन निर्देशिका २०७४ बमोजिम २५ लाखसम्म खर्च गर्न पाउने कानुनी व्यवस्था रहेको छ।

त्यस्तै प्रदेश सभातर्फ पनि अधिकांश कांग्रेस उमेदवारकै निर्वाचन खर्च बढी छ । प्रतिनिधिसभा क्षेत्र नम्बर १ को प्रदेशसभा क्षेत्र १ मा विजयी बनेका माओवादीका सुदर्शन बरालबाहेक सबै पराजित उम्मेदवारकै खर्च विवरण बढी रहेको छ । बरालले १४ लाख ९२ हजार २ सय ७७ रुपैयाँ खर्च गरेका छन् । उनका प्रतिस्पर्धी कांग्रेसका पृथबहादुर फौजदारले १४ लाख ८३ हजार १ सय रुपैयाँ खर्च विवरण जिल्ला निर्वाचन कार्यालयमा बुझाएका छन् । सोही निर्वाचन क्षेत्र अन्तर्गत प्रदेश सभा २ मा एमालेका तर्फबाट कमलराज श्रेष्ठले ८ लाख ९२ हजार २ सय ८० खर्च गरेको पाइएको छ । उनका प्रतिस्पर्धी कांग्रेसका धनेन्द्र कार्कीले १४ लाख ७६ हजार ८ सय खर्च गरेका छन् । प्रतिनिधिसभा क्षेत्र नम्बर २ को प्रदेशसभा १ मा एमालेका तर्फबाट विजयी खड्ग केसीको निर्वाचन खर्च १४ लाख ४० हजार रुपैयाँ रहेको छ भने उनका प्रतिस्पर्धी कांग्रेसका शालिकराम पन्थीले १४ लाख ७५ हजार रुपैयाँ निर्वाचनमा खर्च विवरण बुझाएको जिल्ला निर्वाचन कार्यलयले जनाएको छ । सोही निर्वाचन क्षेत्रकै प्रदेशसभा २ मा विजयी माओवादीका दिनेश पन्थीले १४ लाख १६ हजार ३ सय ७६ खर्च गरेका छन् भने प्रतिस्पर्धी कांग्रेसका छन्दबहादुर पहाराईले कुल १५ लाख  खर्च गरेको विवरण पेश गरेको कार्यालयका नायब सुब्बा श्यामलाल पाण्डेयले बताए । उनीहरूले निर्वाचन निर्देशिका २०७४ बमोजिम १५ लाखसम्म खर्च गर्न पाउने कानुनी व्यावस्था रहेको छ । प्रतिनिधिसभातर्फ सबैभन्दा कम संघीय समाजवादी फोरम नेपालका दुर्गाबहादुर सर्तुंगीले गरेका छन् । उनले ६२ हजार आठ सय रुपैयाँ निर्वाचन खर्च जिल्ला निर्वाचन कार्यालयमा बुझाएका छन् । सर्तुगी प्रतिनिधिसभा क्षेत्र नं १ का उम्मेदवार थिए । प्रदेशसभातर्फ राष्ट्रिय जनमोर्चाका ओम बहादुर कँुवरले सबैभन्दा कम खर्च विवरण बुझाएका छन् ।  उनी प्रतिनिधिसभा क्षेत्र नं १ को प्रदेशसभा १ का उम्मेदवार थिए । कँुवरले एक लाख १७ हजार खर्च विवरण जिल्ला निर्वाचन कार्यालयमा बुझाएको पाण्डेयले बताए।

प्रकाशित: ११ माघ २०७४ ०२:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App