coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
विचार

किसानका कठिनाइ

कृषिप्रधान मुलुकमा सबैभन्दा बढी समस्यामा कोही परेका छन् भने ती हुन् किसान । मुलुकको राजनीतिमा किसानको उत्थान र कृषि क्रान्तिको नारा सबैले दिएका छन् तर समस्या पर्दा किसान एक्लै हुन्छन् । किसानले आफ्नो उत्पादनको बजार हेरेर काम गर्ने भए पनि नीतिगत अस्थिरताले उनीहरू जहिल्यै पिरोलिनुपर्ने अवस्थामा छन् । घरेलु उपभोगका निम्ति स्वदेशी उत्पादन उपलब्ध भए पनि विदेशी आयातित कृषिजन्य वस्तुको निर्बाध प्रवेशले तिनलाई जहिल्यै मर्कामा पार्ने गरेको छ । नेपाली किसानले मेहनत गरी कृषि उपज बढाएर निर्यात गर्न थाले भने छिमेकी भारतले कुनै न कुनै रुपमा अवरोध गर्ने गरेको छ । अहिले भारतको यस्तै अवरोधका कारण अदुवा खेती गरिरहेका पूर्वी नेपालका किसानले ठूलो नोक्सानी बेहोर्नुपरेको छ । यो अवस्था लगभग प्रत्येक वर्षजसो आइरहेको छ । गत वर्ष पनि काँकडभित्ता नाकासँग जोडिएको भारतको पानीट्यांकी भन्सारले विभिन्न बहानामा नेपाली अदुवा निकासीमा रोक लगाएको थियो । कहिले नेपाली अदुवाको नाममा चिनियाँ अदुवा आएको भन्दै निर्यातमा अवरोध हुन्छ । कहिले क्वारेनटाइन जाँचका लागि भन्दै कोलकातासम्म पु¥याउनुपर्ने अवस्था सिर्जना गरिन्छ । यस्ता घटनाले कैयन दिनसम्म नेपाली किसानको मूल्यवान् उत्पादन नाकामै असरल्ल अवस्थामा रहने गरेको छ।

नेपाली किसानले मेहनत गरी कृषि उपज बढाएर निर्यात गर्न थाले भने छिमेकी भारतले कुनै न कुनै रुपमा अवरोध गर्ने गरेको छ । अहिले भारतको यस्तै अवरोधका कारण अदुवा खेती गरिरहेका पूर्वी नेपालका किसानले ठूलो नोक्सानी बेहोर्नुपरेको छ।

नेपालीले अहिले भोगिरहेको अदुवाको जस्तै समस्या कहिले अलैंचीमा त कहिले अम्रिसोजस्ता कृषिजन्य उत्पादनको निकासीमा पनि देखिएको हो । नेपाली गलैंचादेखि पस्मिनासम्मको अवस्था विगतमा यस्तै रहेको हो । नेपाली वनस्पति घिउले भोग्नुपरेको निकासी समस्याबारे पनि नेपाली भुक्तभोगी छन् । नेपाल–भारतबीचको वाणिज्य सन्धिले नेपाली कृषिजन्य उत्पादन भारत निकासीका लागि सुविधा दिएको छ । यस्ता उपज निकासीमा भारतले कुनै पनि नाममा भन्सार नलिनुपर्ने हो । अदुवाले पनि यही सुविधाअनुसार निकासीको मौका पाउँदै आएको थियो तर पछिल्ला वर्षमा भारतीय किसानले अदुवा उत्पादन गर्न थालेपछि तिनलाई संरक्षण गर्न त्यहाँको प्रान्त र केन्द्र सरकारको दबाबमा नेपाली उत्पादनका निम्ति अनेकन झन्झटको अवस्था भन्सार नाकामा सिर्जना गर्न थालिएको छ । केही दिनदेखि नेपाली किसानको उत्पादनले निकासी हुन नपाएपछि उनीहरु लाई परेको समस्याबारे दिनहुँजसो समाचार छापिइरहेका छन् । यस अर्थमा यो समस्याबारे नेपाल र भारत दुवै देशका सरकार जानकार भए पनि समाधानका उपाय निकाल्न सकेका छैनन् । भारत सरकारले जहिल्यै आफ्ना किसानलाई प्रोत्साहित गर्छ । कृषिमा सहुलियत दिएर समेत उत्पादन बढाउने नीति अंगीकार गरेको देखिन्छ । नेपाल सरकारले भने कहिल्यै किसानलाई प्रोत्साहित गर्न सकेको छैन । भारतले आफ्ना किसानको हितका लागि आयात हुने वस्तुमा रोक लगाउँछ भने नेपालले यहींका किसानलाई स्वदेशी उत्पादन बढाउन किन प्रोत्साहित गर्न सकेको छैन ?

नेपालमा उत्पादन हुने तरकारी र कृषिजन्य उपज भारत र चीन दुवै देशबाट निर्बाध आइरेहका छन् । पछिल्ला केही वर्षयता नेपाल लगभग अन्डा र कुखुराको मासुमा आत्मनिर्भर भइसकेको अवस्था छ । यहाँ किसानलाई प्रोत्साहित गर्ने हो भने वार्षिक करिब एक खर्बबराबरको कृषिजन्य उत्पादन भई व्यापार घाटा कम गर्न सहयोग पुग्छ । अहिले नेपालको निर्यात तथा आयातको अनुपात नसुहाउँदो अवस्थामा छ । हामी एक रुपैयाँको सामान निर्यात गर्दा १५ रुपैयाँको सामान आयात गरिरहेका छौं । स्वदेशी किसानलाई सिँचाइ, मल र सहुलियत ऋण व्यवस्था गर्ने हो भने देशको उत्पादन बढ्नेमात्र छैन, त्यसले रोजगारीका सम्भावना पनि बढाउँछ । आज नेपालीले रोजगारीका लागि अत्यन्त कठिन श्रम बजारमा जाँदा जीवन गुमाउनुपर्ने अवस्था छ । मुलुकले गर्ने ८ खर्बको आयात र करिब ८० अर्बको निर्यातले अर्थतन्त्र धानिन सक्दैन । कुनै वस्तु निर्यात हुन थाल्यो भने पनि त्यसमा अवरोध आउन थाल्छ । नेपालले खसीबोका आयात गर्न मात्र १५ अर्ब रुपैयाँभन्दा बढी खर्च गर्ने गरेको छ । किसानका समस्यामा ध्यान दिने हो भने आन्तरिक खपतका निम्ति उत्पादन बढाउन सकिन्छ । यहीं बाख्रा पालन गर्ने हो भने पनि राष्ट्रिय अर्थतन्त्रमा ठूलो टेवा पुग्नेछ । धनियाको सागसमेत विदेशबाट आयात गरेर अर्थतन्त्र कसरी दिगो बन्छ ? अदुवामा निकासीका सन्दर्भमा अहिले देखिएको किसानप्रतिको अन्यायपूर्ण स्थितिमा सुधार गर्न सरकारले बेलैमा ध्यान पु¥याए मात्र मुलुक समृद्धिको बाटोमा अघि बढ्नेछ ।

प्रकाशित: ११ माघ २०७४ ०३:५३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App