८ वैशाख २०८१ शनिबार
अन्य

लाइन लाग्न मान्दैनन् यात्रु

यात्रु र पार्किङ गरिएका सवारीले सडक किनार भरिएको छ । ट्राफिक प्रहरी सडक किनारमा यात्रुलाई लामबद्ध गराउँदै छन् । शनिबार साँझ सुन्धारामा यस्तै दृश्य देखियो।

सुन्धारामा मात्र होइन, उपत्यकाका अन्य क्षेत्रमा पनि यात्रु लाइन लागेर सवारी कुर्न थालेका छन् । 
‘लाइन लागेपछि पालोअनुसार सवारी चढ्न पाइन्छ,’ भक्तपुर, कौशलटारका सुन्दर खड्काले भने, ‘यसो गर्दा वृद्ध र बालबालिकालाई सहज हुन्छ ।’ उनले यस्तो नियमले सडकमा भागदौड कम हुने बताए। 

सुन्धारा सवारी र यात्रुले भरिभराउ हुने क्षेत्र हो । यहाँ सवारी चढ्न र किनमेल गर्न आउनेको घुइँचो लाग्छ। 

सवारी कुर्न लाइन लागेकी जडिबुटीकी नविना बस्नेतले पनि लाइनले गाडी चढ्न सहज भएको सुनाइन् । ‘सहज त हुन्छ, तर सवारीसाधन समयमै नआउँदा धेरै कुर्नुपर्ने समस्या छ,’ उनले भनिन् । उनले यो नियम लागू भएपछि सडकमा भीड पनि नदेखिएको बताइन्। 

महानगरीय ट्राफिक प्रहरी महाशाखाले साताअघि उपत्यकाभित्र यात्रुको चाप बढी भएका ठाउँमा यात्रुलाई लाइन लगाएर गाडी चढाउने नियम लागू ग¥यो । तर, उक्त नियम कार्यान्वयन गर्न कठिन भएको ड्युटीमा खटिएका ट्राफिक प्रहरी बताउँछन् । 

महानगरीय ट्राफिक प्रहरी महाशाखाले चार साताअघि उपत्यकाभित्र यात्रुको चाप बढी भएका ठाउँमा यात्रुलाई लाइन लगाएर गाडी चढाउने नियम लागू ग¥यो । तर, उक्त नियम कार्यान्वयन गर्न कठिन भएको ड्युटीमा खटिएका ट्राफिक प्रहरी बताउँछन्। 

‘टेर्ने यात्रु भए त ठिकै हो, कतिपय अटेरी हुन्छन्,’ आइतबार सुन्धारामा ड्युटीमा खटिएका ट्राफिक प्रहरी असई भीमबहादुर रानाभाटले भने, ‘यात्रुको अटेरीले यो नियम त्यति प्रभावकारी भएको छैन।’ 

उनले नियम कार्यान्वयन गर्न महाशाखाले आवश्यक जनशक्ति भने परिचालन गर्न नसकेको बताए । ‘हामीले सवारी हेर्ने कि यात्रुलाई लाम लगाउने ? यी दुवैतिर ध्यान दिनुपर्दा अप्ठेरो परेको छ,’ रानाभाटले भने, ‘फुटपाथले गर्दा यो नियम लागू गर्न झनै असहज भइरहेको छ ।’ उनका अनुसार सडकमा भीड कम गर्न, सवारी आवागमनलाई सहज पार्न र पकेटमार हुन नदिन यो नियम लागू गरिएको हो । सुन्धारा, रत्नपार्क, माछापोखरी, कोटेश्वर, सामाखुसी, महाराजगन्ज, गौशाला, चावहिल, सभागृह अगाडिका सडकमा यो नियम लागू गरिएको उनले बताए। 

महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रवक्ता उमेश रञ्जितकार यात्रुको अटेरीले नियम कार्यान्वयन गराउन अप्ठेरो परेको बताउँछन् । ट्राफिक प्रहरीको आँखा छली यात्रुले नियम मिच्ने गरेको उनले बताए । त्यसले यात्रुलाई लाइन लगाएर गाडी चढाउने नियम प्रभावकारी नभएको उनको गुनासो छ । ‘कतिपय यात्रु ट्राफिकलाई समेत नटेर्ने हुन्छन्, त्यस्तो अटेरी गर्नेलाई गृह मन्त्रालयले यस्तो कारबाही गर्नु भनेर तोकेकै छैन,’ उनले भने, ‘हामीले सीधै हचुवाको भरमा कारबाही गर्न भएन।’ 

सडक साँघुरो हुनु, यात्रुले अटेरी गर्नु, ट्राफिक जाम हुनु जस्ता कारण पनि नियम कार्यान्वयनमा कठिनाइ देखिएको छ । महाशाखाका अनुसार अहिले यो नियम लागू गराउन दुई सयभन्दा बढी थप ट्राफिक प्रहरी खटाइएको छ । ती ट्राफिकको काम यात्रु ओराल्ने, लाइन लगाउने, लाइनमा नबस्ने सवारीलाई कारबाही गर्ने, चिट काट्ने लगायत छन् । 

सिटमा बस्न लुछाचुँडी
उपत्यकामा चल्ने सवारीमा यात्रुले सिट पाउन मुस्किल पर्ने भएकाले सिटमा बस्न लुछाचुँडी हुने गरेको छ। लामो समय पर्खेपछि आउने आफ्नो रुटका बस, माइक्रो र टेम्पो चढ्न बसेका यात्रुबीच सिटमा बस्न लुछाचुँडी हुने गरेको हो। ठेलमठेल, तानातान र घचेटाघचेटमा तन्नेरी र बलिया सवारी–साधनको सिटमा बस्छन् । महिला, बालबालिका, वृद्धवृद्धा र अशक्त भने उभिन बाध्य हुन्छन्। काठमाडौंका मुख्य रुटमा हरेक दिन यस्तै दृश्य देखिन्छ । सवारीको सिटमा भन्दा बढी यात्रु प्यासेजमा उभिएका हुन्छन्। 

‘जामले गर्दा पिक आवरमा सवारी समयमै गन्तव्यसम्म पुग्न पाउँदैनन्, सडकमा सवारी पर्खने यात्रुको भीड हुन्छ,’ लगनखेल–सुन्धारा रुटमा बा.२ख १३६२ नम्बरको माइक्रो चलाउँदै आएका श्याम थापाले भने, ‘सबैभन्दा बढी त सिटमा बस्नका लागि यात्रुबीच झगडा पर्छ ।’ महाशाखाका प्रवक्ता रञ्जितकारले सवारी–साधनमा छुट्याइएका आरक्षण सिटमा बस्ने सम्बन्धित बाहेकका यात्रु चढे कारबाही हुने बताए । उनले एक महिनाको अवधिमा यसरी आरक्षण सिटमा बस्ने दुई सयभन्दा बढी यात्रु कारबाहीमा परेको बताए । ‘हामीले बेला–बेला भित्री सिट पनि हेर्ने गरेका छौँ,’ उनले भने, ‘पालो र नियमअनुसार यात्रु सिटमा बस्न सकून् भनेरै लाइन लगाउने नियम लागू गरेका हौँ ।’ 

प्रकाशित: १२ माघ २०७४ ०७:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App