coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

हल्लैहल्लामा 'आकाश–पाताल'

काठमाडौं- नेपाली सेयरबजारका लगानीकर्ता कति बेला खुसीले उफ्रन्छन्, कतिबेला तनाबले थचारिन्छन्, पत्तै हुँदैन।

कारण हो– सेयरबजारको प्रवृत्ति।

सेयर विश्लेषक भन्छन्– यहाँको सेयरबजार प्रवृत्ति अन्य मुलुकको भन्दा ठिक उल्टो छ, कतिखेर घट्छ, कतिखेर बढ्छ आँकलनै गर्न सकिन्न।

सबैभन्दा खतरनाक त हल्लैहल्लामा आकाशबाट पाताल झर्छ, पातालबाट आकाश उक्लन्छ, नेपाली सेयरबजारमूल्य।

निश्चित आधार र विश्लेषणका भरमा आफ्नो लगानीबारे निश्चिन्त रहनुपर्ने र समयमा सही निर्णय लिनुपर्ने लगानीकर्ता हुन्डरीजस्तो प्रवृत्तिले हैरान छन्।

केही दिनयताको बजार स्थिति पनि ठिक यही नियतिले गाँजिएको छ।

... ... ...

२०६५ भदौमा सेयरबजार अचानक ओरालो झर्न थाल्यो।

त्यसको कारक थिए– तत्कालीन अर्थमन्त्री बाबुराम भट्टराई।

पुष्पकमल दाहाल नेतृत्वको उक्त सरकारका अर्थमन्त्री भट्टराईले २०६५ भदौ २ गते सेयरबजारलाई 'जुवाघर' को संज्ञा दिएपछि त्यसको प्रतिक्रियास्वरुप ११७५ अंकमा रहेको नेप्से परिसूचक बिस्तारै ओरालियो।

सरकारको जिम्मेवार तहमा रहेका भट्टराईको अभिव्यक्तिलाई लगानीकर्ताले बुझे– अब यो (माओवादी सरकार) ले सेयरबजारमैत्री नीति ल्याउँदैन।

दाहाल दोस्रोपटक साउन १९ गते प्रधानमन्त्री नियुक्त भएका छन्।

माओवादी नेतृत्व सरकार बन्नासाथ फेरि सेयरबजारमा हलचल मच्चिएको छ।

नेकपा माओवादी केन्द्रका नेता तथा अर्थमन्त्री कृष्णबहादुर महराले सेयरबजारबारे नकारात्मक अभिव्यक्ति नदिए पनि नियामक निकाय नेपाल धितोपत्र बोर्डले सेयरमा स्रोत नखुलेको सम्पत्ति लगानी भएको भन्दै सम्पत्ति शुद्धीकरण समिति बनाएर छानबिन तयारी थालेपछि एकाएक लगानीकर्ता पछि हट्न थाले। अहिले सेयरबजार घट्नुको मूल कारण यही हो। बोर्डले बाध्य भएर समिति खारेज गरेको सूचना जारी गरेपछि भने बजार एकाएक उच्चअंकले बढेको थियो।

भट्टराईले आठ वर्षअघि सेयरबजारलाई जुवाघरको संज्ञा दिएका थिए। उनी मात्र होइन, त्यतिबेलासम्म सेयरबजारलाई वास्तवमै जुवाघर मानिन्थ्यो। तर, अहिले सेयरबजारलाई जुवासँग दाँज्न नहुने तर्क बलियो बन्दै गएको छ।

जुवामा हारियो भने खेल्ने मान्छेसँग केही बाँकी रहँदैन। उसले सबै सम्पत्ति गुुमाइसकेको हुन्छ र त्यो फर्कने सम्भावना पनि रहँदैन। सेयरबजार घट्दा जुवामा जस्तो टाटपल्टने अवस्था आउँदैन। सेयरबजार मापक नेप्से न्यूनतम बिन्दुमा झर्दा पनि लगानीकर्ताले जुवामा जस्तो सबै गुमाउनुपर्दैन। किनकि, सेयरधनीले आफूसँग भएको सेयर बिक्री नगरेसम्म पुनः सेयरको मूल्य बढ्ने सम्भावना कायमै रहन्छ। त्यसैले पनि सेयरबजारलाई जुवासँग तुलना गर्न नहुने तर्क बलियो बन्दै छ।

२०६८ असार १ गते सेयरबजार सबैभन्दा तल २९२ बिन्दुमा झरेको थियो। त्यतिबेला सेयरमा लगानी गर्ने सबैले आफू अब पूरै डुबेको महसुस गरेका थिए। उनीहरुले सेयरबजार पुनः उचाइमा पुग्ने कल्पना गरेका थिएनन् तर पाँच वर्षपछि सेयरबजार नयाँ उचाइ बनाउँदै १८८१ बिन्दुमा पुग्यो।

त्यतिबेला आत्तिएर सेयर बिक्री नगरी (होल्ड गरेर) बस्नेले अहिले निकै राम्रो कमाए तर घटेकै बेला बिक्री गर्नेले भने गुमाए मात्र। यही घटनाले पनि सेयरबजारलाई जुवाघर नै भन्न नसकिने भनाइलाई बल दियो।

