८ वैशाख २०८१ शनिबार
अर्थ

विद्युत् महसुल उठाउन र चुहावट नियन्त्रणमा सहयोग गर्न आग्रह

विद्युत् चुहावट नियन्त्रण र महसुल बक्यौता उठाउनका लागि शुक्रबार प्राधिकरणद्वारा आयोजित कार्यक्रममा सहभागी । तस्बिर : नागरिक



बारा – नेपाल विद्युत् प्राधिकरण कलैया वितरण केन्द्रका अधिकारीले विद्युत् महसुल बक्यौता उठाउन र चुहावट नियन्त्रण गर्ने कार्यमा सहयोग गर्न स्थानीय जनप्रतिनिधिसँग आग्रह गरेका छन्।

कलैया वितरण केन्द्रको विद्युत् बक्यौता ४२ करोड र चुहावट ५४ प्रतिशत पुगेकाले जनप्रतिनिधिको सहयोग बिना बक्यौता उठाउन र चुहावट नियन्त्रण गर्न नसकिने भएपछि प्राधिकरणका अधिकारीले उक्त आग्रह गरेका हुन्।

शुक्रबार जिल्ला प्रशासन कार्यालयमा आयोजित विद्युत् चुहावट नियन्त्रण सम्बन्धि कार्यक्रममा सहभागी स्थानीय तहका प्रमुख, प्रदेश तथा प्रतिनिधि सभा सदस्यसँग उक्त कार्यमा सहयोग गर्न कलैया वितरण केन्द्रका प्रमुख धुपेन्द्रकुमार झा, नेपाल विद्युत् प्राधिकरण वितरण तथा सेवा निर्देशनालय हेटौंडा क्षेत्रीय प्रमुख अनिरुद यादव लगायतले आग्रह गरेका हुन्।

‘चालु आर्थिक वर्षको पाँच महिनामा कलैया वितरण केन्द्रले तीन करोड ५२ लाख ७१ हजार युनिट विद्युत् प्राप्त गरे पनि सोबाट एक करोड ६६ लाख १४ हजार युनिटमात्रै ग्राहकलाई बिक्री गर्न सकेको छ,’ प्रमुख झाले भने, ‘बाँकी एक करोड ९३ लाख ५६ हजार युनिट विद्युत् चुहावट भएको छ।’

साउनदेखि मंसिरसम्मका पाँच महिनामा मात्रै कलैया वितरण केन्द्रलाई १९ करोड रुपैयाँको विद्युत् चुहावट भएको र चुहावट कम गर्न नसके प्राधिकरणले बाध्य भएर यस क्षेत्रमा बढी लोडसेडिङ गर्न सक्ने झाले बताए । विद्युत् महसुल बक्यौतासमेत कलैया वितरण केन्द्र मातहतमा रहेका ग्राहकसँग ४२ करोडभन्दा बढी रहेकाले त्यो रकम उठाउने कार्यमा जनप्रतिनिधिसँग पनि सहयोगको अपेक्षा गरिएको झाले बताए।

प्रतिनिधि सभा सदस्य रामबाबु यादवले विद्युत् प्राधिकरणले व्यापार र सेवा दुवै कार्यलाई एकसाथ अगाडि नबढाएर व्यापारमात्रै गरेकाले बक्यौता र चुहावट बढेको आरोप लगाए । प्राधिकरणले मिटर दिन ढिलाइ गर्ने गरेकाले चुहावट बढेको उनको भनाइ छ । अर्का सदस्य रामएकबाल मियाँले कलैया वितरण केन्द्रले जनतालाई दिने सेवा सुविधामा छिटोछरितो सेवा दिन सके विद्युत् चुहावट कम हुने धारणा राखे।

कार्यक्रममा कोहल्वी नगरपालिकाका प्रमुख भरत भण्डारीले गाउँघरमा ऐलानी जग्गामा घर बनाएका स्थानीयका लागि पनि मिटर जडान गर्न प्राधिकरणले सहज वातावण बनाउनुपर्नेमा जोड दिए । ऐलानी जग्गामा घर बनाएका स्थानीयसँग मिटर जडान गर्नका लागि जग्गाधनी पुर्जा नहुने भएकाले पनि यस्तो अवस्था सिर्जना भएको प्रमुख भण्डारीको भनाइ छ।

बारा उद्योग वाणिज्य संघका अध्यक्ष विनोद साहले प्राधिकरणकै कर्मचारीका कारण विद्युत् महसुल बक्यौता बढेको आरोप लगाए । साहले एक–दुई महिनाको विद्युत् महसुल नबुझाउने ग्राहकलाई २५ प्रतिशत बढी असुल्नकै लागि कर्मचारीले छाड्ने गरेको साहले बताए।

बाराका प्रमुख जिल्ला अधिकारी विजयनारायण मानन्धर र प्रहरी नायव उपरीक्षक भुनेश्वर साहले प्राधिकरणले विद्युत् बक्यौता उठाउन र चुहावट नियन्त्रण गर्न बल प्रयोगभन्दा पनि स्थानीय तहका जनप्रतिनिधिको सहयोग लिए समस्या समाधानमा सहयोग पुग्ने धारणा राखे।

 


 

प्रकाशित: १४ माघ २०७४ ०४:२१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App