coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्य

ताङतिङ–याङ्जाकोट एक्सप्रेस (फाेटाे फिचर)

होमस्टे सुविधासहित ग्रामीण पर्यटन गन्तव्यका रुपमा चम्केका कास्कीका गाउँ हुन्–ताङतिङ र याङ्जाकोट । केही वर्ष अघिसम्म त्यहाँ पुग्न पोखराबाटै हिँड्नु पथ्र्यो । अचेल दुबै गाउँलाई सडक सञ्जालले जोडेको छ । काहुँखोलाबाट बस र जिप ओरीदोरी गर्छन । मोटर बाइकमा पनि सजिलै जान सकिन्छ।  

सडक पुगेसँगै यी गाउँमा आन्तरिक पर्यटकको चहलपहल बढ्दै गएको छ । नेपालीमाझ खाने, पिउने र रमाउने संस्कृति झ्याँगिदैछ । बिशेषतः पोखरामा बस्नेहरु बरोबर ताङतिङ र याङ्जाकोट उकालिन्छन् । अनि हयाङगआउट भएर फर्कन्छन्।  

गाउँमा टहलिँदा साताभरको थकानबाट तन र मन दुबैलाई तन्दुरुस्त बनाउन सकिन्छ । शुद्ध हावा, शुद्ध पानी र अग्र्यानिक परिकार गाउँका बिशेषता । त्यसमाथि रसिला, भरिला र हँसिला गाउँलेको माया । दोहो¥याई, तेहे¥याई त्यतै जान मन लाग्छ।  

भिटोफले कास्कीका ताङतिङ, करापु डाँडा र याङ्जाकोटलाई जोड्न ‘होमस्टे टे«ल’ एक्सप्लोर गरेको छ । गुरुङ बस्तीमा पारिवारिक माहौल पाइन्छ । त्यहाँ गाउँलेको आत्मीयताले लठ्ठै पार्छ ।  

पैदल यात्राका हिसाबले एक दिनको बाटोमा छन् ताङतिङ र याङजाकोट । दुबै मादी गाउँपालिकामा पर्छन । मादी–२ मा दुई सय घर छन् । गुरुङ बाहुल्य गाउँमा दलितका केही घर छन् । त्यस्तै ३ नं वडामा करिब दुई सय पचास घर छन्–गुरुङ, दलित र क्षेत्रीका। 

प्राकृतिक, साँस्कृतिक र जैविक विविधताका हिसाबले दुबै गाउँ भरिपूर्ण छन् । हरिया जंगल, सेता हिमाल, चराको चिरबिर । ताङतिङबाट अन्नपूर्ण र लमजुङ हिमाल देखिन्छ । याङ्जाकोटबाट कुमारी माछापुच्छ्रेको पनि दर्शन मिल्छ। 
गुरुङ संस्कृति र जीवनशैली त भन्नै परेन । ढुँगाको गारो, ढुँगाकै छानो र ढुँगाकै आँगन । सफा गोरटामा पनि ढुँगै छापिएका । साँझ गाउँलेसँगै घाटु, कृष्णचरित्र, सोरठी र लोकगीतमा झुम्न पाइन्छ। 

गाउँमा भाँग्रा र कम्बल बुनेका दृश्य सामान्य हुन् । दुबै गाउँमा दुई दुई रात बस्ने गरी यात्रा योजना बनाउनु बेस हुन्छ ।   
गाउँ डुल्दा एउटा कुराले मन कटक्कै खान्छ–दुबै गाउँमा युवा कम छन् । देशका अन्य गाउँहरुमा जस्तै यहाँका युवा पनि रोजगारको खोजीमा परदेश पुगेका छन् । केटाकेटी, बुढाबुढी र महिला मात्रै छन् गाउँमा।   

लोकल उत्पादन कोदो, आलुका परिकार पाक्छ भान्छामा । त्यति मात्र होइन विकासे बिस्कुटदेखि कोकाकोलासम्म पाइन्छ। 

सहरमा जन्मे/हुर्केका बालबालिकालाई गाउँघर डुलाउन सके ठूलो उपलब्धी हुनेछ । खासमा हाम्रा गाउँहरु अघोषित पाठशाला हुन् । त्यहाँ खेतीपाती गरेको, दुध दुहेको, ढिकी जाँतो चलाएको ग्रामीण जीवनशैली अध्ययन गर्न सकिन्छ । 
त्यसो त युवा, बालबालिका, बृद्ध सबैका लागि घुम्न लायक छन् ताङतिङ र याङ्जाकोट । पुग्न पनि खासै गाहे छैन, गाउँमै पुग्छ बस । ताङतिङ (१,६८५ मिटर)मा ०६७ सालदेखि होमस्टे गराउन थालिएको छ । सस्तोमा खाना र बास पाइन्छ । ताङतिङका १३ घरमा होमस्टे सुविधा छ भने याङ्जाकोटका ८ घरमा।

ताङतिङको पारिपट्टि सिक्लेस गाउँ छ । सिक्लेसको टुप्पीमा सेताम्मे हिमाल देखिन्छ । याङ्जाकोट (१,४७५मिटर)बाट चाहिँ पोखरा उपत्यका पनि देखिन्छ । राती झन सुन्दर देखिन्छ पोखरा। 

डाँडाको काखमा बसेको छ ताङतिङ । याङ्जाकोट चाहिँ गुचुमुच्च छैन, खुल्ला छ। 
दुबै गाउँबाट फर्किंदा सिजन अनुसार तरकारी साग, निगुरो, कुरिलो, वनतरुलका साथै अलैंची, बेलौती, मह आदि कोसेली ल्याउन सकिन्छ। 