बूढापाका भन्छन्– खोलो १२ वर्षपछि पुरानै धारमा फर्कन्छ। सेयरबजारले पनि खोलाले जस्तै हरेक पाँच वर्षमा आफ्नो रुप परिवर्तन (उतारचढाव) गर्ने विश्लेषक तर्क गर्छन्। घटनाक्रमले पनि त्यही पुष्टि गरिरहेको छ। तर यसको प्रवृत्ति भरपर्दाे भने देखिँदैन।

सरकारको नीतिले सेयरबजारलाई प्रत्यक्ष प्रभाव पार्ने गर्छ। नियमनकारी निकाय धितोपत्र बोर्डले अनावश्यक हल्ला फैलाएका कारण पनि सेयरबजारमा उच्च उतारचढाव आएको सेयर विश्लेषक रविन्द्र भट्टराईको आरोप छ। 'अनुगमन गर्ने निकायले सम्पत्ति शुद्धीकरण गर्न समिति गठन गरेको भन्ने खालका प्रचार गर्नु जरुरी थिएन,' उनले बिहीबार नागरिकसँग भने, 'नियामक निकायको कामै अध्ययन, अनुसन्धान र सेयरबजारमा कालो धन प्रवेश भएको भए त्यसलाई नियन्त्रण गर्नु हो।'

धितोपत्र बोर्डले संसारमा नभएको हौवा फैलाएर सेयरबजारमा अस्थिरता ल्याउने काम गरेको आरोप पनि उनले लगाए।

धितोपत्र बोर्डको अभिव्यक्तिले सोमबार अढाई घन्टामा ८९ बिन्दुले सेयरबजार घट्न पुग्यो। उक्त दिन धितोपत्र बोर्डका दुई विज्ञप्ति आए– सम्पत्ति शुद्धीकरण छानबिन समिति गठन गर्दा नकारात्मक प्रभाव परेको भन्दै समिति विघटन गरिएको एउटा विज्ञप्ति आयो भने अर्कोमा लगानीकर्ता हतोत्साही हुने अवस्था नरहेको स्पष्टोक्ति।

समिति विघटन गरिएको र हल्लाको पछि नलागी सुझबुझसाथ लगानीसम्बन्धी निर्णय लिन अनुरोध गरिएको अभिव्यक्ति आएको अर्को दिन अर्र्थात् गत मंगलबार सेयरबजार ८४.५१ ले बढ्न पुग्यो।

अघिल्लो दिन ८९ बिन्दुले झरेको सेयरबजार भोलिपल्ट पुनः ८४.५१ ले बढ्न पुग्यो। दुई दिनमै आएको यस्तो उतारचढावमा केही ठूला लगानीकर्ताले राम्रो कमाए पनि धेरै नयाँ लगानीकर्ताले भने गुमाउन पुगे।

'नयाँ लगानीकर्तालाई तातो आलु हातमा राखिदिएजस्तो भयो,' सेयर विश्लेषक भट्टराईले भने, 'धितोपत्र बोर्डले सीमा नाघेर अभिव्यक्ति दिएका कारण यस्तो परिस्थिति सिर्जना भएको हो।'

बोर्डबाट अनावश्यक हौवा फैलाउने निर्देशन आउँदा बजार अस्थिर हुन पुगेको 'ब्रोकर' बताउँछन्। बोर्डले जारी गर्ने केटौले निर्देशनले पनि बजार घटाउने काम गरेको 'ब्रोकर' एसोसिएसनका पूर्वअध्यक्ष नरेन्द्रराज सिजापतिले बताए।

'बोर्डको अस्वाभाविक अभिव्यक्ति (निर्देशन) ले बजार अस्थिर बन्न पुगेको हो,' उनले भने, 'यसले लगानीकर्तामा मनोवैज्ञानिक असर परेको छ।'

धितोपत्र बोर्डले बजारमा कालो धनको प्रवेश छ/छैन भनेर छानबिन गर्न समिति नै बनायो। यस्तो हल्लालेे ठूला लगानीकर्ताको समेत मनोविज्ञान हल्लाइदिएको 'ब्रोकर' बताउँछन्। 'कालो धनको जाचबुँझ गर्न समिति नै बनाएको धितोपत्र बोर्डले सार्वजनिक गरेपछि सेयर लगानीकर्ता हतोत्साही भए,' सिजापतिले भने, 'त्यसको असर सेयरबजारमा पर्‍यो।'

धितोपत्र बोर्डले भने बजारलाई आतंकित गर्ने खालको काम नगरेको प्रस्ट पारेको छ। छानबिन समिति गठन गरेर सेयरबजार सिध्याउन लागेको हौवा फैलाउने काम भएको बोर्डका कार्यकारी निर्देशक निरज गिरीले बताए।