गाउँमा लोडसेडिङ हुँदैन । लघु जलविद्युतले सजिलो भएको । घुमन्तेका लागि गाउँ रमाइला छन् । कवि, लेखक र कलाकारको पनि साधनास्थल बन्न सक्छन् यी गाउँ । तिनले हप्तौं वा महिनौंसम्म त्यहाँ बसेर सृजना गर्न सक्छन् । यसो भनौं, गाउँलाई सृजनाग्राममा रुपान्तरण गर्न सकिन्छ।   

ग्रामीण पर्यटनमा क्रियाशिल गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) नेपालको सक्रियतामा भर्खरै होमस्टे ट्रेल एक्सप्लोर गरिएको छ । उसले ताङतिङ, करापु डाँडा र याङ्जाकोट जोड्न नयाँ ब्राण्ड ‘होमस्टे ट्रेल’ अघि बढाएको हो ।  
भिटोफ केन्द्रका सहकोषाध्यक्ष कृष्णबहादुर सुवेदीको नेतृत्वमा पूर्व अध्यक्ष चित्रबहादुर गुरुङ, पूर्व महासचिव राजकुमार थापा, भिटोफ पोखराका संस्थापक अध्यक्ष तारानाथ पहारी, वर्तमान अध्यक्ष रविन्द्र पौडेल, अध्येता शुरेन्द्र राना सहितको टोली संभाव्यता अध्ययन गरेर फर्केको छ।

गाउँलेको मायाबाट पोखरेली काँग्रेस नेता नरेशशंकर पालिखे मख्ख परे । ‘परिवारसँग म फेरी ताङतिङ र याङ्जाकोट घुम्न आउनेछु’, बेलाबेला गाउँघर डुलि हिँड्ने घुमन्ते नेता भन्दैथिए। 

टोलीले गाउँलेका आँखामा उत्साह थपिदियो । एक्सप्लोरेशनको शुभारम्भ मादी गाउँपालिका प्रमुख वेदबहादुर गुरुङ (श्याम) तमुले गरेका थिए । टोली पहिलो रात ताङतिङ, दोस्रो रात करापु डाँडा र तेस्रो रात याङ्जाकोट बस्यो । 
ताङतिङबाट ६ घन्टा उकालो चढे करापु डाँडा (२,०७७ मिटर) पुगिन्छ । करापुबाट अन्नपूर्ण, लमजुङ, माछापुच्छ्रे  र मनास्लु हिम सृङखला देखिन्छ । तर, त्यहाँ बस्ती छैन । त्यसैले होटल तथा रेष्टुँरा पनि छैनन् । त्यहाँ रात विताउन क्याम्पिङ गर्नु पर्छ। 

करापुबाट याङ्जाकोट ओर्लन ५ घन्टा लाग्छ । याङ्जाकोट ओर्लने भिरको बाटो सुधार गरिहाल्नु पर्ने टोलीको निष्कर्ष छ।  

भिटोफले पर्यटन बोर्ड र स्थानीय होमस्टे व्यवस्थापन समितिसँगको सहकार्यमा होमस्टे टे«ल अबधारणा अघि बढाएको हो । अहिले तीन राते होमस्टे टे«ल बन्यो । यसलाई लम्ब्याउन सकिन्छ । लमजुङको घलेगाउँ, भुजुङसँग जोडेर चुरों लेक (३,२००मिटर)बाट ताङतिङ झारेर याङ्जाकोट हुँदै बेगनासतालसम्म पदयात्री हिँडाउने ‘गुरुङ कल्चरल टे«ल’ बनाउने कि! 

‘गुरुङ कल्चरल ट्रेल’ बनाउने विषयमा तीन वर्ष अघिदेखि हिमालयन मिलन मावि ताङतिङका प्रधानाध्यापक प्रकाश गुरुङ र भुजुङका पर्यटनकर्मी तुलबहादुर गुरुङसँग पटक पटक हाम्रो कुराकानी भैसकेको छ । ०७५ को जेठभित्र त्यसको एक्सप्लोरेशन गर्ने योजना छ। 

भुजुङबाट ओरालो झरेर उकालो चढेपछि बास बस्न जंगलमा र ताङतिङ माथि चुरों लेकमा बास बस्ने क्याम्प बनाउनु पर्नेछ । यतापट्टि मादी गाउँपालिका र उता क्होंलासोथर गाउँपालिकाले सामुदायिक लज खोल्न सके राम्रै हुन्छ।  
अन्नपूर्ण क्षेत्रका धेरै पदमार्ग मोटर बाटोले छोट्टिंदै गएका बेला ‘गुरुङ कल्चर ट्रेल’लाई चाहिँ कम्तिमा चार दिन मोटर बाटोले समस्या पार्ने छैन । किनकि बस्ती नभएको ठाउँमा भोली पनि मोटर बाटो खुल्ने संभावना हुँदैन। 
यति काम गर्न सके ताङतिङ र याङजाकोट जस्ता अरु गाउँ पनि पर्यटनको उज्यालोमा चम्कनेछन्। 

कसरी पुग्ने : काठमाडौं–पोखरा २१० किमि, बसमा ६ घन्टा । पोखराको अमरसिंहचोकबाट काहुँखोलासम्म ट्याक्सीमा ७ मिनेट । काहुँखोला–ताङतिङ २७ किमि बसमा । काहुँखोलाबाट बिहान ८ र दिउसो ४ बजे छुट्ने बसमा दुई घन्टामा ताङतिङ ।  काहुँखोलाबाट बिहान ८ः३० र दिउसो २ बजे छुट्ने बसमा अढाई घन्टामा याङ्जाकोट। 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App