'बोर्डको नियमकानुन अनुसार नै समिति गठन गरिएको हो,' उनले भने, 'अनावश्यक टीकाटिप्पणी आएपछि समिति खारेज गरिएको हो।' समिति बनेको खबर आउँदा घट्ने र समिति खारेज हुँदा उच्च अंकले बढ्नुपर्ने कारण नभएको पनि उनले प्रस्ट पारे।

विदेशमा संस्थागत लगानीकर्ता धेरै हुने र व्यक्तिगत लगानीकर्ता कम हुने गर्छन् तर नेपालमा भने त्यसका विपरीत व्यक्तिगत लगानीकर्ता धेरै र संस्थागत लगानीकर्ता कम  रहेकाले बढी होहल्ला हुँदै आएको जानकारी पनि उनले दिए।

'नागरिक लगानीकोष, सञ्चयकोषलगायत संस्थागत लगानीकर्ता भित्र्याउन सके बजार बढी दिगो हुने थियो,' उनले भने, 'यसका लागि बोर्डले प्रक्रिया अगाडि बढाएको छ।'

माओवादी नेतृत्वमा सरकार बनेपछि लगानीकर्ता निराश भएको केही विज्ञको दाबी छ।  विगतमा पनि पुष्पकमल दाहाल नेतृत्वमा सरकार बन्दा बजार ओरालो लाग्न सुरु गरेको र यसपालि पनि त्यही प्रभाव परेको अनुमान केही लगानीकर्ता गर्छन्।

सेयरबजारमा अनावश्यक हल्ला फिँजाइएकाले 'अस्वाभाविक' गिरावट आएको विज्ञले बताएका छन्। सेयरबजार अहिले वास्तविकतामा भन्दा ज्यादा हल्लाको भरमा चलिरहेको पनि उनीहरुको भनाइ छ। हल्लाका भरमा लगानी गर्ने र निकाल्ने प्रवृत्ति छ। हल्लासँगै बजार नियमन गर्ने नेपाल धितोपत्र बोर्डको कमजोरीका कारण बजारमा उच्च उतारचढाव आएको उनीहरुको भनाइ छ।

नेपाली सेयरबजारको चरित्रै फरक

विदेशी मुलुकमा भन्दा विपरीत ढंगले नेपालको सेयरबजार चल्ने सेयर विश्लेषक भट्टराई बताउँछन्। 'संसारले नपत्याउने किसिमले सेयरबजार चल्छ,' उनले भने, 'विदेशमा त्यो देशको अर्थतन्त्रको सूचकअनुसार बढ्ने र घट्ने गर्छ तर नेपालमा अर्थतन्त्रसँग सम्बन्ध नै हुँदैन।'

सरकारले गत आर्थिक वर्षको आर्थिक वृद्धिदर ०.७७ प्रतिशत र चालु आवको ६.५ प्रतिशत हुने प्रक्षेपण गरेको छ। मुलुकको आर्थिक अवस्था खस्कँदै गए पनि सेयरबजार लगातार उकालो लागिरहेको छ। अर्थतन्त्र तथा सेयरबजारको सम्बन्ध नङ र मासुको जस्तो भए पनि अर्थतन्त्र ओरालो लागिरहँदा सेयरबजार उकालो लागिरहेको छ।

'ब्रोकर' कमिसन घटेपछि कारोबार रकम वृद्धि

'ब्रोकर' कमिसन घटेपछि सेयर कारोबार रकम बढेको छ। कमिसन घट्नुभन्दा अघि एक अर्ब हाराहारी हुने कारोबार कमिसन घटेसँगै बढेर २ अर्बभन्दा बढी हुन पुगेको छ।

धितोपत्र बोर्डले साउन २ देखि 'ब्रोकर' कमिसन ४० प्रतिशतले घटाएको थियो।

कमिसन घटेको भोलिपल्ट अर्थात् साउन ३ गते बजारमा २ अर्ब २४ करोड बढीको सेयर किनबेच भएको थियो।

सेयर कर्जामा कडाइ

नेपाल राष्ट्र बैंकले सेयर कर्जामा कडाइ गरेको छ। सेयर कर्जामा लगानी गर्दा बढी जोखिम हुने भन्दै राष्ट्र बैंकले आर्थिक वर्ष ०७३/७४ को मौद्रिक नीतिमा सेयर धितोमा कर्जा प्रवाह गर्न केही कडाइ गरेको थियो।

'मार्जिन लोन' दिँदा १ सय ८० दिनको अन्तिम मूल्यको औसत वा सेयरको प्रचलित बजार मूल्यमध्ये जुन कम हुन्छ, त्यसको ५० प्रतिशत कायम रकम मात्र कर्जा प्रवाह गर्न पाइने व्यवस्था मौद्रिक नीतिमा छ। यसअघि बैंक तथा वित्तीय संस्थाले त्यस्तो सेयर कर्जा ६० प्रतिशतसम्म दिँदै आएका थिए।

अत्यधिक जोखिम हुने भएकाले रियलस्टेट र सेयरबजारमा जाने कर्जामा अंकुश लगाउनु मौद्रिक नीतिको सकारात्मक पक्ष भएको बैंकरको भनाइ छ।

 

प्रकाशित: २९ श्रावण २०७३ ०२:०४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App